समाज


जनकपुर बमकाण्डदेखि रानीबारी हत्यासम्म : १५ वर्षमा सीआईबीका चर्चित १० अप्रेसन

जनकपुर बमकाण्डदेखि रानीबारी हत्यासम्म : १५ वर्षमा सीआईबीका चर्चित १० अप्रेसन

उजिर कार्की
साउन १, २०८२ बिहिबार २२:२६, काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार १५ औँ स्थापना दिवस मनायो। २०६७ साउन १ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजेन्द्रसिंह भण्डारीको कमान्डमा सुरु भएको सीआईबीको नेतृत्व यी १५ वर्षमा १७ जनाले सम्हालिसकेका छन्। कतै ठूला अपराध भएमा अनुसन्धानका लागि सीआईबीकै टोली खटाउनु पर्ने माग अचेल नागरिकले नै गर्न थालेका छन्। 

सीआईबीको क्षमतामाथि नागरिकलाई शंका छैन। बरु बेलाबेला राज्य शक्तिबाट दुरूपयोग भएको र कर्तव्यबाट विमुख हुने गरेको आरोप भने सीआईबीमाथि पनि लाग्ने गरेको छ। २०६८ भदौबाट १४ महिना सीआईबीको नेतृत्व गरेको पूर्व प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पनि बिहीबार सीआईबीलाई खासखास अनुसन्धानमा मात्रै खटाउनु पर्ने र अन्य युनिटले गर्न सक्ने काममा नलगाउन सुझाव दिए।  

सीआईबीलाई अझै दक्ष जनशक्ति र प्रविधियुक्त बनाउँदै लैजाने हालका सीआईबी प्रमुख एआईजी चन्द्रकुबेर खापुङको प्रतिबद्धता छ। डेढ दशकमा सीआईबीले गरेका प्रमुख अप्रेसनको फेहरिस्त समेटिएको म्यागेजिन सीआईबीले आफ्नो स्थापना दिवसकै अवसरमा सार्वजनिक गरेको छ। जसमध्ये प्रमुख १० अप्रेसन यसप्रकार छन् :

जनकपुर बमकाण्ड 
२०६९ सालको वैशाख १८ गते। जनकपुरमा सयौँ प्रदर्शनकारी मिथिला राज्यको माग गर्दै प्रदर्शन गरिरहेका थिए। बिहान १० बजे विस्फोटको भयानक आवाज आयो। ५ नागरिक मारिए, ३२ जना घाइते भए। घटनाको अनुसन्धान गर्ने जिम्मेवारी सीआईबीले पायो। 

झण्डै दुई वर्ष लगाएर सीआईबी यो घटना तत्कालीन सांसद एवम् सद्भावना पार्टीका वरिष्ठ नेता सञ्जय साहले घटाएको निष्कर्षमा पुग्यो। २०७१ सालमा साहलाई वीरगञ्जबाट प्रहरीले पक्राउ गर्न सफल भयो। घटनामा सहायक भूमिका निर्वाह गरेको आरोपित मुकेश चौधरी २०७० सालमै पक्राउ परेका थिए। 

मुद्दा अदालत पुग्यो र ६ वर्षपछि २०७५ चैत १४ गते जिल्ला अदालत धनुषाले ७ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनायो। सम्पत्ति शुद्धीकरणमा पनि साहलाई दोषी ठहर गर्दै २८ करोड ५० लाखभन्दा बढी जरिवाना तोक्यो।

देशको राजनीतिक धरातल नै हल्लाएको जनकपुर बमकाण्डको अनुसन्धान कमान्डर थिए सीआईबीका तत्कालीन डीएसपी भूपेन्द्र खत्री।

रानीबारी हत्याकाण्ड 
सीआईबीको स्थापना हुनुभन्दा पहिल्यै राजधानीमा एक दम्पतीको हत्या भएको थियो। २०५९ असार ३१ गते काठमाडौँको रानीबारीमा डेरा बस्ने इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जली श्रेष्ठ मारिए। श्रेष्ठ दम्पतीलाई खुकुरी प्रहार गरेर हत्या गरिए पनि उनीहरूकी ७ वर्षकी छोरी घाइते अवस्थामा थिइन्। 

यो हत्याको अनुसन्धान १२ वर्षसम्म रहस्यमय रह्यो। अनुसन्धानका लागि १२ वर्षमा १८ वटा समिति बने। प्रहरीले सयौँसँग बयान लियो। तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्याल र सीआईबी प्रमुख हेमन्त मल्ल ठकुरीले १२ वर्षपछि अर्को अप्रेसन सञ्चालन गरे। ‘अप्रेसन साइलेन्ट सर्च’ जसले १२ वर्षपहिलेको घटनाको पर्दाफास गर्न सफल भयो। 

दोलखाका ३४ वर्षीय मनराज गुरुङ र रामेछापका २७ वर्षीय प्रमेश चौहानलाई पक्राउ गरेसँगै उनीहरू कन्ट्र्याक्ट किलर भएको खुलासा भयो। सँगै अर्को विषयको पनि खुलासा भयो। योजनाकारले उनीहरूलाई मार्न चाहेका थिएनन्। उनीहरू बस्ने घरबेटीलाई मार्न २ लाख रूपैयाँ दिएका थिए। हत्याराहरू रेकी गर्न केही दिनपहिले कोठा भाडामा लिने बहानामा गएका थिए। 

घटना भएको बिहान अञ्जलीलाई घरबेटी बोलाइदिन भने। घरबेटीले भेट्न नचाहेको जवाफ दिइन्। त्यसपछि उनीहरूले दम्पतीको हत्या गरेका थिए। त्यसपछि उनीहरू घरबेटीलाई खोज्दै भित्र पसे। घरबेटी भने बाथरुममा लुकेर ज्यान जोगाउन सफल भइन्। 

त्यसअघि तिनै अभियुक्तले ६ लाख रूपैयाँ लिएर गोलढुंगामा लीला गिरीको हत्या गरेको पनि खुलासा भयो। २०७४ असारमा काठमाडौँ जिल्ला अदालतले दुवैजनालाई जन्म कैदको फैसला सुनायो। १२ वर्षपहिलेको यो घटना निचोडमा पुर्‍याएर सीआईबीले ढिलै भए पनि न्याय दिलाएरै छाड्छ भन्ने सन्देश दिन सफल भयो। 

ललितानिवास जग्गा प्रकरण 
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा सत्ताको संरक्षण र कर्मचारीको मिलेमतोमा व्यक्तिको भइसकेको थियो। नेपालको इतिहासमै सबैभन्दा ठूलो जग्गा घोटाला प्रकरणका रूपमा यो मुद्दा चर्चित छ। 

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित चार मन्त्री, सचिवदेखि व्यवसायी मीनबहादुर गुरुङ समेत यो मुद्दामा तानिएका छन्। १४ अर्ब ६७ करोड ७० लाख रूपैयाँ बिगो कायम गर्दैै दायर भएको मुद्दामा फैसला हुन बाँकी छ। यो मुद्दामा प्रतिवादी बनाइएका गुरुङ र गच्छदारसहितका प्रतिवादीहरू धरौटी बुझाएर रिहा भएका छन्। मुद्दाको फैसला हुन बाँकी छ। तर सीआईबीको गहिरो अनुसन्धानबाट नेता र कर्मचारी मिलेर सार्वजनिक सम्पत्ति हडप्नेहरूको पटाक्षेप गरेर राज्यलाई अर्वौँ नोक्सानी हुनबाट जोगाएको छ। 

दिनदहाडै न्यायाधीशको हत्या 
यसका अलावा २०६९ जेठ १८ गते ललितपुरको यूएनपार्क नजिकै सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या भएको थियो। अंगरक्षक साथै रहेका बेला बमलाई मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर फरार भएका थिए। न्यायाधीश बमको नर्भिक अस्पतालमा दिउँसो मृत्यु भयो। तर गोली हान्ने व्यक्ति भने फरार भए। 

