“जनताको जीवन र अर्थव्यवस्थालाई गम्भीर असर पार्ने अवस्था आएको मैले अनुभव गरेको छु। म आजै बेलुका संकटकाल घोषणा गर्नेछु,” आबेले भने।
“विशेष गरी टोकियो र ओशाका जस्ता सहरी क्षेत्रहरूमा” नयाँ संक्रमणको तीव्र वृद्धिलाई औंल्याउँदै उनले एक दिनअघि सोमबार नै आपतकाल घोषणाको योजना सार्वजनिक गरेका थिए।
संकटकालको घोषणा मंगलबार मध्यरातदेखि लागू हुनेछ। नयाँ व्यवस्था अनुसार प्रभावित सातै क्षेत्रका गभर्नरहरुले आमजनतालाई आआफ्ना घरभित्रै बस्न र व्यापार व्यवसाय बन्द गर्न लगाउन सक्नेछन्।
तर यो युरोप र संयुक्तराज्य अमेरिकाका कतिपय क्षेत्रमा देखा पर्ने लकडाउन जस्तो कडा प्रतिबन्ध होइन। जापानमा आपतकालीन अवस्थामा पनि मानिसहरू बाहिर घुमफिर गर्न वा व्यापार व्यवसाय खुला राख्न सक्नेछन्। यहाँ घरभित्र बस्न वा व्यवसाय बन्द नगर्नेमाथि कुनै दण्डसजायको व्यवस्था गरिएको छैन।
विज्ञहरू र स्थानीय नेताहरूले आपतकाल घोषणाका लागि जोड दिएका थिए। यसैसाता टिबिएस प्रशारण संस्थाले गरेको सर्वेक्षणमा सहभागी ८० प्रतिशत जनताले आपतकाल घोषणालाई समर्थन गरेका थिए।
यस घोषणाबाट टोकियो, छिमेकी चिबा, कानागावा र साइतामा, ओशाकाको पश्चिमी क्षेत्र र छिमेकी ह्योगो, र फुकुओकाको पश्चिमी क्षेत्रसहित सात क्षेत्र प्रभावित हुनेछन्।
यो आपतकाल करिब एक महिनाका लागि हुनेछ। संक्रमण बढ्दै गएपछि तत्काल आपतकाल घोषणा गर्न सरकारमाथि चिकित्सा विशेषज्ञहरू सुझाव दिएका थिए। आइतबार मात्र टोकियोको शहरी इलाकामा एकै दिन १४३ जनामा कोरोना संक्रमण देखिएको थियो। हुनत यो संख्या विश्वका धेरै भागमा देखिएको संख्याभन्दा कम हो।
राजधानी टोकियोका चिकित्सकहरूले यस हप्ता शहर पहिले नै “गम्भीर अवस्था” मा रहेको र अस्पतालको क्षमता कम रहेको भन्दै चेतावनी दिएका थिए।
आपतकाल घोषणाको पक्षमा देखिएका टोकियोका गभर्नर युरिको कोइकेले मंगलबार टोकियो निवासीहरुलाई हिँडडुललाई सीमित गर्न अनुरोध गर्न आग्रह गरेका छन्।
“यसले दैनिक जीवनमा असुविधा हुन सक्छ, तर म सबैको सहयोगको लागि आह्वान गर्दछु किनकि जीवन खतरामा छ,” उनले भने।
गभर्नर कोइकेले मंगलबार साँझ पत्रकार सम्मेलन गरी टोकियोमा अबलम्बन गरिने उपायहरुका बारेमा जानकारी गराउने अपेक्षा गरिएको छ।
यसबैबीच आपतकाल घोषणाबाट जापानको आर्थिक अवस्थामा पर्ने प्रभावका बारेमा चिन्ता बढेको छ, र प्रधानमन्त्री आबेले सोमबार १० खर्ब डलरको एक प्रोत्साहन प्याकेज घोषणा गरेका छन्। यो रकम कूल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत हो।
युरोप र संयुक्तराज्य अमेरिकाका केही भागमा देखा परेको भाइरसको प्रकोपबाट हालसम्म जापान जोगिएको छ। जापानमा हालसम्म ४ हजार ४१ जना भाइरसबाट संक्रमित भएका छन् भने १०८ जनाको मत्यु भएको छ।
प्रस्तावित आर्थिक प्याकेजमा मार्चको अन्त्यसम्ममा करिब २० लाख मानिसलाई फ्लुसँग सम्बन्धित औषधि ‘एभिजान’ खरिद गर्न पनि प्रयोग गरिनेछ। अनुसन्धानमा यो औषधि कोविड–१९ को उपचारमा निकै उपयोगी हुने देखिएको छ।
साथै, कोरोना महामारीका कारण आर्थिक अवस्था कमजोर भएका प्रत्येक परिवारलाई करिब २ हजार ८०० अमेरिकी डलर उपलब्ध गराउन पनि उक्त आर्थिक प्याकेजबाट खर्च हुनेछ।
अमेरिकी सरकारले पनि कोरोना महामारीका कारण अर्थतन्त्रमा पारेको प्रभाव कम गर्न गत महिना २० खर्ब डलरको आर्थिक प्याकेज घोषणा गरेको थियो। अमेरिकी इतिहासमै यो सबैभन्दा ठूलो आर्थिक प्याकेज हो।
त्यसैगरी, जर्मनी, फ्रान्स, बेलायत, इटाली, स्पेन र ठूला अर्थतन्त्र भएका अरु मुलुकहरुले पनि आर्थिक प्याकेज घोषणा गरेका छन्। रासस/एएफपी

प्रतिक्रिया