समाज


इन्जिनियरिङ अध्ययन संस्थान असार २५ देखि ठप्प

इन्जिनियरिङ अध्ययन संस्थान असार २५ देखि ठप्प

नेपालखबर
साउन ५, २०८२ सोमबार १६:४३, काठमाडौँ

इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत सबै आङ्गिक क्याम्पसका कक्षा, प्रयोगशाला तथा शैक्षिक गतिविधिहरू ठप्प भएको १३ दिन बितिसकेको छ। विसं २०८० साउन १ गते स्थगित गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता पुनःलागू गर्नुपर्ने माग राख्दै विद्यार्थी र शिक्षक एकैसाथ आन्दोलनमा उत्रिएका छन्।

त्रिभुवन विश्वविद्यालयमार्फत विसं २०५५ मा इन्जिनियरिङ अध्ययन संस्थानलाई प्रदान गरिएको विकेन्द्रीकरण तथा स्वायत्तता साउन १ गतेको सिनेट बैठकबाट स्थगन गरिएको थियो। सो निर्णयको विरोधमा शिक्षाको गुणस्तर र संस्थाको गरिमा जोगाउने उद्देश्यका साथ शिक्षक तथा विद्यार्थीहरू आन्दोलनरत रहेको आन्दोलनरत पक्षले बताएका छन्। 

इन्जिनियरिङ अध्ययन संस्थानमा लागू भएको विकेन्द्रीकरण पुनः लागू गरिनुपर्ने माग गर्दै प्राध्यापक सङ्घ पुलचोक क्याम्पसका कोषाध्यक्ष वीरेन्द्रकुमार श्रेष्ठ भन्छन्, ‘हाम्रो धेरै ठूलो माग छैन। विसं २०५५ देखि लागू भएको विकेन्द्रीकरण पुनः लागू भए पठनपाठन तुरुन्त सुरू गर्छौँ। स्वायत्तता नभए इन्जिनियरिङ क्याम्पसमा शिक्षाको गुणस्तर र गरिमा जोगाउन सकिँदैन। त्यसैले क्याम्पसको गरिमा र विद्यार्थीको भविष्यको ख्याल गर्दै हामी आन्दोलनमा छौँ।’

विकेन्द्रीकरण स्थगनसँगै इन्जिनियरिङ अध्ययन संस्थानको गरिमा घट्ने खतरा रहेको र अन्य आङ्सिक क्याम्पस जस्तै स्थितिमा पुग्ने सम्भावना रहेको पुलचोक क्याम्पसका स्ववियु कोषाध्यक्ष अल्वर्ट ढकाल बताउनुहुन्छ। उनले भने, ‘इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता त्रिभुवन विश्वविद्यालयले खोसेपछि परीक्षा ढिलो हुन्छ, नतिजा ढिलो प्रकाशित हुन्छ। हामी इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूको भविष्यमा खेलवाड हुने सम्भावना बढेकाले स्वायत्तता पूर्णरूपमा लागू गरिनुपर्छ भन्ने मागसहित आन्दोलनमा छौँ।’

विसं २०८० साउन १ गतेको सिनेट बैठकले विकेन्द्रीकरण स्थगन गर्दै एउटा बुँदामा समिति गठन गरी पुनःस्वायत्तता लागू गर्न सकिने उल्लेख गरेको दुई वर्ष बित्दासमेत कुनै समिति गठन नभएको पुलचोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक अजयकुमार झाको भनाइ छ।

उनले भने, ‘स्वायत्तता स्थगन गरेर क्याम्पसको सम्पूर्ण प्रशासनिक कार्यहरू अव्यवस्थित बनाइएको छ। सिनेटको बैठकले विकेन्द्रीकरण पारित गर्ने बेलामा आयोग बनाएर पुनःस्थापना गर्न सकिने उल्लेख गरेको थियो। सोहीअनुसार आयोग गठन होस् र हाम्रो समस्याको समाधान त्यही आयोगले गरोस् भन्ने हाम्रो माग हो।’

विकेन्द्रीकरण तथा स्वायत्तता पुनःलागू गर्नुपर्ने माग राख्दै त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानका पुलचोक इन्जिनियरिङ क्याम्पस (ललितपुर), थापाथली इन्जिनियरिङ क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस र चितवन इन्जिनियरिङ क्याम्पसका विद्यार्थी र शिक्षकहरू आन्दोलनमा छन्।

असार १९ गतेदेखि ध्यानाकर्षण पत्र बुझाउने तथा साङ्केतिक आन्दोलन गर्दै आएका शिक्षक–विद्यार्थीहरूले माग पूरा नभएपछि असार २५ गतेदेखि पूर्णरूपमा पठनपाठन बन्द गरेका हुन्। पुलचोक क्याम्पसका सहप्राध्यापक अजयकुमार झाले भने, ‘हाम्रो माग धेरै ठूलो छैन, विसं २०५५ मा लागू भएको स्वायत्तता पुनः लागू गरिदिए पठनपाठन तुरुन्त सुरू हुन्छ।’ रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad