समाज


एसियाको यो एउटा देश जहाँ अहिलेसम्म कोरोना पुगेकाे छैन!

एसियाको यो एउटा देश जहाँ अहिलेसम्म कोरोना पुगेकाे छैन!

अब्दुजलील अब्दुरासुलोव
चैत २६, २०७६ बुधबार १:२२,

कोरोना संक्रमण फैलिन नदिन अहिले धेरै देश लकडाउनमा छन्, सार्वजनिक स्थानमा भेला/समारोह ठप्प छन्। तर मध्य एसियाको मुलुक तुर्केमेनिस्तानको अवस्था फरक छ। मंगलबार सो देशमा साइकल र्‍याली निकालेर विश्व स्वास्थ्य दिवस मनाइएको छ। कोरोनाका कारण विश्व ठप्प भएका बेला यस्तो दृश्यले धेरैलाई अचम्मित बनाएको छ।

कोरोना भाइरसबाट विश्वका २ सय ११ देश चपेटामा परेका भए पनि तुर्केमेनिस्तानमा अहिलेसम्म कोरोना संक्रमण देखिएको छैन।

त्यहाँको सरकारले दाबी गरेको छ- तुर्केमेनिस्तानमा एक जना पनि कोरोना संक्रमित छैनन्।

तुर्क स्वास्थ्य प्रणालीको अध्ययन गरिरहेका लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक मार्टिन मेक्की सो देशमा कोरोना संक्रमित नभएको विषयमा विश्वास गर्दैनन्। भन्छन्, ‘तुर्केमेनिस्तानले आधिकारिक भनेर जारी गरेका तथ्यांकमा भरोसा गर्न सकिँदैन।’ सरकारले सत्यलाई लुकाइरहेको हुनसक्ने विशेषज्ञहरु बताउँछन्।

‘एक दशक अगाडि उनीहरुले एचआइभी/एड्स संक्रमित कोही नभएको दाबी गरेका थिए। त्यो साँचो सावित भएन। यो आँकडा पनि भरोसा योग्य छैन। सन् २००० मा उनीहरुले प्लेगका कैयौं रोगीहरुको अवस्था लुकाएकोबारे हामी जानकार छौं’, मार्टिन भन्छन्। सरकार कोरोना संक्रमित छैनन् भने पनि यसबारे जनमानसमा ठूलो त्रास छ। यसको अर्थ पहिलैदेखि संक्रमित रहेको हुनसक्छ।

राष्ट्रसंघसँग मिलेर योजना
राजधानी अश्गवाद निवासी एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग भनेका छन्,‘मलाई एक सरकारी सेवामा काम गर्ने व्यक्तिले चिनेका छन्। यहाँ भाइरस फैलिएको बारे बोलेमा मलाई अप्ठ्यारो पर्छ।’ तुर्क सरकार कोरोना संक्रमितको बचाउ तथा खोजीमा जुटेको छ। संयुक्त राष्ट्रसंघीय एजेन्सीसँग मिलेर कोरोनाविरुद्धका कार्ययोजना पनि बनाइरहेको छ।

राष्ट्रसंघीय आवासीय प्रतिनिधि एलेन पनोवाले बीबीसीसँग भन्छन्, ‘तुर्केमेनिस्तानमा कोरोना संक्रमित छैनन् भन्ने सरकारको दाबीसँग राष्ट्रसंघ सहमत छ। हामी आधिकारिक जानकारीमै भरोसा गर्नुपर्छ। अरु देशमा पनि यस्तै नै हुन्छ।’ एलेनका अनुसार सुरुमै यात्रामा प्रतिबन्ध लगाउनेजस्ता उपायका कारण यहाँ संक्रमणका घटना नदेखिएको हुनसक्छ।

सरकारले कोरोनाबारेको नियमित अपडेट गराउने संयन्त्र बनाएको छ। राज्य वा केन्द्र शासित आँकडा कुनै पनि सार्वजनिक गर्न सबै तहमा प्रतिबन्ध छ। तुर्केमेनिस्तानले करिब एक महिना पहिला नै मानिस आउजाउ गर्ने सबै सीमा नाका बन्द गरेको थियो।

फेब्रुअरीदेखि चीन तथा अरु देशहरुसँगका हवाई उडान रोको थियो। सबै अन्तर्राष्ट्रिय उडानलाई राजधानीको सट्टा तुर्कमेनावाद डाइभर्ट गरिएको थियो। त्यहाँ एउटा क्वारेन्टिन समेत बनाइएको थियो। त्यहाँ दुई हप्ताको लागि टेन्टमा बस्नुपर्नेहरु घुस दिएर छिटै निस्किन चाहिँ सक्थे।

‘जो संकास्पद व्यक्ति देशमा आउँछन् उनीहरुको टेस्ट गर्ने काम भएको छ। कति मान्छेको टेस्ट भयो। सरकारसँग कतिवटा टेस्ट किट छन् त्यो आँकडा हामीसँग छैन’, एलेन भन्छन्, ‘सरकारी अधिकारीहरुले हामीलाई पर्याप्त परीक्षण गरेको बताउँछन्।’

राजधानी प्रवेश गर्न मेडिकल रिपोर्ट
कोरोना संक्रमणबारे तुर्केमेनिस्तानले अपनाएको स्वास्थ्य प्रविधि आफूलाई थाहा नभएको राष्ट्रसंघीय आवासीय प्रतिनिधि एलेनको भनाइ छ। ‘उनीहरुले कुन तहसम्मको तयारी गरेका छन् हामीलाइ केही थाहा छैन। यहाँका अस्पतालमा राम्रो सुविधा भएकोमा हामीलाई विश्वास छ, त्यति मात्र हो’, उनी भन्छन्।
बीबीसी लेख्छ, ‘यतिबेलाको मुख्य सवाल यो हो के सेन्सरसीपका लागि चर्चित सरकारबाट आएको तथ्यांकमा भरोसा गर्न सकिन्छ?’

कोरोना संक्रमणलाई लिएर पछिल्लो समय यो मुलुकमा ठूलो जागरुकता आएको छ। धेरै भिडभाड हुने सहरमा आवत जावतमा रोकिएका पनि छन्। राजधानी अश्गवाद प्रवेश गर्नेसँग चिकित्सा रिपोर्ट हुनु अनिवार्य पारिएको छ। तर बाँकी विश्वलाई हेर्ने हो भने तुर्केमेनिस्तानको दैनिकी बिल्कुल सामान्य छ। क्याफे तथा रेष्टुराँ खुला छन्। विवाह समारोहमा भिडभाड छ। कसैले मास्क लगाएको देखिँदैन, बरु योजना बनाइरहेको सुनिन्छ।

किन त? राष्ट्रसंघ कार्यालयमै काम गर्ने एक जना चिकित्सक परिचाय सार्वजनिक नगर्ने सर्तमा भन्छन्, ‘तुर्केमेनिस्तानले कोरोना महामारीलाई बेवास्ता गरिरहेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad