देब्रे हातको हत्केला छैन। देब्रेपट्टिको शरीर कम्मरसम्म जलेको छ। चहराउँदो घाउले छट्पटाइरहेका एक तीन वर्षे बालक पोखराको पश्चिमाञ्चल अस्पतालमा बेवारिसे भेटिन्छन्।
अस्पतालले अभिभावक खोज्यो। कोही सम्पर्कमा आएनन्। सामाजिक संस्थाको जिम्मा लगाइदियो।
यो करिब २५ वर्षअघिको कुरा हो।
संस्थामा ती बालकले नाम पाए, मीनबहादुर।
अहिले उनको नाम मीनबहादुर होइन। आफैँले नाम राखेका छन्, आदित्य राई। अनि अरू पनि धेरै परिचय बनाएका छन्, आफैँले, आफ्ना लागि।
त्यसैले त उनलाई आफूमा जति विश्वास अरू कसैमा छैन। आफूमा जति भरोसा अरू कसैप्रति छैन। प्रिय लाग्छ उनलाई, आफूले बनाएको पहिचान। सुन्दर लाग्छ उनलाई, आफ्ना लागि बनाएको स्थान।
उनले यो समाज र धर्तीमा आफ्ना लागि एक बित्ता ठाउँ बनाउन भने कम्ता संघर्ष गर्नुपरेन।
बुवाआमा को हुन्? थाहा छैन। बुवाआमाको लाडप्यार कस्तो हुन्छ? त्यो पनि थाहा छैन। घर कहाँ हो? त्यो पनि थाहा छैन।
समाजले गर्ने यति धेरै प्रश्न छन्, जसको उत्तर उनीसँग छैन। जाति, धर्म, थातथलो आदि, इत्यादि।
पोखरामा उद्धार गर्ने संस्थाले उनको शिक्षा र आश्रयका निम्ति ललितपुरको जावलाखेलस्थित अर्कै अनाथाश्रमको जिम्मा लगायो।
त्यो आश्रमको बसाइँ उनी सम्झिन सक्ने भएदेखि धेरै कुरा सम्झिनलायक भएनन्।
सडकबाट एउटा ओतमुनि त आए तर यस संस्थाबाट उनको अर्को संघर्षपूर्ण जीवनको सुरुवात भयो।
उनको दिनचर्या अनाथाश्रममा पनि अन्य बालबालिकाको जस्तो थिएन।
उनी सम्झन्छन्, ‘अन्य बालबालिकाले जस्तो दया, माया अनि परिवारको अनुभव मैले कहिलै गर्न पाइनँ। दसैँमा अन्य बालबालिकाले नयाँ लुगा पाउँदा मैले पाउँदिनथेँ, खै किन हो?’
उनकै भनाइमा, विद्यालयबाट फर्किएपछि हरेक दिन आफूभन्दा ठूला दाइहरूको लुगा धोइसकेर मात्र खाजा खान पाउँथे। कहिलेकाहीँ त उनलाई आधा पेट नै बस्नुपर्ने हुन्थ्यो।
परिवारको अत्तोपत्तो थिएन। साथमा अपांगता छँदै थियो। उमेर बढ्दै जाँदा उनमा आएको स्वभावगत परिवर्तनले अरूको हेपाइ र दुर्व्यवहार तेब्बर हुन थाल्यो।
किनभने, शारीरिक रूपमा केटा भएर जन्मिए पनि उनको स्वभाव र हाउभाउ केटीको जस्तो हुन थाल्यो। यसपछि धेरै तनाव सहनुपर्यो उनले।
उनी दस कक्षासम्म अध्ययन गर्दा बन्द कोठामा बत्ती निभाएर बस्न रुचाउँथे। आफूलाई कसैले नदेखून् भन्ने लाग्थ्यो। त्यसबेलासम्म उनले रहरले फोटो पनि कहिल्यै खिचेनन्।
जलेको हात र केटीको जस्तो हाउभाउ देख्दा साथीहरूले उनलाई लिएर हिँड्न मान्दैनथे। साथी भन्न नै लाज हुन्छ भन्थे।

यस्ता हजारौँ कारण थिए, उनले आफूलाई एक्लै बनाउनुमा। किनकि, अनाथाश्रमका दाइहरू, साथीहरूदेखि विद्यालयका शिक्षकको हेपाइसमेत सहनुपर्थ्यो आदित्यले।
आदित्य आफू एउटा स्वतन्त्र पन्छीझैँ उड्न चाहन्थे। आफ्नो अस्तित्वलाई स्वीकारेर सोही वेशमा रम्न चाहन्थे। ‘तर, हेर्दा जति रंगीन अनि सुन्दर देखिन्छ यो दुनियाँ, उत्ति नै क्रूर, डरलाग्दो अनि घीनलाग्दो पनि हुने रहेछ,’ त्यो अत्यासलाग्दो विगत सम्झिन्छन् उनी।
कतिपयलाई लाग्न सक्छ, महिला मात्र पुरुषबाट हुने यौन दुर्व्यवहारमा पर्न सक्छन्। तर, तिनीहरूलाई कसले भनिदेओस्, आदित्यजस्ता व्यक्ति पनि छन्, जो आफ्नै अनाथाश्रमका दाइहरूबाट यौन शोषण र दुर्व्यवहार खेपेको पीडादायी अनुभव बोकेर जीवनभर हिँड्न बाध्य छन्। यस्तो अनुभव, जसलाई उनी चाहेर पनि मानसपटलबाट मेटाउन सक्दैनन्। मेटाउन खोज्दा झन् काँडेतार बनेर जिउभरि सल्बलाएर आउँछन्।
जतिबेला उनीमाथि त्यस्ता यौन दुर्व्यवहार भएका थिए, त्यसबेला उनलाई आफ्नो पहिचानको विषयमा थाहा थिएन।
‘अहिले त्यो विषयमा बोल्नु र उक्त समयको भोगाइमा धेरै फरक छ,’ लामो श्वास तान्दै उनी भन्छन्।
हुन त अनाथाश्रम एउटा शिर लुकाउने छत थियो आदित्यको लागि। तर, त्यस छतभित्र उनीमाथि भएका दुर्व्यवहार र हिंसा दर्दनाक थिए।
शिक्षकको हेपाइ र कुटाइ उनले नै बढी खानुपर्थ्यो। बास्केटबल खेल्न रुचाउने उनलाई शिक्षकले नै एक हात भएको केटी भनेर जिस्क्याउँथे। त्यो कुरा सम्झिँदा आदित्यलाई अझै पनि पीडा हुन्छ।
एसएलसीपछि भने खुला आकाशमा उडान भर्ने चाहनाका साथ उनले आश्रमभन्दा बाहिरै बस्ने निधो गरे।
अनाथाश्रमबाट छुट्टिएर बेग्लै बसिसकेपछि नै हो, उनले तीतो विगतलाई भुलेर सुनौलो भविष्यको कल्पना गर्दै आफ्नो मीनबहादुर नामलाई बदलेर आदित्य बनाएको।
आदित्य यो भन्न छुटाउँदैनन् कि कक्षा १२ पढ्दासम्म आश्रमको तर्फबाट सहयोग भने मिलिरहेको थियो।

नागरिकता र परिवारको खोजी
आदित्यसँग न त आफ्नो घरको ठेगाना थियो, न त थरको नै पत्तो थियो। उनलाई यत्ति थाहा थियो कि आफू पोखरातिरबाट बेवारिसे अवस्थाबाट ल्याइएको भन्ने। त्यसैले जसले जन्माए पनि आफ्नो एउटा पहिचान त चाहिन्छ भन्ने सोचका साथ घरपरिवारको ठेगाना बुझ्न उनी पोखरा गए।
सबैभन्दा पहिले आफ्नो बारेमा केही थाहा हुन्छ कि भनेर उनी सिविन नेपाल नामक संस्थामा पुगे, जुन संस्थाले आदित्यलाई उद्धार गरेको थियो।
कुरा बुझ्दै जाँदा उनको परिवार त्यस समयमा पोखराको पेन्सन क्याम्प (भारतीय सेनाको पेन्सन वितरण गर्ने स्थान) नजिक बस्ने गरेको पत्ता लाग्यो।
धेरै वर्ष पहिले राईको घरमा आगो लागेको र राई त्यस आगोमा जलेको कुरा त्यहाँका पाका व्यक्तिहरूले बताए। आगो लाग्नुअघिसम्म उनका बुवा बिजुलीको काम गर्थे। उनको खाँचो परिरहने भएकाले नै पेन्सन क्याम्पमा वासस्थान पाएका रहेछन्। उनको परिवार बुटवलबाट त्यहाँ आएको रहेछ। आदित्य त्यही क्याम्पमा जन्मिएका रहेछन्।
घरमा आगो लागेपछि उनका दाइ, दिदी पनि लाखापाखा लागेको कुरा उनले त्यहीँ पत्तो पाए।
अरू कुरा पत्ता नलागे पनि आफ्नी आमालाई भेट्ने आसले उनी पोखराको ढुंगे भन्ने ठाउँसम्म पुगे। जलेको बच्चा मर्छ भन्ने सोचेर आफूलाई परिवारले पश्चिमाञ्चल अस्पतालमा लगेर छाडेको कुरा पनि त्यहीँ थाहा पाए, जुन कुरा सुनेर आदित्य झनै आहत भए।
