समाज


भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन

भोलिको प्रदर्शनमा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन

नेपालखबर
जेठ १४, २०८२ बुधबार ११:३७, काठमाडौँ

भाेलि (बिहीबार) काठमाडौँमा हुने दुई समूहको प्रदर्शनका क्रममा सुरक्षा व्यवस्था मिलाउन उपत्यकाका सबै प्रहरी इन्चार्जलाई निर्देशन दिइएको छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङले काठमाडौँ उपत्यका भित्रको शान्ती सुरक्षा सुदृढ बनाउन मातहतका प्रहरी इन्चार्जलाई निर्देशन दिएका हुन्। 

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा बुधबार बिहान उपत्यका प्रहरी कार्यालय मातहतका सबै कार्यालयका प्रमुखलाई बोलाइएको थियो।
कार्यक्रममा काठमाडौँ प्रहरी प्रमुख, ललितपुर प्रहरी प्रमुख र भक्तपुर प्रहरी प्रमुख पनि सहभागी थिए। 

यस्तै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख, विमानस्थल सुरक्षा कार्यालयका प्रमुख र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख पनि छलफलमा सहभागी थिए। 

कार्यक्रममा एआईजी तामाङले काठमाडौँ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्र पङ्त्तिमा खटिने प्रहरी कर्मचारीलाई सामूहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले काम गर्न निर्देशन दिएका छन्। 

साथै बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको ख्याल गर्न पनि तामाङले इन्चार्जहरुलाई भनेका छन्। 

यसअघि चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेको थियो। त्यतिबेला प्रहरीको भूमिकामा प्रश्न उठेको थियो। 

प्रहरीले गलत समयमा बल प्रयोग गरेको र जतिबेला क्षति भयो त्यसलाई रोक्न नसकेको भन्दै आलोचना भएको थियो। जुन घटनालाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले पनि छानविन गरिरहेको छ। 

त्यसको दुई महिनापछि काठमाडौँमा एकसाथ राजावादी पार्टी र समूह तथा गणतन्त्रको पक्षमा एमालेले प्रदर्शन गर्ने भएका छन्। यसअघि जस्तै प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा तयारी बारे छलफल गरेको हो। 

जिल्ला प्रशासन कार्यालयमा पनि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बस्ने तयारी छ। दुई समूहको कार्यक्रम कहाँ हुने भन्ने अझै निश्चित भइसकेको छैन। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad