बुटवलका सुजन कोइराला सरकारको सिफारिसमा राष्ट्रपतिले २०७८ असोज ३ गते माफी दिए कैदमुक्त भएका थिए। पाल्पाको तानसेन नगरपालिका ७ स्थाई घर भएका सुजनलाई आफ्नै दाजु सुधीरको हत्या अभियोगमा सर्वोच्च अदालतले १६ वर्ष कैदको फैसला गरेको थियो।
२०६९ वैशाख २७ गतेबाट उनी कैद भुक्तान गरिरहेका थिए। तर सुजनको असल चालचलन भएको भन्दै २०७८ असोज २ गते राष्ट्रपति कार्यालयमा अन्य कैदीसँगै बाँकी कैद मिनाहाका लागि फाइल पुग्यो। सुजनले राष्ट्रपतिबाट संविधान दिवसका अवसरमा आममाफी पाए।
त्यतिबेला राष्ट्रपतिबाटै असल चाल चलन भनिएका व्यक्ति आफ्नै पूर्वपत्नी र उनका दुई छोरीको हत्या अभियोगमा बुधबार पुनः पक्राउ परेका छन्। उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रुपन्देहीले पहिलो पटक ७ दिनको म्याद दिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए।
३५ वर्षका सुजनले बुधबार बिहान ४ बजेतिर पूर्वपत्नी ३४ वर्षकी दीपा बस्याल र उनका छोरीहरू ७ वर्षकी स्नेहा र ४ वर्षकी हिमानीको हत्या गरेको आरोप छ।
प्रहरीका अनुसार सुजनले दीपालाई मंगलबार बस्दै आफ्नो घरमा बोलाएका थिए। सुजन जेलबाट छुटेपछि दीपासँग पुनः नजिकिएका थिए।
सुजन जेल परेपछि डिभोर्स गरेर अर्को विवाह गरेकी दीपाका हालका श्रीमान रोजगारीका लागि दुवईमा छन्। अहिलेका दुवै छोरी दोस्रो पति तर्फकै हुन्।
सुजनले प्रहरीसँगको प्रारम्भिक सोधपुछमा राति झगडा भएको र हत्या गरेको बयान दिएका छन्। तर के विषयमा झगडा भयो भन्ने खुलाएका छन्।
तर सुजन जेलबाट छुटेपछि दीपासँग नजिकिएको खुलेको छ।
सुजनले हत्या गरेका दीपा र उनका दुई छोरीहरूको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय बुटवलले थप अनुसन्धान गरिरहेको डीएसपी कार्कीले बताए।
Shares

प्रतिक्रिया