समाज


चन्द्रागिरिका ३ वडा पहिरो उच्च जोखिममा

चन्द्रागिरिका ३ वडा पहिरो उच्च जोखिममा

नेपालखबर
असार २८, २०८२ शनिबार १६:२३, कीर्तिपुर (काठमाडौँ)

वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका छन्। यस वर्षको वर्षामा चन्द्रागिरि–१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन्। 

यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताए। उच्च जोखिम मानिएका ३ वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ। गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो। 

‘नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ’, अर्यालले भने। वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी दिए। खास गरी विकास निर्माणका क्रममा डोजर लागेका स्थानमा पहिरो जाने, भू–क्षयलगायतको समस्या देखिएको उनले बताए।

आफ्नो घर पहिरोले लड्न लागेकाले बचाइदिन आग्रह गर्दै नगरपालिका आएकी वडा नम्बर २ की अम्बिका सञ्जेलले विकास गर्ने भन्दै जमिनमा जथाभावी डोजर चलाउने र वर्षा अगाडि निर्माण नगरिदिँदा पहिरो जाने गरेको बताए।

वडा नं ९ स्थित शान्ति स्तूपाका कारण कीर्तिपुर नगरपालिकातर्फ गएको पहिरोको हालसम्म पनि व्यवस्थापन भएको छैन। जोखिम न्यूनीकरणका प्रारम्भिक काम भए पनि दीर्घकालीन समाधानका लागि बायो इञ्जिनियर गर्नुपर्ने भएकाले केही समय लाग्ने अर्यालले जानकारी दिए। वडा नं ८ का केही भाग पनि पहिराको उच्च जोखिममा रहेका उनले बताए।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले यस वर्ष आकस्मिक विपद् व्यवस्थापनका लागि ३ करोड बजेटमा व्यवस्था गरिएको जानकारी दिए। दीर्घकालीन समाधानका लागि भिरालो जमिनमा वृक्षरोपण र जोखिमयुक्त स्थानमा बायो इञ्जिनिरिङ गर्न खोजिएको उनले बताए। ‘जथाभावी डोजर चलाउँदा पहिरोको जोखिम बढेकाले आगामी दिनमा प्राविधिक जाँचका आधारमा मात्र अनुमति दिइनेछ’, उनले भने।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad