समाज


ओझेलमा महालक्ष्मीका पर्यटकीय गन्तव्य

ओझेलमा महालक्ष्मीका पर्यटकीय गन्तव्य

नगर प्रमुख हरिगोविन्द महर्जन


नेपालखबर
असार ५, २०८३ शुक्रबार १३:६, ललितपुर

सांस्कृतिक सम्पदा, मौलिक बस्ती र प्राकृतिक सौन्दर्यले भरिपूर्ण ललितपुरको महालक्ष्मी नगरपालिकाका पर्यटकीय गन्तव्य प्रचार अभावमा ओझेल परेका छन्। 

महालक्ष्मी पर्यटकीय सम्भावना बोकेको नगरपालिका भए पनि अझै प्रभावकारी रूपमा उजागर हुन नसकेको सरोकारवालाहरूले बताएका छन्। ती सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुनेमा पनि उनीहरूले जोड दिएका छन्।

महालक्ष्मी नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ ललितपुर शाखाको संयोजनमा बिहीबारदेखि सुरु भएको दुई दिने ‘पर्यटन प्रवर्धनमा पत्रकारको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले प्रचारप्रसारको कमीका कारण नगरभित्रका धेरै पर्यटकीय स्थल ओझेलमा परेको बताए

कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख हरिगोविन्द महर्जनले सिद्धिपुर, लुभु र लाकुरीभञ्ज्याङजस्ता क्षेत्र पर्यटन विकासका प्रमुख आधार बन्न सक्ने बताए।

उनले ती स्थानको मौलिक संस्कृति, परम्परा र प्राकृतिक सौन्दर्यले पर्यटक आकर्षित गर्ने क्षमता राखे पनि पर्याप्त प्रचार नपाउँदा अपेक्षित लाभ लिन नसकिएको स्वीकार गरे।

‘हाम्रा गाउँ र सम्पदामा पर्यटनको ठूलो सम्भावना छ,’ उनले भने, ‘तर त्यसलाई बाहिरको संसारसम्म पुर्‍याउने काम अझै कमजोर छ। सञ्चारमाध्यमले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्य सुवेदीले डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रयोगबाट स्थानीय पर्यटनलाई विश्वसामु चिनाउन सकिने बताए। उनले सूचना प्रवाह गर्दा तथ्य परीक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

प्रशिक्षक रेवती सापकोटा र पत्रकार जीवन भण्डारीले पर्यटन पत्रकारितामा डिजिटल माध्यम र एआईको प्रयोगबारे प्रशिक्षण दिँदै स्थानीय सम्पदा, संस्कृति र प्राकृतिक सौन्दर्यलाई आकर्षक ढंगले प्रस्तुत गर्न सके पर्यटन विकासमा उल्लेखनीय योगदान पुग्ने बताए।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीका अनुसार कार्यक्रममा करिब ९० जना पत्रकार सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad