ad ad

समाज


पत्रकारको सुरक्षा र राहत प्याकेज ल्याउन सरकारसँग महासंघको माग

पत्रकारको सुरक्षा र राहत प्याकेज ल्याउन सरकारसँग महासंघको माग

नेपालखबर
चैत २४, २०७६ सोमबार ५:३०,

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले कोरोना भाइरस संक्रमणको उच्च जोखिमको समयमा पनि नियमित काममा खटिएका पत्रकारको सुरक्षा र सञ्चारमाध्यमको नियमितता एवं प्रभावकारिताका लागि आवश्यक राहत राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन्।

आचार्यले सोमबार एक प्रेस वक्तव्य जारी गर्दै अप्ठ्यारो अवस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत दिन सरकारसँग माग गरेका हुन्।

लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका विषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मवल बढाउन पनि अध्यक्ष आचार्यले सरकारसँग माग गरेका छन्।

‘जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेज मै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चारमाध्यमवाट कोरोना सक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गर्दछ,’ वक्तव्यमा भनिएको छ।

‘नेपालमा कोरोना संक्रमणले एउटा चरण पार गरेको छ। ‘लोकल ट्रान्समिसन’को अवस्था नेपालमा पनि देखिएको सरकारले जनाएको छ र अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको छ,’ वक्तल्यमा भनिएको छ, ‘यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गम्भीर र सचेततापूर्वक प्रस्तुत हुन जरुरी छ।’

पत्रकारलाई आफ्नो स्वास्थ्य सुरक्षामा ध्यान दिएर समाचार सम्प्रेषण गर्न आचार्यले आग्रह गरेका छन्।

‘आफ्नो स्वास्थ्य सबैभन्दा पहिलो र ठूलो विषय हो। आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै सञ्चारमाध्यमको काधमा छ,’ वक्तव्यमा भनिएको छ, ‘यो महत्वपूर्ण दायित्व पूरा गर्न सिंगो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .