रोल्पामा तेह्रौँ दिनको पुण्य तिथिको प्रसाद खाएका ११० जना भन्दा धेरै बिरामी परेका छन्।
रोल्पा नगरपालिका–३, चौरपानी निवासी तिलकप्रसाद रोक्काको घरमा प्रसाद खानेहरू बिरामी परेका जिल्ला प्रहरी कार्यालय, रोल्पाका प्रमुख डीएसपी वीरेन्द्र विश्वकर्माले जानकारी दिए।
‘शनिबार तिलकप्रसादका बुवाको तेह्रौँ दिनको पुण्य तिथि रहेछ,’ डीएसपी विश्वकर्माले नेपालखबरसँग भने, ‘प्रसाद खाने गाउँभरिका मान्छे बिरामी परेका छन्।’
चिकित्सकले ‘फुड प्वाइजन’को कारण उनीहरू बिरामी परेको बताएका छन्। रोक्काको घरमा उनीहरूले दालभात, पुरी, अचारसहितको खाना खााएका थिए।
बिरामीहरूमा ज्वरो आउने, लगातार बान्ता र पखाला हुने, टाउको दुख्नेजस्ता समस्या देखिएका छन्।
‘अधिकांश बिरामी उपचारपछि डिस्चार्ज भएका छन्। आठजनाको भने अहिले पनि जिल्ला अस्पतालमा उपचार जारी छ,’ डीएसपी विश्वकर्माले भने, ‘उपचाररत बिरामीमध्ये चार जनाको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन्।’
१३ औँ दिनको पुण्य तिथिमा रोक्काका झण्डै १५० जनाले प्रसाद खाएका थिए। अचार खानेहरू बढी बिरामी परेका छन्।
Shares

प्रतिक्रिया