ad ad

समाज


बुटवल कोरोना काण्डः पीडितलाई शिक्षा र रोजगारी सुनिश्चित गर्दा पनि किन उठाइएन शव?

बुटवल कोरोना काण्डः पीडितलाई शिक्षा र रोजगारी सुनिश्चित गर्दा पनि किन उठाइएन शव?

नेपालखबर
चैत २४, २०७६ सोमबार ५:१८,

रूपन्देहीको बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएका एक युवकको शव आज (सोमबार) ९ दिन भइसक्दा पनि परिवारले जिम्मा लिएको छैन।

अस्पतालको लापर्बाहीले मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले भनेजति क्षतिपूर्ति नदिएसम्म शव नउठाउने अडान लिइरहेका कारण पाल्पाको रिब्दीकोट-५ का स्थायी बासिन्दा बाबुराम थापाको शव लुम्बिनी प्रादेशिक अस्पतालमै रहेको हो।

दुबईमा ट्याक्सी चालक ३४ वर्षीय थापा यही चैत ६ गते नेपाल आएका थिए। ज्वरो, खोकीका लक्षण देखिएपछि उनी हाल उनको परिवार बसिरहेको जिल्ला रूपन्देहीस्थित बुटवल कोरोना विशेष अस्पतालमा चैत १३ गते भर्ना भएका थिए।

तर उपचारकै क्रममा चैत १६ गते उनको मृत्यु भयो र त्यसको भोलिपल्ट मात्रै उनको स्वाब परीक्षणको नतिजा आयो। काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको पहिलो नमुना परीक्षणले थापामा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि गर्‍याे। तर पुनः दाहाेर्‍याएर नमुना परीक्षण गर्न पाइएन, किनकि बिरामीको मृत्यु भइसकेको थियो।

यसैकारण नतिजा नेगेटिभ आए पनि उनमा जुन खालका जटिल लक्षण देखिएका थिए, त्यस आधारमा उनलाई कोरोनाको संक्रमण थिएन भनेर ग्यारेन्टी गर्न नसकिने बुटवल कोरोना विशेष अस्पतालका चिकित्सकले बताइरहेका छन्। यसको अर्थ उनको मृत्यु कोरोनाकै कारण भएको हुन सक्छ भन्ने आशंका हो।

याे पनि : बुटवल कोरोना अस्पतालका डाक्टर भन्छन्ः रिपोर्ट नेगेटिभ आए पनि मृतकमा कोरोना थिएन भन्नेमा शंका छ

किनकि कतिपय अवस्थामा कोरोनाको संक्रमण भए पनि एकैपटकको परीक्षणले सही नतिजा दिन नसक्ने विज्ञहरू बताउँछन्।

यस घटनालाई नजिकबाट नियालिरहेका एक जानकारका अनुसार यही शंकाका कारण कोरोना सर्ने डरले मृतकका आफन्तले शव उठाउन आलटाल गरिरहेका हुन्।

‘मैले भित्री रूपमा बुझ्दा मृतकका आफन्त क्षतिपूर्तिका लागि भन्दा पनि लास छुन डराइरहेका कारण असहमति जनाइरहेका छन्,’ नाम नबताउने सर्तमा ती जानकारले भने, ‘यसैकारण उनीहरू अनेक अत्तो थापिरहेका छन्।’

पुर्ख्याैली घर पाल्पा नै भएका तथा यस घटनालाई सहमतिमा टुंग्याउन क्रियाशील पूर्वसभासद विनोद पहाडीका अनुसार शव उठाउने विषयमा आज सोमबार सहमति हुने सम्भावना छ।

‘सम्भवतः आज हामी सहमतिमा पुर्‍याउँछौं,’ अहिले बुटवलमै रहेका पूर्वसभासद पहाडीले नेपालखबरसँग भने, ‘पीडितलाई न्याय हुने किसिमले निर्णय गर्नेछौं।’

उनका अनुसार मृतककी श्रीमतीलाई स्थानीय सरकार (रूपन्देहीको सैनामैना नगरपालिका, हाल थापाकाे परिवार यही नगरपालिकाकाे वडा नम्बर ४ मा बस्छ) ले उनको योग्यताबमोजिम स्थायी रोजगारी दिने, उनका साना दुई छोरालाई प्रदेश सरकारले उच्च शिक्षासम्म पढाइदिने तथा उनको स्थायी ठेगाना पाल्पाको रिब्दीकोट गाउँपालिकाले किरिया खर्च स्वरूप आर्थिक सहायता दिने भइसकेका छन्।

‘यति व्यवस्था भइसक्दा पनि उहाँहरूले किन शव बुझ्न अस्वीकार गरिरहनुभएको छ, हामी अचम्मित छौं,’ पूर्व पत्रकारसमेत रहेका पहाडीले भने, ‘उहाँहरूले २५ लाख रुपैयाँ क्षतिपूर्ति नपाएसम्म शव नबुझ्ने अडान लिइरहनुभएको छ, जुन राज्यका तर्फबाट सम्भव देखिन्न।’

सोमबार बिहान नेपालखबरले टेलिफोन सम्पर्क गर्दा मृतक थापाकी पत्नी रीता थापाले २५ लाख क्षतिपूर्ति नदिनएसम्म शव नबुझ्ने अडान व्यक्त गरिन्। 

‘अस्पतालको लापर्बाहीले मेरा पतिको मृत्यु भएको हो,’ उनले भनिन्, ‘त्यसबापत २५ लाख रुपैयाँ नदिएसम्म सहमति गर्दिनँ।’

याे पनि : बुटवलमा बितेका युवककी पत्नीको प्रश्नः कोरोनाले होइन भने मृत्युकाे कारण के हाे त?

पूर्वसभासद पहाडीका अनुसार हिजो आइतबार सबै सहमित भइसकेको थियो। शव उठाउन पाल्पाबाट थापाका दाजुभाइ आइसकेका थिए। तर माइती पक्ष अर्थात् रीता थापाकी दाइ कमल टण्डन आएर हामी त लास उठाउन सक्दैनौं भनेपछि कुरा भाँडिएको हो।

‘हाल पीडित परिवार बसिरहेको रूपन्देहीको सैनामैना नगरपालिकाले मृतककी श्रीमती रीता थापालाई उनको योग्यताअनुसारको स्थायी रोजगारी दिने, प्रदेश सरकारले उनका दुवै छोरालाई उच्च शिक्षासम्म अध्ययन गराइदिने अनि उता स्थायी ठेगाना पाल्पाको रिब्दीकोट गाउँपालिकाले पनि किरिया खर्चबमोजिम आर्थिक सहायता गर्ने सहमति भइसकेको हो,’ उनले भने, ‘तर एउटा यस्तो समूह आइपुग्यो, जसले २५ लाख क्षतिपूर्ति दिए मात्रै सहमति हुने भनेर भड्कायो।’

‘अहिले यो संवेदनशील अवस्थामा घटनालाई उचाल्ने, चिकित्सकको मनोबल गिराउने काम गरेर परिस्थितिलाई प्रतिकूल बनाउन हुँदैन,’ उनले भने, ‘त्यसैले सकेसम्म यसलाई सहमतिमा पुर्‍याउन हामी प्रयासरत छौं।’

पहाडीका अनुसार रीतालाई सम्झाउन आज एक महिला समूहले सहजीकरण गर्दै छ। ‘आज सहमति हुन्छ भन्ने विश्वास छ,’ उनले भने।

पाल्पाली समाज रूपन्देहीले यो घटनामा सहमति जुटाउन सहजीकरण गरिरहेको समाजका सल्लाहकारसमेत रहेका पहाडीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .