नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले नेतृत्व र राष्ट्रप्रतिको विश्वास पुनःस्थापना गर्नुपर्नेमा जोड दिएका छन्।
बहराइनमा नेपाली समुदायले गरेको अभिनन्दन कार्यक्रममा उनले देशलाई उज्यालो मात्रै नभई अब समृद्धिको यात्रामा डोर्याउन
आर्थिक क्रान्तिको आवश्यकता रहेको बताए।
कार्यक्रममा बोल्दै घिसिङले भने, ‘नेपालको अभियान अब उज्यालो मात्र होइन, समृद्धिको हो। सामाजिक न्याय, सुशासन र परिणाममुखी कामको अभियान हो। हामीले केवल बोलेर होइन, काम गरेर देखाउनुपर्छ। नतिजा दिन सकेनौं भने त्यो परिवर्तन सम्भव हुँदैन।’
उनले देशमा नेतृत्वप्रतिको विश्वास हराएको भन्दै त्यो पुनः जगाउन सबै नागरिकले भूमिका खेल्नुपर्ने धारणा राखे। ‘नेपालमा अब केही हुन्छ, चाँडै हुन्छ भन्ने आत्मविश्वास र आशा सबैमा जगाउनु जरूरी छ,’ घिसिङले भने।
नेपालजस्तो सम्भावनायुक्त देशबाट खाडी मुलुकहरूमा मात्र करिब १५ लाख युवा श्रमिक रहेको उल्लेख गर्दै उनले यो चिन्ताजनक अवस्था भएको बताए। ‘हामी सबैले मिलेर, एकतावद्ध भएर देश परिवर्तनको दिशामा अघि बढ्नुपर्छ,’ उनले आह्वान गरे।
यस्तो छ घिसिङको भनाइः
नेपालको अभियान उज्यालो अभियान हो। अब समृद्धिको अभियान हो। सामाजिक न्यायको अभियान, सुशासनको अभियान। हामीले कुराले गरेरन हुँदैन, कामले गर्नुपर्छ। रिजल्ट दिनुपर्यो। रिजल्ट दिनु भएन भने त्यो हुँदैन।
हामीले काम गरेका छौँ भनेर पनि हुँदैन। तर त्यसको रिजल्ट आउनुपर्यो। यो सबैको लागि एउटा विश्वास आवश्यक छ। एउटा आत्मविश्वास आवश्यक छ। एउटा आशा जगाउनु आवश्यक छ। त्यस्तो नेतृत्वको आवश्यकता छ। त्यस्तो नेतृत्वले देशलाई एउटा परिवर्तन दिनसक्छ।
आर्थिक क्रान्ति आवश्यक छ। त्यो विश्वास जगाउने काम हामी सबैले गर्नुपर्छ। नेतृत्वप्रतिको विश्वास हराएर गएको हो। विश्वास जगाउने, आत्मविश्वास जगाउनुपर्ने अवस्था छ। नेपालमा केही हुन्छ, चाँडै हुन्छ र हामी सबैले गर्न सकिन्छ भन्ने एउटा आत्मविश्वास र आशा जगाउँदै अगाडि बढ्नुपर्नेछ।
त्यो सपनाका लागि तपाईंहरुसँग एकतावद्ध भएर अघि बढौँ भन्नु अभएको हुँ। नेपाल जस्तो सुन्दर देश, स्रोत नै स्रोत भएको देश हो।
Shares

प्रतिक्रिया