संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड१९) संक्रमणबाट गएको २४ घन्टामा ७३ सय ३३ जनाको मृत्यु भएको छ। यो कोरोना संक्रमणको कारण एकै दिन भएको अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हो।
यो सँगै कोरोना संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ८१ हजार ९ सय ८७ पुगेको वल्डमिटरले जनाएको छ। बुधबार बिहान साढे ६ बजेसम्मको तथ्यांकअनुसार अहिलेसम्म कोरोना संक्रमणबाट संक्रमित हुनेको संख्या १४ लाख २५ हजार ९ सय ३२ पुगेको छ।
हिजो एकै दिन झण्डै ८० हजार नयाँ संक्रमित थपिएका छन्।
अमेरिकामा कोरोना संक्रमणका कारण अवस्था भयावह बन्दै गएको छ। त्यहाँ मंगलबार एकै दिन कोरोना संक्रमणबाट १९ सय ३४ जनाको मृत्यु भएको छ। यो अमेरिकामा अहिलेसम्म एकै दिनमा भएको सबैभन्दा धेरै मृत्यु हो। संक्रमितको संख्या पनि त्यहाँ अस्वाभाविकरुपमा बढिरहेको छ।
त्यहाँ संक्रमितको संख्या झण्डै चार लाख पुगेको छ। अहिलेसम्म त्यहाँ ३ लाख ९५ हजार ७३९ जना संक्रमित भएका छन्।
मृतकको संख्या १२ हजार ८०५ पुगेको छ। मंगलबार एकैदिन त्यहाँ २८ हजार ७३५ जना नयाँ संक्रमित थपिएका छन्।
अमेरिकापछि मंगलबार फ्रान्समा धेरैको मृत्यु भएको छ। हिजो एकै दिन त्यहाँ १४ सय १७ जनाले ज्यान गुमाएका छन्। अहिलेसम्म त्यहाँ मृतकको संख्या १० हजार ३२८ पुगेको छ। संक्रमितको संख्या १ लाख ९ हजार नाघेको छ।
त्यसैगरी युकेमा मंगलबार ७ सय ८६ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या अहिलेसम्म ६१ सय ५९ पुगेको छ भने संक्रमितको संख्या ५५ हजार नाघेको छ।
स्पेनमा मंगलबार ७ सय ४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १४ हजार नाघेको छ भने संक्रमितको संख्या १ लाख ४१ हजार नाघेको छ।
इटालीमा मंगलबार ६ सय ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या १७ हजार १२७ पुगेको छ। संक्रमितको संख्या १ लाख ३५ हजार नाघेको छ।
तर, इटालीमा संक्रमण दर भने घट्न थालेको छ। मंगलबार त्यहाँ ३ हजार ३९ जना मात्रै नयाँ संक्रमित थपिएका छन्।
बेल्जियममा मंगलबार ४०३ जनाको मृत्यु भएको छ। त्यहाँ मृतकको संख्या २ हजार नाघेको छ।
त्यसैगरी नेदरल्यान्डमा मंगलबार २३४, जर्मनीमा २०६, इरानमा १३३, ब्राजिलमा १२२, स्वीडेनमा ११४, टर्कीमा ७६, स्वीटजरल्यान्डमा ५६, क्यानाडामा ५८, पोर्चुगलमा ३४, अस्ट्रियामा २३, आयरल्यान्डमा ३६, पोल्यान्डमा २२, रोमानियामा २१, इक्वेडरमा २९, पेरुमा १५, मेक्सिकोमा ३१, फिलिपिन्समा १४, अल्जेरियामा २० जनाको मृत्यु भएको छ।
छिमेकी देश भारतमा कोरोना संक्रमणबाट मंगलबार १४ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेसम्म मृतकको संख्या १५० र संक्रमितको संख्या ५३ सय ११ पुगेको छ।
अर्को छिमेकी देश चीनमा भने मंगलबार कोरोना संक्रमणबाट एक जनाको पनि मृत्यु भएन भने नयाँ संक्रमित पनि थपिएनन्। त्यहाँ ७४ हजार संक्रमित भने उपचारको क्रममा छन्।
Shares

प्रतिक्रिया