मन्त्रिपरिषद्को आजको बैठकले नेपाल प्रहरीमा १९ डीआईजी रहने गरी १५ डीआईजी बढुवा र प्रहरी समायोजनाको बाटो खोलेको छ
सरकारले २६ जना डीआईजीको दरबन्दीबाट सात जना कटौती गर्ने भएको छ।
नेपाल प्रहरीमा १९ जना डीआईजी रहने गरी संगठन व्यवस्थापन नियमावली सोमबारको मन्त्रिपरिषद् बैठकमा पेश गरिएको थियो, जसलाई मन्त्रीपरिषद बैठकले स्वीकृति दिएको एक मन्त्रीले नेपालखबरलाई बताए।
गृह मन्त्रालय र प्रहरी महानिरीक्षकबीच डीआईजीको २२ जना रिक्त कोटालाई १५ मा झार्ने सहमती भइसकेको छ। चार जना डीआईजी अहिले छँदैछन्। त्यसो गर्दा डीआईजीको जम्मा संख्या १९ हुनेछ।
यसअघि गृहले १० जना दरबन्दी कटौती गर्ने प्रस्ताव गर्दा प्रहरीमा असन्तुष्टी बढेपछि गृहमन्त्रीले प्रहरी महानिरीक्षकसँग थप छलफल गरेर टुंगो लगाएका हुन्। गृहसचिव महेश्वर न्यौपाने र आइजीपी ठाकुर ज्ञवालीबीच दरबन्दीकै विषयमा मतान्तर बढेपछि गृहमन्त्री रामबहादुर थापाले थप सक्रियता देखाएका थिए।
मन्त्री थापाको सक्रियतामै दरबन्दीमा सहमती जुटेको र पछिल्लो निर्णयमा आईजी ज्ञवाली समेत सन्तुष्ट रहेको गृह स्रोतको भनाइ छ। ७ जनाको दरबन्दी कटौती गर्ने सहमती भएपछि बढुवा प्रक्रिया पनि अगाडि बढ्ने भएको छ।
गृहका एक जना उच्च अधिकारीले भने, ‘गृहले सुरुमा १० जना डीआईजी कटौतीको प्रस्ताव गरेको थियो, अब ७ जना मात्रै दरबन्दी कटौतिमा सहमति भयो, आज भोलि नै बढुवा सिफारिस हुन्छ।’
सोमबारको मन्त्रिपरिषदले बाटो खोलिदिए लगत्तै रिक्त डीआईजीमा सिफारिस गर्ने तयारी छ। प्राविधिक बाहेक नेपाल प्रहरीमा २२ डीआईजी रिक्त थिए। तर त्यसलाई १५ मा घटाएपछि १५ डीआईजी सिफारिस हुनेछन्।
हाल नेपाल प्रहरीमा ४ जना मात्रै डीआईजी छन्– निरज शाही, प्रधुम्न कार्की, सूर्य उपाध्याय र विश्वराज पोख्रेल। पोख्रेल गत वर्ष डीआईजीमा बढुवा भएका थिए। उपाध्याय आईजीकै समकालीन हुन् भने शाही र कार्की एआईजी शैलेस थापा र हरि पालका समकालीन हुन्।
आगामी असार २५ गते आईजी अनिवार्य अवकासमा जाँदा, थापा र पाल मध्ये एक जना आईजी हुनेछन्। रिक्त हुने दुई एआईजीमा शाही र कार्कीको संभावना छ। त्यसपछिको आईजी अहिले बढुवा हुने डीआईजीबाटै बन्ने संभावना बलियो छ।
डीआईजीका लागि २०७४ साउन १९ गते एसएसपीमा बढुवा भएका १७ जना प्रमुख दाबेदार छन्। यी बाहेक २०४९ चैतमा सेवा प्रवेश गरेर २०७३ जेठ ३ गते एसएसपीमा बढुवा भएका १७ एसएसपी मध्ये केहीको संभावना छ।

प्रतिक्रिया