सीआईबीले यो हत्याका अभियुक्तलाई ३१ महिना लगाएर पत्ता लगाएको थियो। २०७१ पुस १८ गते घटनाका मुख्य योजनाकार बाबु थापा भन्ने मेघबहादुर थापा पक्राउ परे। घटनापछि साउदी पुगेका सञ्जय स्माइली मगरलाई २०७२ सालमा पक्राउ गरेर नेपाल ल्याइयो। करण चौधरी, दीपक कर्ण, प्रेमराज खड्का र शंकर चौधरी पनि २०७१ पुस १८ गते नै पक्राउ परेका थिए। 

जिल्ला अदालत काठमाडौँले उनीहरूको सम्पत्ति समेत जफत गर्ने र आजीवन कारावासको सजाय सुनाएको छ।

६१ किलो सुन तस्करी 
अहिलेसम्मकै धेरै सुन तस्करीको अनुसन्धान सीआईबीले गरेको छ। २०८० साउन २ गते राति विमानस्थल बाहिरबाट ६१ किलो सुन राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो। यो सुन तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न देखिएपछि अनुसन्धानको जिम्मा १९ दिनपछि सीआईबीलाई दिइएको थियो।
 
सीआईबीको अनुसन्धान ६१ किलोमै सीमित रहेन। यही गिरोहले पटकपटक गरी ३६२ किलो सुन तस्करी गरेको पत्ता लगायो। यो मुद्दामा चिनियाँ, भारतीय र नेपाली अहिले पुर्पक्षका लागि थुनामा छन्। सीआईबीले दुई चरणमा गरी ३ अर्ब ५० करोड रूपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ। 

यसका धेरै प्रतिवादीहरू अहिले पनि थुनामै छन्। विमानस्थलका कर्मचारीदेखि नेपाली र चिनियाँ व्यापारीहरू यो कसुरमा संलग्न देखिएका छन्। यो प्रकरणमा ३० जना पक्राउ र फरार ५० जनालाई प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ। यसको अनुसन्धानका क्रममा सीआईबीका अनुसन्धान अधिकारीहरू हङकङ र दिल्ली समेत पुगेका थिए। यो मुद्दाको फैसला हुन बाँकी छ। 

धर्मको आवरणमा अपराध
धर्मको आवरणमा ठगी गर्ने पुरुषोत्तम काफ्ले हुन् वा यौन शोषण र हत्या गर्ने रामबहादुर बमजन। दुवै जनालाई सीआईबीले कानुनी कठघरामा उभ्याएको छ। 

आफूलाई धर्मगुरु बताउने पुरुषोत्तम काफ्ले गृहणी महिलाहरूलाई प्रलोभनमा पारेर ठगेको अभियोगमा केन्द्रीय कारागारमा छन्। उनले महिलाहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी गरेर मुनाफा लिन भन्दै प्रलोभनमा पारेर गरगहना समेत रित्याएका थिए। कतिपय महिलाले त जग्गा समेत धितोमा राखेर उनलाई रकम दिएको सीआईबीको अनुसन्धानबाट खुलेको छ। 

४ करोड ५८ लाख रूपैयाँभन्दा बढी ठगी गरेको भन्दै ४० जना महिलाको जाहेरी परेको थियो। उनलाई जिल्ला अदालत काठमाडौँले २०८० साउन ४ गते पुर्पक्षका लागि थुनामा पठाएको छ। 

अर्का धर्मगुरु हुन् रामबहादुर बमजन। प्रहरीलाई नै पटकपटक चकित पारेका बमजनलाई पनि सीआईबीले कानुनी दायरामा ल्याउन सफल भयो। उनीमाथि चारजना महिला अनुयायी बेपत्ता बनाएको, मानसिक र शारीरिक यातना दिएको र यौन शोषण गरेको आरोप छ। प्रहरीले पटकपटक उनलाई पक्राउ गर्न अप्रेसन चलाए पनि समर्थकको अवरोधका कारण असफल हुँदै आएको थियो। 

सीआईबीको विशेष टोलीले २०८० पुस २४ गते बुढानीलकण्ठस्थित निवासबाटै उनलाई पक्राउ गरेको थियो। घरको चार तलामाथिबाट भाग्दा समेत यसपटक भने उनी उम्कन सकेनन्। बाल यौन दुरूपयोगको मुद्दामा जिल्ला अदालत सर्लाहीले उनलाई १० वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो। तर उच्च अदालत जनकपुरले यो फैसला बदर गर्दै उनलाई सफाइ दिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा उनलाई सर्लाही अदालतले नै २०८२ जेठ १३ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। 

किस्ट बैंक घोटाला र सिभिल सहकारी 
सीआईबीले बैंकदेखि सहकारीसम्मको अनुसन्धान गरेको छ। किस्ट बैंकमा कर्जा प्रवाह गर्दा धितोको ख्याल नगरी बैंकमा घोटाला गरेको आरोपमा सीआईबीले कारबाहीको दायरामा ल्याएको छ। बैंकका प्रबन्ध सञ्चालक कमलप्रसाद ज्ञवालीसहित २३ जनालाई प्रतिवादी बनाइएको थियो। 

बैंकको करोडौँ घोटालाको आरोपमा उच्च अदालत पाटनले २०८१ साउन २७ गते प्रमोदकुमार देवलाई ९ करोड बढी जरिवाना र ३ वर्ष कैदको फैसला गरेको छ। अरु तीनजनालाई पनि ६ महिनादेखि डेढवर्षसम्म कैदको फैसला भएको छ। 

काठमाडौँको सोल्टीमोडस्थित सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङ पनि कारागारमै छन्। सहकारीका १ हजार ४८८ जना बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीमाथि सीआईबीले पक्राउ गरेर अनुसन्धान गरेको थियो। इच्छाराज र सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि थुनामा हुँदा सहकारीकै अन्य पदाधिकारीहरू ५० हजारदेखि ५० लाखसम्म धरौटीमा रिहा भएका छन्। 

२२ वटा गैँडा मार्ने राजकुमार मलेसियामा भेटिए
चितवनको कालीखोलाका राजकुमार प्रजामाथि २२ वटा गैँडा मारेर खाग बिक्री गरेको आरोप थियो। चितवन राष्ट्रिय निकुञ्जमा अरु ५ वटा गैँडालाई गोली हानेर घाइते बनाएको मुद्दा पनि दर्ता भइसकेको थियो। 

तर प्रहरीले राजकुमारलाई भने फेला पार्न सकेको थिएन। सीआईबीको अनुसन्धानबाट खुल्यो चितवनका राजकुमारले गोरखाबाट अर्कै नागरिकता लिइसकेका रहेछन्। २०६७ जेठ १२ गते भक्तराज गिरीको नामबाट नागरिकता लिएर सोही नाममा राहदानी विभागबाट राहदानी पनि बनाइसकेका रहेछन्। 

मलेसियामा लुकिछिपी बस्दै आएका राजकुमारले त्यहीँ रहेको दूतावासबाट हराएको भन्दै अर्को राहदानी बनाएर बसेका थिए। २०७० कात्तिक १८ गते उनलाई फर्काउन सीआईबीले इन्टरपोलबाट रेड नोटिस जारी गराएको थियो। अन्ततः २०७१ माघ १६ गते उनी मलेसियामा पक्राउ परे। माघ २५ गते उनलाई नेपाल ल्याएर चितवन राष्ट्रिय निकुञ्जमा बुझाएको थियो। 

निकुञ्जले उनलाई १५ वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको फैसला गरेको छ।

यूएनकै एड्भाइजर बाल यौनदुराचारी
एक विदेशी नागरिकले नाबालकहरूलाई प्रलोभनमा पारेर यौन दुराचार गरेको सूचना सीआईबी समक्ष आयो। त्यसपछि सीआईबीका तत्कालीन डीएसपी कवित कट्वालको कमान्डमा विशेष टोली अनुसन्धानमा खटिन्छ। लामो अनुसन्धानपछि ती विदेशी नागरिकको पहिचान हुन्छ र घर पनि पत्ता लगाउँछ। 

उनी बस्ने गरेको घरमा सीआईबीको टोलीले छापा मार्छ। शंकित व्यक्तिका २ थान राहदानी पनि फेला पार्छ। त्यसमध्ये एउटा भने यूएनले जारी गरेको थियो। 

कोठामा दुईजना बालकहरू पनि फेला परे। बालकलाई तत्काल उद्धार गरेर प्रहरीले सोधपुछ गर्दा यौन दुराचार गरेको पुष्टि हुन्छ। ती दुराचारी क्यानेडियन नागरिक थिए पिटर जोन डालग्लिस। उनी अन्तर्राष्ट्रिय श्रम संगठनको वरिष्ठ प्राविधिक सल्लाहकार रहेको खुलेको छ। यस्तै उनी यूएनको वरिष्ठ सल्लाहकार समेत रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ। 

२०७४ चैतमा पक्राउ परेका उनी अझै कारागारमै छन्। जिल्ला अदालत काभ्रेले उनलाई ९ वर्ष कैदको फैसला सुनाएको थियो। उच्च अदालत पाटनले एक वर्ष कम गरेर ८ वर्षमा झारेको थियो। सर्वोच्च अदालतले पनि उच्चकै फैसला सदर गरेपछि उनी कैद भुक्तानको अन्तिम चरणमा छन्। 

कारागारभित्रै विष खुवाएर हत्या
२०७५ साल वैशाख २२ गते बर्दियाका भक्तबहादुर सुनारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। उनी कर्तव्य ज्यान र जबरजस्ती करणीको कसुरमा सजाय भुक्तान गरिरहेका थिए। सुरुमा उनी बिरामी भएका कारण मृत्यु भएको भनिएको थियो। 

तत्कालीन डीएसपी अंगुर जिसीको कमान्डमा सीआईबीले उक्त घटनाको अनुसन्धान थाल्यो। अनुसन्धानका क्रममा उनलाई स्लो पोइजन खुवाएर हत्या गरिएको पुष्टि भयो। भक्तबहादुरको हत्या अभिषेकराज सिंहको नेतृत्वमा भएको खुल्यो। 

कारागारभित्र विष बनाउन वनस्पतिजन्य पदार्थ ध्रुवकृष्ण शर्माले पुर्‍याएको, सप्तरीका मनोज चौरासियाले विष खुवाउन सहयोग गरेको अनुसन्धानमा खुलासा भएको थियो। 

अभिषेकले मृतकलाई कारागारमा अनियमितता भएको, आफूमाथि दुर्व्यवहार भएको भन्ने पत्र लेख्न लगाएको र उनलाई अस्पताल लैजानुपहिले नै मन्त्रालयमा पठाएको खुलेको थियो। उनले दोष कारागार प्रशासनलाई थोपरेर आफू चौकीदार बन्ने उदेश्यले सो हत्या गरेको सीआईबीको निष्कर्ष छ।

सीआईबीले यी तीन जनाविरुद्ध कर्तव्य ज्यान, विष प्रयोग र आपराधिक षड्यन्त्र सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो। अदालतले २०७६ वैशाख ३१ गते अभिषेक र मनोजलाई जन्मकैदको फैसला गरेको छ। ध्रुवकृष्णले भने सफाइ पाएका छन्। अभिषेकले यसअघि पनि सुर्खेत, भक्तपुर र जनकपुरमा यस्तै विष सेवन गराएर तीनजनाको हत्या गरिसकेको खुलेको थियो। यसले अभिषेकको कर्तुत बाहिर ल्याउने मात्र होइन, कारागारभित्रको सुरक्षा कमजोरी पनि उदांगो बनाइदिएको थियो। 

यीबाहेक पनि थुप्रै घटनाको अनुसन्धानले सीआईबीको छुट्टै र विशेष पहिचान बन्न सफल भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad