कोरोना भाइरसको महामारीका बेला राहत वितरण गर्न लागिएको गुणस्तरहीन दाल–चामल प्रहरीले जफत गरेको छ।
बाराको कलैया उपमहानगरपालिका–२० बसतपुरमा राहत वितरण गर्न लागिएको दालमा किरा लागेको तथा सडेको देखिएपछि प्रहरीले जफत गरेको हो।
२५ केजी दरका २५ बोरा रहरको दाल नियन्त्रणमा लिएर परीक्षणका लागि नमुना लिई प्रहरी चौकी बसतपुरको नियन्त्रणमा राखिएको छ।
उक्त दाल खरिद गरिएको पसल पनि सिल गरिएको छ। कलैया उपमहानगरपालिका–७ स्थित यादव कोल्ड स्टोरबाट दाल किनिएको थियो।
त्यस्तै, चामल किनिएको जितपुर सिमरा उपमहानगरपालिका–१७ जैतापुरस्थित प्रदिप राईस मिलमा पनि सिलबन्दी गरिएको छ।
कलैया उपमहानगरपालिका–२२ बाट करिब ६ सय १५ जनालाई वितरण भएको राहत खाद्य सामग्रीमध्ये करिब ५० परिवारलाई वितरण गरिएको चामल पनि परीक्षणको लागि नमुना लिइएको छ।
परीक्षण प्रतिवेदनका आधारमा खाद्य ऐन, २०२३ लगायतका प्रचलित कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Shares
प्रतिक्रिया