वरिष्ठ अधिवक्ता एवं अधिकारकर्मी मीरा ढुंगानाले कानुनमा मात्र न्याय र समानताको कुरा लेखेर नहुने भएकाले त्यसको प्रभावकारी कार्यान्वयन र सामाजिक चेतनाको संयोजन आवश्यक रहेको बताएकी छन्।
ललितपुरको नेसनल ल कलेजको एनएएलसी फेमिनिस्ट स्पार्कले आयोजना गरेको कानुनमा नारीवादी आवाजसम्बन्धी संवाद कार्यक्रममा वरिष्ठ अधिवक्ता ढुंगानाले यो धारणा राखेकी हुन्।
‘कानुन निर्माण गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन नगरेसम्म समाजमा परिवर्तन सम्भव छैन,’ ढुंगानाको भनाइ छ, ‘कानुनका शब्दहरूलाई व्यवहारमा उतार्न समाजका सबै तहबाट आवाज उठ्नुपर्छ।’
कार्यक्रममा अधिवक्ता ढुंगानाले महिलामाथि भइरहेका आधुनिक प्रकारका हिंसा, सामाजिक संरचना र न्यायिक प्रणालीभित्रको लैंगिक असमानताका विषयमा विस्तृत विचार व्यक्त गरेकी थिइन्।
उनले भनिन्, ‘आजको दिनमा हिंसा केवल शारीरिक वा देखिने रूपमा मात्र हुँदैन। मानसिक, आर्थिक, साइबर वा सामाजिक बहिष्करणका रूपमा पनि महिलामाथि हिंसा भइरहेको छ, जुन प्रायः कानुनी रूपमा सम्बोधन हुन सकिरहेको छैन।’
कार्यक्रममा उनले समाज र न्याय प्रणालीबीचको दूरीको समेत चर्चा गर्दै समाज परिवर्तनका लागि व्यक्तिगत तथा सामूहिक प्रयासको खाँचो औंल्याइन्। ‘एक–एक जनाको आवाज मिलाएर बोल्दा मात्रै समावेशी र समानतामूलक समाजको निर्माण सम्भव हुन्छ,’ उनको भनाइ थियो।
कार्यक्रमको अन्तर्क्रियात्मक सत्रमा न्यायालयमा कार्यरत महिला कर्मचारी, कानुन विद्यार्थी, महिला अधिकारकर्मी र कानुन व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। अन्तर्क्रिया सत्रको सहजीकरण प्रशना महतले गरेकी थिइन्।
कार्यक्रममा सहभागीहरूका अनुसार यस्तो खालको संवादले महिला अधिकार, न्याय र कानुनी पहुँचका विषयमा नयाँ दृष्टिकोण स्थापित गर्न सहयोग पुर्याउने विश्वास गरिएको आयोजकको भनाइ छ।


Shares

प्रतिक्रिया