काठमाडौँ उपत्यकाका विभिन्न भागमा सस्तोमा सुन दिने भन्दै नक्कली सुन देखाएर ३२ लाख रुपैयाँ ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ताप्लेजुङको फाकुम्बा गाउँपालिका–६ घर भइ हाल ललितपुर सातदोबाटो बस्ने वर्ष ६० को कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग–८ दोरम्बा घर भएका वर्ष ३६ को विजय तामाङ र ताप्लेजुङ मिरिङदुयान गाउँपालिका–२का वर्ष ४४ को विरेन लिम्बु रहेका छन्। ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले सुन जस्तो देखिने पहेंलो धातुको ढिक्कालाई सुन हो, सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ मंसिर ८ गते ललितपुरको खोकना बस्ने वर्ष ४४ को आशारत्न डंगोललाई नगद २५ लाख रुपैयाँ ठगी गरेका थिए।
यस्तै, यही २०८२ असार १८ गते काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–४ बस्ने वर्ष ३० को रामचन्द्र गहतराजलाई नगद ७ लाख रुपैयाँ ठगी गरेका थिए।
तीनै जनालाई असार ३० गते काठमाडौँको टोखा नगरपालिका–५ श्रीटोलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीहरूको साथबाट प्रहरीले धातुको ढिक्का थान–१, पहेंलो रंगको धातुको चारपाटा ढिक्का थान–१, फलामको हम्बर थान–१, आधी भाग भाँचिएको चक्कु थान–१, मोबाइल थान–६, स्कुटर थान–१ बरामद गरेको छ।
Shares

प्रतिक्रिया