उच्च अदालतका न्यायाधीश नियुक्तिमा कुरा नमिल्दा न्याय परिषद्को बैठक निष्कर्षहीन भएको छ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा अढाई घण्टाभन्दा बढी समय बसेको बैठक निष्कर्षविहीन भएपछि तत्काल न्यायाधीश नियुक्तिको सम्भावना टरेको छ।
उच्च अदालतमा २ जना मुख्य न्यायाधीश र २४ जना न्यायाधीशको पद रिक्त छ।
कानुन व्यवसायीबाट बन्ने न्यायाधीशको सूचीमा कुरा नमिल्दा बैठक निर्णयविहीन भएको स्रोतले बतायो।
कानुन व्यवसायीमा कुरा नमिले पनि जिल्ला न्यायाधीश र कर्मचारीबाट भए पनि नियुक्ति सिफारिस गर्ने प्रधानन्यायाधीशको प्रयास विफल भएको छ।
न्यायाधीश नियुक्तिमा कुरा नमिलेपछि तत्कालका लागि सरूवाको सम्भावना पनि टरेको छ। सरूवाका लागि बनेको सूची तत्कालका लागि उपयोगविहीन भएको छ। न्याय परिषद् सचिवालयले सरूवाका लागि व्यापक गृहकार्य गरी सम्भावित सूची तय गरेको थियो।
अब कम्तीमा २ साता न्यायाधीश नियुक्ति र सरूवाको निर्णय नहुने भएको छ। किनभने, न्याय परिषद्का एक सदस्य वरिष्ठ अधिवक्ता दामोदर खड्का २ साताका लागि बुधबार नै विदेश जाँदै छन्। उनी भियतनाम, इन्डोनेसिया लगायत मुलुकको भ्रमण गरी साउन १३ गते मात्र फर्किनेछन्।
‘अहिले सरुवा गर्दा अधुरोजस्तो काम हुन्छ। नयाँ नियुक्त भएकाहरूलाई पठाउँदा फेरि चलाउनुपर्छ। अब एकैपटक सबै निर्णय गर्ने कुरा भयो,’ प्रधानन्यायाधीशनिकट स्रोतले भन्यो।
Shares

प्रतिक्रिया