समाज


गठामङ्गल पर्व: राक्षसको प्रतीक घण्टाकर्ण भक्तपुरका टोलटोलमा घुमाइयो

गठामङ्गल पर्व: राक्षसको प्रतीक घण्टाकर्ण भक्तपुरका टोलटोलमा घुमाइयो

नेपालखबर
साउन ८, २०८२ बिहिबार ७:२०, भक्तपुर

प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टा कर्ण अर्थात् गठामङ्गल पर्व बुधबार साँझ भक्तपुरका नेवार समुदायले भव्य रूप र शैलीमा मनाएका छन्।

नेवार समुदायले परापूर्वकालदेखि मनाउँदै आएको यसपर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बुधबार साँझ भक्तपुरको टोलटोलबाट हरियो नर्कट, निगालो र गहुँको छ्वालीबाट तीनखुट्टे राक्षसको रूप बनाएर टोलटोल घुमाउँदै दोबाटो र चौबाटोमा पुर्‍याइ जलाएर पर्व मनाएको हो।

भक्तपुरको भेलुखेल र दत्तात्रयमा भने पृथक शैलीमा यो पर्व मनाउने परम्परा रहेको छ । निगालोको चोयाबाट पूर्ण राक्षसरूपी गठामङ्गल बनाई बाहिर कपडाले मोडेर विभिन्न रङ लगाई राक्षसको स्वरूप बनाएर टोलटोलमा घुमाएर परम्पराअनुसार जगाति लगेर विसर्जन गरिएको छ । यसप्रकारको राक्षसरूपी अन्य कतै पनि नभएको र यहाँ पृथक शैली रहेको स्थानीय भेलुखेलका बाबुरत्न द्यौलाले बताए।

भक्तपुरका इतिहासविद् एवं संस्कृतविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ सातौँ शताब्दीदेखि चल्दै आएको यो परम्परा महादेवसँग जोडिएको बताउँछन् । उनले महादेवलाई मनपराउने राक्षसका रूपमा गठामङ्गल वीर शैव सम्प्रदायअन्तर्गत रहेको बताए।

उनका अनुसार आजको दिनलाई महादेव उत्पत्तिको दिनसमेत मानिने गरिन्छ। आजदेखि रोपाइँ सकेर रमाइलो गर्ने, चाडबाडको परम्परा सुरू हुने दिनका रूपमा पनि मानिने डा श्रेष्ठले बताउँछन्। आज केटाकेटीले बाटोमा डोरी टाँगेर पैसा (जगात्) माग्ने र साँझ राँको बाली उक्त राक्षसको प्रतीकलाई घिसार्दै जलाउने प्रचलन छ।

गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ भने टोलटोमा राँको बालेको छ्वालीको आगोमा बालबालिकालाई सेकाएर रोगव्याधी नाश हुने र भूतप्रेतले नछुने जनविश्वास रहेको संस्कृतकर्मी रामेश्वर वैद्य बताउँछन्।

यौनसँग सम्बन्धित पर्व

भक्तपुरमा यौनसँग पनि यसलाई दाज्ने गरिन्छ । राक्षसरूपी गठामङ्गललाई शरीरको रूप दिएर परालको लिङ्ग बनाई दुई वटा भोगटेको अण्डकोष बनाएर अश्लील गीतहरू गाउँदै चोकचोकबाट निकालेर दोबाटो चौबाटोमा लगेर जलाएर भष्म गर्ने परम्परा वर्षौँदेखि चल्दै आएको उनले बताउँछन्।

यहाँका बासिन्दाले राँको बालेर भूत भगाउने भन्दै पुत्लाका रूपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पुर्‍याइन्छ। अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ । परम्परादेखि नै यो पर्व मनाउँदा अश्लील शब्दहरूको प्रयोग गर्ने छुट रहेको उनी बताउँछन्।

घण्टाकर्णको दाहसंस्कार गरी फर्किंदा बाटोमा पर्ने धारा, ढुङ्गेधारा, कुँवा, पोखरी, इनार आदिमा पुगेर चोखिने प्रचलन रहेको छ । फर्केर घर पुगेपछि छ्वाली बालेर धुवाँले घर सेक्ने प्रचलन पनि छ भने घरको ढोकामा किला ठोकेर सम्हेबजी खाने प्रचलन छ।

आजकै दिनदेखि नेवारी समुदायमा परम्परागत नाच तथा बाजागाजा सिकाउन सुरू गरिन्छ । गाईजात्राका बेला प्रदर्शन गरिने भैरवलगायत विभिन्न नाच, व्यङ्ग्यात्मक नाटकको प्रशिक्षण पनि आजैदेखि गरिन्छ । यहाँको नवदुर्गा नाचका लागि आजकै दिनदेखि मुखुण्डो बनाउने कार्य सुरू गरिन्छ।

शक्तिपीठमा घुइँचो

त्यसैगरी, भक्तपुरका विभिन्न शक्ति पीठमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन शुक्ल चतुर्दशी दिन मनाइने घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको थियो।

नेवार समुदायले आज बिहानै स्नानगरी शुद्ध भएर घरघरमा लिपपोत गरी विभिन्न शक्तिपीठको दर्शन गरी त्यहाँबाट ल्याएको जल घरघरमा छर्कने प्रचलन रहँदै आएको छ। नेवार समुदायले रोपाइँ सकिएको पर्वका रूपमा पनि गठेमङ्गललाई ‘सिनाज्या ब्यङ्केगु’ अर्थात् रोपाइँ सकिएको पर्वका रूपमा पनि यो पर्व मनाउने प्रचलन रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad