ad ad

समाज


१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर

१९ हजार परिवारलाई राहत वितरण गर्दै पोखरा महानगर

वाशुदेव मिश्र
चैत २५, २०७६ मंगलबार ११:५६,

लकडाउन गरेपछि अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतको चुल्हो निभ्न नदिन पोखरा महानगरपालकाले राहत वितरण सुरु गरेको छ।

पोखरा महानगरपालिकाले ३३ वटै वडामा गरी १९ हजार ४ सय ४० परिवारलाई राहत वितरणको व्यवस्था मिलाएको हो गत चैत १९ गते बसेको ३७ औं नगर कार्यपालिका बैठकले राहत विरणको लागि लाभग्राही छनोट मापदण्ड बनाएको र सोही अनुसार लाभग्रही छनोट गरी राहत वितरण गर्न सुरु गरिएको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले जानकारी दिए।

उनका अनुसार ३३ वटै वडाबाट लाभग्राही छनोट गरी वडा कार्यालयहरुमार्फत् राहत वितरणको व्यवस्था मिलाइएको जिसीले जानकारी दिए। उनले लाभग्राहीलाई संयमित र अनुशासित रुपमा भौतिक दूरी कायम गरी राहत लिन आग्रह गरे।

लाभग्राही छनोट मापदण्ड अनुसार कुनैपनि आयको स्रोत नभएका, दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्ने परिवार तथा अन्य कसैबाट पनि उचित स्याहार सुसार नपाएका, (वृद्ध, असाहय, अशक्त, गर्भवती महिला, दीर्घरोगी, टुहुरा बालबालिका र फरक क्षमता भएका व्यक्ति) लाभग्राहीको रुपमा छनोट गरिएको छ। त्यसैगरी सामाजिक सुरक्षा भत्ता प्राप्त नगरेका, लकडाउनका कारण अलपत्र परेका स्वदेशी तथा विदेशी, धार्मिकस्थलमा भेटी/चन्दा संकलन गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई लाभग्राहीको रुपमा छनोट गरिने मापदण्ड महानगरले बनाएको छ।

महानगरले ४ जना वा सो भन्दा बढी संख्या भएको परिवारलाई फुल प्याकेज र ३ जनाको परिवारलाई आधा प्याकेज राहत उपलब्ध गराउने छ। फूल प्याकेजमा २५ केजी चामल, १ केजी नुन, १ लिटर तेल, २ केजी रातो दाल, एक केजी कालो दाल, केरा र चना एक/एक केजी रहेको छ भने आधा प्याकेजमा साढे १२ केजी चामल, १ केजी नुन, आधा लिटर तेल, रातो दाल १ केजी, कालो दाल आधा केजी र चना आधा केजी रहेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए।

पौडेलका अनुसार ११ हजार परिवारलाई फूल र ८ हजार ४ सय ४० परिवारलाई आधा प्याकेज राहत वितरण गरिने छ। राहत वितरणको लागि सिंगाे र आधा प्याकेजको छुट्टाछुट्टै कुपन बनाएर वडामा पठाइएको छ। पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणज्यि महासंघ गण्डकी, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्शको समन्वयमा पोखराका विभिन्न खाद्य सप्लायर्सहरुले राहत सामग्री उपलब्ध गराउने व्यवस्था मिलाइएको पौडेलले बताए।

अति विपन्न, दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने लगायतलाई राहत उपलब्ध गराउन महानगरपालिकाले २ करोड ४८ लाख ५० हजारको राहत कोष बनाएको छ भने विभिन्न संघ संस्था र व्यक्तिले अहिलेसम्म १५ लाख सहयोग गरेका छन्। गण्डकी प्रदेश सरकारले एक करोड महानगरको कोषमा दिएको छ भने सहयोग आउने क्रम जारी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .