त्रिशूली नदीमा आएको बाढीबाट उद्धार गरि अस्पताल पुर् याइएका पाल्देन तामाङ र उनका श्रीमती मंगली तामाङलाई भेट्न बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा नुवाकोट पुगेका छन्।
मंगलबार (बिहान) आएको बाढीमा फसेका तामाङ दम्पतीलाई भेट्न मुख्यमन्त्री लामा नुवाकोटस्थित त्रिशूली अस्पताल पुगेका हुन्।
नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा आएको बाढीमा करिब ४ घण्टा फसेका ६७ वर्षका पाल्देन र ६२ वर्षकी मंगलीको सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो।
उद्धार पश्चात् अस्पतालमा उपचारत रहेका उनीहरूलाई भेट्न मुख्यमन्त्री लामा अस्पताल पुगेका हुन्।
विहानैदेखि बाढीग्रस्त क्षेत्रको अवलोकन गर्न नुवाकोट पुगेका मुख्यमन्त्री लामाले उद्धार गरि अस्पताल लगिएको तामाङ दम्पतीलाई भेटेर स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री लामाले घाइते उनीहरूको उपचारमा प्रदेश र स्थानीय सरकारले सघाउने बताउँदै उपचारमा कुनै कमी नगर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।
काठमाडौँबाट बिहानै नुवाकोट गएका मुख्यमन्त्री लामा आजै क्षतिग्रस्त बनेको रसुवा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
Shares

प्रतिक्रिया