कोसी प्रदेशबाट मनसुन एकैचोटि लुम्बिनी प्रदेशसम्म फैलिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (जेठ २९, बिहीबार) मनसुन कोसी प्रदेशबाट मधेस, बागमती, गण्डकी र लुम्बनी प्रदेशसम्म फैलिएको हो।
महाशाखाले बिहीबार साँझ बुलेटिन जारी गरी भनेको छ, ‘यस वर्षको मनसुन प्रणाली आज मिति २०८२/०२/२९ (१२ जुन) गतेका दिन कोसी प्रदेशका बाँकी भूभाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा प्रवेश गरेको छ।’
हेर्नुहोस् बुलेटिन-

गत मे २९ तारिख अर्थात् जेठ १५ गते नै पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गरेको मनसुन १४ दिन (जेठ २८) सम्म कोसी प्रदेशमै सीमित भइरहेको थियो। कोसी प्रदेशमा पनि सबै ठाउँमा नभई अधिकांश स्थानमा मात्र फैलिएको थियो।
आजदेखि भने कोसी प्रदेशका सबै जिल्ला, मधेस र बागमती प्रदेशमा पनि सबै स्थानमा विस्तार हुँदै गण्डकी प्रदेशका पनि केही ठाउँ र लुम्बिनी प्रदेशका समेत पूर्वी क्षेत्रका थोरै स्थानमा मनसुनी वायुको प्रभाव पुगेको हो।
मौसमविद्का अनुसार मनसुन देशका सबै प्रदेश र स्थानमा फैलिन अझै केही दिन लाग्छ।
यस वर्ष नेपालमा मनसुन अहिलेसम्मकै छिटो अर्थात् सरदर मिति (जुन १३ तारिख) भन्दा १५ दिनअघि मे २९ मै भित्रिएको थियो।
मौसमविद्का अनुसार हिउँदमा अर्थात् कात्तिकदेखि जेठसम्म पश्चिमी वायु वहने नेपालमा बर्खामा अर्थात् जेठदेखि असोज अन्त्यसम्म दक्षिण-पूर्वी हावा बहन्छ। जसलाई मनसुनी वायु भनिन्छ। हिउँदमा पश्चिमी वायुले वर्षा गराउँछ भने बर्खायाम अर्थात् मनसुनमा पूर्वी वायुले वर्षा गराउँछ।
Shares

प्रतिक्रिया