आदित्यले आफू जन्मेको ठाउँ फेला पार्दा पनि आमाबुवा फेला पार्न सकेनन्। उनको परिवार बुटवलबाट बसाइँ सरेर पोखरा आएको कुरा थाहा पाएपछि स्थानीयको सल्लाहमा नै बुटवल गए, परिवार भेटिने आसमा।
बुटवलमा दिदी र दाइलाई भेटे तर उनीहरूको पनि नागरिकता नभएको थाहा भएपछि भने त्यहाँबाट नागरिकता बन्छ भन्ने झिनो आस पनि मरेर गयो।
संसारमा आफ्नो पहिचान आफैले बनाउनुपर्छ भन्ने त उनले धेरै सुनेका थिए। तर आदित्य एउटा त्यस्ता व्यक्ति हुन्, जसले आफ्नो नाम, थर, जन्म मिति र पहिचान नै आफैँले बनाउनुपर्यो।
उनलाई यो संसारमा ल्याउने जन्मदाता कोही त थियो तर कसैलाई नचिनेको यो बिरानो संसारमा आफ्नो पहिचान, आफ्ना मान्छे बनाउनु निकै संघर्षपूर्ण बन्न पुग्यो।
नागरिकतामार्फत आफ्नो पहिचान दुनियाँमाझ प्रस्तुत गर्न आतुर उनी सरकारी कर्मचारीकै कुरा पत्याएर पनि धेरै ठगिन पुगे।
यति पैसा दियो भने बन्छ, यस्तो गर्यो भने बन्छ भनेर पैसा लिएर जानेहरू समेत भेटे।
यति समस्याका बाबजुद उनले हिम्मत हारेनन्। अन्ततः नागरिकता बनाएरै छाडे।
उनको नागरिकतामा मातृपितृको ठेगान नभएको भनेर लेखिएको छ। यसले उनको जीवनमा खुसीसँगै दुःखको अर्को अध्याय सुरू गरिदियो।
आमा, बुवाबिनाको नागरिकता कतै देखाएर काम गर्नुपर्यो भने अहिले पनि पाइलैपिच्छे केरकार झेल्नुपर्छ। कतिपय अड्डा र बैंकहरूमा तीनपुस्ते विवरणबिना फाराम नै भर्न मिल्दैन। त्यसपछि उनले बुझे– नागरिकता बनेर मात्र दुःखको कथा अन्त्य नहुने रहेछ।

लैंगिक पहिचानले अर्को आपत्
उनमा शारीरिक विकास हुँदै जाँदा स्वभावमा पनि परिवर्तन आयो। शारीरिक रुपमा केटा भए पनि केटीको स्वभाव विकास हुँदै गयो। त्यो अनौठो अवस्थाबाट उनी स्वयं अचम्मित थिए।
करिब १२ वर्षअघि भने उनले आफूमा भएको त्यस खालको स्वभाव समलिंगीपना भएको पत्तो पाए। लैंगिक अल्पसंख्यक समुदायका मानिसहरूलाई भेटेर परामर्श लिएपछि सन् २०१३ मा आफ्नो लैंगिक अस्तित्वको महसुस भएको उनी बताउँछन्।
आफ्नो अस्तित्वको विषयलाई लिएर उनले एउटा एफएम रेडियोमा अन्तर्वार्ता पनि दिए। सो समयमा उनी मात्र एक त्यस्ता व्यक्ति थिए, जो शारीरिक रूपमा अपाङ्गता भएका, समलिंगी पुरुष र अनाथ भएर लैंगिक अल्पसंख्यक समुदायको भनेर खुलेका थिए।
आदित्यले आफ्नो पहिचानको विषयमा रेडियोमा खुलाएपछि रातारात आश्रमबाट फोन आयो। र भनियो, ‘तिमी केटा होइन रहेछौ, अब हामी तिमीलाई छात्रवृत्ति दिन सक्दैनौँ। यहाँबाट निस्केर जाऊ।’
उनलाई आफू छाँगाबाट खसेजस्तै भयो।
लागु औषधको लत लागेका, विद्यालयले निकाला गरेका बालबालिका तथा अनाथको लागि संस्थामा ठाउँ थियो तर आदित्य समलिंगी पुरुष भएकै कारण संस्थाबाट निकालिए।
‘सायद त्यो समयको समाज यस्ता विषयमा जानकार थिएन। त्यसैले मलाई निकालियो,’ उनी मान्छेलाई होइन, समयलाई दोष दिन्छन्।
तर, एउटा यथार्थ के थियो भने आश्रमको सहयोगबाट वञ्चित भए। शारीरिक अपांगता एकातिर छ। लैंगिक रूपमा पनि समाजले सहजै स्वीकार नगर्ने परिचय बोकेर हिँड्नुपरेको छ। घरपरिवार त छँदै थिएन। कामको अनुभव, कुनै जीविका चलाउन सक्ने सीप र उद्यम पनि थिएन।
यो सिंगो दुनियाँमा एक्लै लड्दै थिए, आफ्नो अस्तित्वका लागि। उमेरको हिसाबले पनि सही र गलत छुट्याउने समझ बनिसकेको थिएन।
यस्तो अवस्थामा उनले जीविकोपार्जनको लागि बाध्यतावश यौन पेसासमेत अपनाउनुपर्यो।
त्यतिखेर उनी ठ्याक्कै साढे १६ वर्षको उमेरमा थिए।
‘त्यतिखेर मैले जे गर्न सक्थेँ, त्यही गरेँ,’ उनी भन्छन्।
त्यहीबीचमा लैंगिक अल्पसंख्यक समुदायकै संस्थामा जोडिए आदित्य। विभिन्न कार्यक्रममा स्वयंसेवकको रूपमा खटिए।
त्यसरी काम गर्दै जाँदा उनी आफ्नो लागि अडान लिन सक्ने भए।
संस्थामा आबद्ध हुने क्रममा उनले पहिले फेडेरेसन अफ सेक्सुअल एन्ड जेन्डर माइनोरिटिज नेपालमा प्रोगाम एसोसियटका रुपमा काम गरे। त्यसपछि ब्लु डाइमन्ड सोसाइटीमा पनि जोडिए।
ती अनेक अनुभव र संघर्षपछि लाग्यो, यो समुदायमा उनी अरूभन्दा फरक छन्। त्यसैले आफ्नो बेग्लै पहिचान र स्थान बनाउनुपर्छ।

आफ्नै पहलमा संस्था खोल्दाको संघर्ष
आफूजस्तै शारिरीक रूपमा अपांगता भएको र यौनिक अल्पसंख्यक समुदायको लागि एउटा संस्था नेपालमा पनि हुनुपर्छ भन्ने निष्कर्षसाथ आदित्य नयाँ पहल सुरु गरे।
संस्था खोल्नुपूर्व सल्लाह लिन खोज्दा अपांगता समुदाय र लैंगिक अल्पसंख्यक समुदायका नेताहरूले उल्टै थर्काएको आदित्य बताउँछन्।
‘अहिले पनि तँलाई एक्टिभिज्मबाट हटाउँछौँ, कालो सूचीमा राख्दिन्छौँ भन्ने विभिन्न धम्कीहरू आउने गरेको छ,’ उनी भन्छन्।
संस्था दर्ताको लागि कार्यालयहरूमा जाँदा कतै अपांगता शब्द नामबाट हटाउनुपर्छ भन्छन्, कतै लैंगिकतालाई लिएर खिस्याउने गरेको उनको अनुभव छ।
आफूजस्तै समस्या भएकाहरूलाई समुदायबाट खोजेर ल्याउने ल्याउने र संस्थामा जोड्ने अभियानमा छन् उनी। त्यही कारण समाजिक सञ्जालमा गएर आफ्ना कथाव्यथा सुनाउँछन्।
तीन वर्ष भयो, इन्द्रेणी अपांगता नेपाल नामक संस्था स्थापना गरेको। संस्था स्थापना गर्दा उनले आफूसँग भएको सिक्री पनि बेचेका थिए।
देशभित्र र आफ्नै समुदायबाट समर्थन नपाए पनि अन्तर्राष्ट्रियस्तरबाट साथ पाइरहेको उनी ठान्छन्।
हुन पनि पछिल्ला दुई वर्षमा आदित्यले अन्तर्राष्ट्रियस्तरमा तीन अवार्ड प्राप्त गरिसकेका छन्। सन् २०२४ मा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले उनलाई उदाउँदो नेताको अवार्ड प्रदान गरेको छ। एसिया प्रशान्त क्षेत्रका ३५ देशका सामाजिक संस्थाहरुको सञ्जाल बैंककस्थित एपीसीओएमले उनलाई हिरो अवार्ड अन सोसल जस्टिसबाट पुरस्कृत गरेको छ। यस्तै उनको पहलकदमीको सम्मानस्वरुप रिह्याब्लिटेसन इन्टरनेसनल (आरआई) ले पनि आरआई कन्टिनेन्टल अवार्डबाट सम्मान गरेको छ।
आदित्य कुनै पनि राजनीतिक पार्टीमा लागेका छैनन् र लाग्न रुचाउँदैनन् पनि। उनी भन्छन्, ‘म स्वतन्त्र हो, आफ्नो हिसाबले हिँड्छु। आफ्नै पौरखमा बाँच्छु र अरूलाई पनि बाँच्न सकेको मद्दत गर्छु।’
Shares

प्रतिक्रिया