समाज


‘कोसी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउनुहोला’

‘कोसी प्रदेशमा अति भारी वर्षा, सतर्कता अपनाउनुहोला’

फाइल तस्बिर


नेपालखबर
जेठ १७, २०८२ शनिबार ६:४१, काठमाडौँ

मनसुन प्रवेश गरेपछि कोसी प्रदेशमा भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

कोसी प्रदेशमा बिहीबार रातिदेखि मनसुनी वायु वहन थालेको हो। त्यसयता त्यहाँ वर्षा हुने क्रम ह्वात्तै बढेको छ। 

यसै क्रममा पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारीसम्म वर्षा भएको मौसम महाशाखाले जनाएको छ। 

अहिले शनिबार बिहान कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन, चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ।

महाशाखाले आज बिहान ६:३५ बजे चेतावनी जारी गर्दै भनेको छ, ‘पछिल्लो १२ घण्टामा कोसी प्रदेशका केही स्थानहरूमा धेरै भारीदेखि अति भारी वर्षा भएको छ। पानी पार्ने प्रणाली उत्तरतिर सरिरहेको र थप पानी पर्न सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला।’

यसैबीच बाढी पूर्वानुमान महाशाखाले पनि आज (शनिबार) बिहान ६ बजे छुट्टै सूचना जारी गरी भनेको छ, ‘हाल इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाका धेरै स्थानमा भारी वर्षा भएको छ र थप वर्षा हुने सम्भावना छ। मेची, विरिङ, निन्दा, कन्काई, चिसाङ खोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तहआसपास बाढी आउन सक्छ, दिउँसोसम्म उच्च सतर्कता अपनाऔँ।’

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad