कालोबजारीको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ।
मंगलबार कूटनीतिक नियोगको गाडीमा थर्मल गन महँगोमा बेच्दै गर्दा पक्राउ परेका अग्रवाललाई बुधबार प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उपस्थित गराएको थियो। प्रशासनले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी होविन्द्र बोगाटीले जानकारी दिए।
‘जिल्ला प्रशासनले अग्रवाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउन अनुमति दिएको छ’, डीएसपी बोगटीले नेपालखबरसँग भने।
प्रहरी अपराध अनुसन्धान महाशाखाले मंगलबार ६६ थान थर्मल गनसहित उनलाई नक्सालबाट पक्राउ गरेको थियो।५ हजारमा पाइने उपकरण १५ हजारमा बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेका थिए।
किर्गिस्तानको अवैतनिक राजदूत रहेका अग्रवालले कूटनीतिक सुविधाका गाडी प्रयोग गरी ती सामान कालोबजारी गरेको प्रहरीले जनाएको छ।
गतसाता नेपाल वायुसेवा निगमको वाइडबडी जहाज प्रयोग गरी केही व्यापारीले चीनबाट सामग्री ल्याएका थिए।
सोही जहाजमा शंकर ग्रुपले पनि स्वास्थ्य सामग्री ल्याएको थियो।

प्रतिक्रिया