टिकटकर रमा बस्नेतको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदन खारेज भएको छ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र अब्दुल अजिज मुसलमानको इजलासले रमाका तर्फबाट उनका बुवा बलदेव बस्नेतले दायर गरेको रिट खारेज गरिदिएको हो।
रमा यसअघि नै जिल्ला अदालतबाट धरौटीमा छुटिसकेकी छन्। जिल्ला अदालत काठमाडौँले रमालाई असार १२ गते ३० हजार रूपैयाँ धरौटीमा छाडेको हो।
प्रहरीले उनलाई नेताहरूका विरुद्धमा अमर्यादित टिप्पणी गरेको आरोपमा पक्राउ गरी विद्युतीय कारोबार (साइबर क्राइम)को अभियोगमा मुद्दा चलाएको थियो।
प्रहरीले गैरकानुनी थुनामा राखेको दाबी गरी रमाका तर्फबाट उनका बुवा बलदेवले असार ९ गते बन्दी प्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए। उक्त रिटको प्रारम्भिक सुनुवाइमा न्यायाधीश कुमार रेग्मीले प्रहरी र सरकारी वकिलसँग थुनामा राख्नुको कारण माग गरेको थियो।
दुवै पक्षको जवाफ प्राप्त भएर सुनुवाइ हुँदासम्म उनी जिल्ला अदालतबाटै छुटिसकेकाले मंगलबार सर्वोच्चले रिट खारेज गरिदिएको हो।
रमालाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।
Shares

प्रतिक्रिया