समाज


काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि १८ हजार आवेदन, गत वर्षभन्दा ३० प्रतिशत बढी

काठमाडौँ महानगरमा छात्रवृत्तिका लागि १८ हजार आवेदन, गत वर्षभन्दा ३० प्रतिशत बढी

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा सहभागी विद्यार्थी। फाइल तस्बिर


आयुषा ढकाल
असार ३१, २०८२ मंगलबार १३:२०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि खुलाएको छात्रवृत्तिमा झण्डै १८ हजार विद्यार्थीले आवेदन दिएका छन्। देशका ७७ वटै जिल्लाका विद्यार्थीबाट आवेदन प्राप्त भएको महानगरपालिकाले जनाएको छ।

गएको दुई वर्षदेखि महानगरले आफ्नो क्षेत्रभित्रका निजी विद्यालयहरूमा भर्ना हुने कुल संख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने व्यवस्था गरेको छ। त्यसका लागि महानगरले नै परीक्षा सञ्चालन गरी प्रतिस्पर्धाका आधारमा विद्यार्थी सिफारिस गर्छ।

यस वर्षका लागि असार १८ देखि २७ गतेसम्म आवेदन खुला गरिएको थियो, जसमा १७ हजार ९२९ जनाले आवेदन दिएको महानगरपालिकाका सूचना अधिकारी नुरनिधि न्यौपानेले नेपालखबरलाई जानकारी दिए।

यीमध्ये ७ सय विद्यार्थीको आवेदन भने अस्वीकृत भएको छ। ग्रेडमा नपरेका, आवश्यक कागजात तथा विवरण समावेश नगरेका र छात्रवृत्तिको मापदण्डभित्र नपरेका विद्यार्थीको आवेदन अस्वीकृत भएको न्यौपानेको भनाइ छ।

अब आवेदन दिएकामध्ये १७ हजार २२९ जना विद्यार्थीले साउन ३ गते हुने परीक्षामा सहभागी हुन पाउनेछन्।

३८ प्रतिशत महिला, विज्ञानमा बढी चाप
महानगरको शिक्षा विभागका अनुसार, छात्रवृत्तिका आकांक्षीमध्ये ३८ प्रतिशत छात्रा छन्।

१० हजार ६०१ छात्रले आवेदन दिँदा ६ हजार ६२२ छात्राले प्रतिस्पर्धाबाट छात्रवृत्ति पाउनुपर्ने दाबी गरेका छन्। ६ जना अन्य (तेस्रोलिंगी) छन्।

सामुदायिक विद्यालयका १० हजार ८७ र निजी विद्यालयका ७ हजार १४२ विद्यार्थी महानगरको छात्रवृत्ति परीक्षामा सामेल हुँदै छन्।

झन्डै ७१ प्रतिशत आवेदक विज्ञान पढ्न चाहने विद्यार्थी छन्।

विज्ञानमा १२ हजार ३३७, व्यवस्थापनमा ४ हजार ४८१, कानुनमा २७३, शिक्षामा १०४ र मानविकीमा ३४ आवेदन परेका छन्।

यस्तो छ अबको पक्रिया
महानगरका अनुसार, साउन १ गतेदेखि विद्यार्थीहरूले अनलाइनबाटै प्रवेशपत्र डाउनलोड गर्न सक्नेछन्। 

छात्रवृत्ति परीक्षा साउन ३ गते बिहान ८ देखि १० बजेसम्म हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुनेछ, जसमा अनिवार्य गणित,

विज्ञान र अंग्रेजी विषयबाट ३०/३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न सोधिनेछ।  

प्रश्नसँगै दिइएका सम्भावित उत्तरमध्ये कुनै एउटामा रेजा लगाउनुपर्छ। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनैपर्छ। गलत उत्तर दिँदा नेगेटिभ मार्किङ (घटाउने) गरिँदैन।

राम्रो अंक ल्याउने विद्यार्थीहरूको योग्यतासूची (मेरिट लिस्ट) प्रकाशित गरेपछि क्रमशः उनीहरूले चाहेको विद्यालय छान्दै जान पाउनेछन्।

यसरी सुरू भयो छात्रवृत्ति कार्यक्रम
नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएर आएपछि २०८० देखि महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्तिका लागि आफै परीक्षा लिन थालेको हो।

यस प्रक्रियामा पहिलो वर्ष ८ हजार विद्यार्थीले आवेदन दिएका थिए। तीमध्ये ३ हजार ५५९ जनाले पूर्ण छात्रवृत्ति प्राप्‍त गरेका थिए।

त्यसैगरी २०८१ मा १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्‍त गरी अध्ययन गरिरहेका छन्।

गत वर्षको तुलनामा यसपालि आवेदन दिनेको संख्या करिब ३० प्रतिशतले बढेको छ। यसपालि कम्तीमा ३ हजार ५०० विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान महानगरले गरेको छ। विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याले छात्रवृत्ति प्राप्त गर्नेको संख्या निर्धारित हुन्छ।

२०७९ को स्थानीय तहको चुनाव हुनुपूर्व कक्षा ११ मा भर्ना लिने विद्यालयहरूले छात्रवृत्ति निर्धारण गर्थे। २०७४ भन्दा पहिले छात्रावृत्तिको परीक्षा राष्‍ट्रिय परिक्षा बोर्ड∕उच्च माध्यमिक शिक्षा परिषद्ले लिँदै आएको थियो।

स्थानीय सरकार सञ्चालन ऐनले छात्रावृत्तिको व्यवस्थासम्बन्धी जिम्मेवारी स्थानीय सरकारलाई दिएको हो।

महानगरले छात्रवृत्ति वितरणको जिम्मा लिनुअघि एकातिर राम्रा कलेजहरूमा सरकारी उच्च पदाधिकारी तथा राजनीतिक दलका नेताको भनसुनबाट विद्यार्थी पठाइन्थ्यो भने अर्कोतिर कलेजहरूले इमानदारीसाथ पूर्णतः निःशुल्क पढाउन मान्दैनथे।

कलेजहरूलाई नै छात्रवृत्ति वितरणको पूरै जिम्मेवारी दिँदा छनोटमा पारदर्शिता थिएन। प्रतिस्पर्धा र योग्यताभन्दा पहुँच, प्रभाव र निकटताका आधारमा दिने गरिएको थियो। कतिपय कलेजले छात्रवृत्ति दिने भनेर पहिला विद्यार्थी भर्ना गर्ने र पढ्न थालेपछि अफ्ठ्यारोमा पारेर महँगो रकम असुल्ने गरेका थिए।

*केही विवरण पुनः अद्यावधिक गरिएको।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad