समाज


पतञ्जलिको दर्ता नै त्रुटिपूर्ण, उद्योग मन्त्रालयलाई अख्तियारको पत्र

पतञ्जलिको दर्ता नै त्रुटिपूर्ण, उद्योग मन्त्रालयलाई अख्तियारको पत्र

पतञ्जलि योगपीठको पतञ्जली नेपाल टीभी र आस्था नेपाल टीभी च्यानल उद्घाटन कार्यक्रम। फाइल तस्बिर।


नेपालखबर
जेठ २५, २०८२ आइतबार १६:४४, काठमाडौँ

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक कम्पनीको दर्ता नै त्रुटिपूर्ण रहेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कम्पनीको दर्ता त्रुटिपूर्ण रहेको र कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीको त्यसमा संलग्नता रहेको भन्दै विभागी मन्त्रालयमा पत्राचार गरेको छ।

पतञ्जलि योगपीठ कम्पनी रजिस्ट्रारको कार्यालय, काठमाडौँमा २०६४ असोज २० गते मुनाफा वितरण नगर्ने कम्पनीको रूपमा दर्ता भएको थियो, जसको दर्ता नं ८४।०६४।६५ रहेको छ।

काठमाडौँ महानगरपालिका वडा नं १०, बानेश्वरमा ठेगाना रहेको कम्पनीले स्थायी लेखा नम्बर पनि लिएको छ।

कम्पनीका सञ्चालकहरूमा संरक्षक स्वामी रामदेव, अध्यक्ष आचार्य बालकृष्ण र सदस्यहरूमा राजेन्द्र दास, राजेन्द्र सिंहसमेत चार जना भारतीय नागरिक छन्। शालिग्राम सिंह मात्र नेपाली नागरिक छन्।

कम्पनी ऐन, २०६३ को दफा १६६ मा मुनाफा वितरण नगर्ने कम्पनी खोल्न सक्ने व्यवस्था छ। तर, ऐनको दफा ४ मा विदेशी व्यक्ति वा कम्पनी संस्थापक भएमा नेपालमा लगानी, व्यवसाय वा कारोबार गर्न छुट्टै अनुमति लिनपुर्ने हुन्छ। तर, पतञ्जली दर्ता हुँदा यस्तो अनुमतिपत्र लिएको देखिँदैन।

उक्त कम्पनी स्थापना गर्दा नै कानुनले तोकिएको प्रक्रिया अवलम्बन नगरी दर्ता गर्दा कम्पनी रजिस्ट्रार कार्यालयका कर्मचारीहरू ज्ञानदर्शन उदास, दानध्वज बस्नेत, कुसुमाकर शर्मा ढकाल, होमप्रसाद लुइटेल र तिलकराम रिजालको संलग्नता रहेको देखिएको छ। यस्तो त्रुटिपूर्ण कार्यका लागि अख्तियारले अदालतमा कुनै सजाय मागदाबी गरेको छैन। यद्यपि, उद्योग तथा वाणिज्य मन्त्रालयलाई कम्पनी दर्तामा भइरहेको यस्तो त्रुटि दोहोरिन नदिन कार्यप्रणाली सच्याउन भन्दै पत्राचार गरेको छ।

‘कम्पनी ऐन, २०६३ को दफा १६६ मा मुनाफा वितरण नगर्ने कम्पनी खोल्न सक्ने व्यवस्था भएको देखिए तापनि सोही ऐनको दफा ४ बमोजिम विदेशी व्यक्ति वा कम्पनी वा निकाय संस्थापक भएमा प्रचलित कानुनबमोजिम नेपालमा लगानी वा व्यवसाय वा कारोबार गर्नेबारेमा अनुमति पत्र प्राप्त हुनुपर्नेमा पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपाल दर्ता हुँदा उक्त अनुमति पत्र भए गरेको देखिँदैन,’ अख्तियारको निर्णयमा लेखिएको छ, ‘उक्त कम्पनी स्थापना गर्दा नै कानुनले तोकिएको प्रकृया अवलम्वन नगरी दर्ता गरेको तथ्य माथि विवेचित आधार प्रमाणहरुबाट देखिएको हुँदा कम्पनी दर्तामा संलग्न राष्ट्रसेवक शंकितहरूले त्रुटिपूर्ण कार्य गरेको देखिन्छ। तसर्थ, निज ज्ञानदर्शन उदास, दानध्वज बस्नेत, कुसुमाकर शर्मा ढकाल, होमप्रसाद लुइटेल, तिलकराम रिजालसमेतले पतञ्जली योग पीठ तथा आयुर्वेद कम्पनी नेपाल नामक कम्पनी दर्ता लगायतको कार्य गर्दा गराउँदा त्रुटि गरेको देखिएको हुँदा उक्त परिपाटी/कार्यप्रणाली सच्याउनतर्फ आवश्यक कदम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ को उपदफा (१) को देहाय (ख) र (ग) बमोजिम उद्योग तथा वाणिज्य मन्त्रालयलाई सुझाव लेखी पठाउने।’

नेपाल राष्ट्र बैंक, समाज कल्याण परिषद्लगायत विभिन्न निकायबाट अनुमति नलिएर ठूलो रकमको कारोबार पनि गरेको देखिएको छ। यसबारे छुट्टै अनुसन्धान अधिकृत तोकी अख्तियारले अनुसन्धान अघि बढाएको छ।

काभ्रेमा गैरकानुनी रूपमा हदबन्दी छुटमा जग्गा लिएको र पछि मन्त्रिपरिषद्सम्मै मिलेमतो गरी फरक प्रयोजनका लागि उक्त जग्गा बेचेको अभियोगमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरूद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ। भ्रष्टाचार अभियोग व्यहोर्नेमा पतञ्जलिका नेपाल प्रमुख शालिग्राम सिंह पनि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad