राजनीति


युवा संघ महाधिवेशन: खगराजसँग इख लिएका महेशले क्षितिजलाई जिताउन नेपथ्यबाट गरेको कसरत

युवा संघ महाधिवेशन: खगराजसँग इख लिएका महेशले क्षितिजलाई जिताउन नेपथ्यबाट गरेको कसरत

वाशुदेव मिश्र
जेठ १३, २०८२ मंगलबार २२:२, पोखरा

२०६६ सालमा लहान, सिरहामा भएको युवा संघ नेपालको आठौँ महाधिवेशनमा महेश बस्नेतले बाजी मारे। एमालेको जनवर्गीय संगठनको अध्यक्ष बन्दा उनी केपी ओली पक्षधरको रूपमा परिचित थिए। 

तत्कालीन संस्थापन अर्थात् झलनाथ खनाल–माधव नेपाल समूहका इन्द्रलाल सापकोटालाई हराउँदै युवा संघको नेतृत्वमा पुगेपछि उनी यति शक्तिशाली बने कि एमालेभित्र उनको बोलवाला नै चल्न थाल्यो। ओलीको साथ पाएका उनले तत्कालीन संस्थापनलाई गलाउने काम पनि गरे। त्यो चुनावमा महेशले ६ सय ९९ र इन्द्रलालले ५ सय ९७ मत प्राप्त गरेका थिए।

विधान अनुसार हरेक तीन वर्षमा युवा संघको महाधिवेशन हुनुपर्थ्यो। तर, बस्नेतले महाधिवेशन गरेनन्। ०७१ सालमा चाहिँ उनले उमेरले ४० कटेको कारण देखाउँदै निरु पाललाई अध्यक्ष तोकेर आफू बाहिरिए। उनी चाहिँ उद्योगमन्त्री बने। 

माधव नेपाल समूहको विरोधका बाबजुद नवौँ महाधिवेशन आयोजना गर्ने भन्दै तत्कालीन महासचिव राजीव पहारीलाई नेतृत्व हस्तान्तरण गरियो। नवौँ महाधिवेशन आयोजक कमिटीका संयोजक पहारीले पनि चुनाव गराउन सकेनन्। त्यसपछि संयोजक र अध्यक्षको रुपमा ९ जनाले युवा संघ हाँके। युवा संघको नेतृत्वमा जो रहे पनि त्यसको ‘लगाम’ चाहिँ महेश बस्नेतकै हातमा रह्यो।

अन्ततः ०७९ सालको चैतमा नेपालगञ्जमा नवौँ महाधिवेशन आयोजना गरियो। सो महाधिवेशन ८ दिनसम्म चल्यो तर नेतृत्व चयन गर्न भने सकेन। एमाले नेतृत्वले युवा संघमा हस्तक्षेप गर्‍यो। सहमतिमा घोषित यृुवा संघको अध्यक्षमा क्षितिज थेवे र महासचिवमा सुमन पुरी छानिए।

१० औँ महाधिवेशन चाहिँ विधान अनुसार ३ वर्षभित्रै पोखरामा आयोजना गरियो। एमालेका वर्तमान अध्यक्ष तथा युवा संघका संस्थापक केपी शर्मा ओली यो महाधिवेशनमा पनि चुनावी प्रतिस्पर्धा चाहँदैनथे। जेठ ९ गते भएको उद्घाटन सत्रमा उनले स्पप्ट रुपमा सहमतिमै नेतृत्व चयनको लागि निर्देशन दिए। तर, माहौल यस्तो बन्यो कि, महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न सकेन। 

महेश बस्नेत महाधिवेशन अघि नै पोखरा मुकाममा थिए र क्षितिजलाई नै अध्यक्षमा दोहोर्‍याउने, कथंकदाचित नभए उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा ल्याउन चाहन्थे। तर, महासचिव सुमन पुरी त्यसका लागि तयार भएनन्। उनले प्रतिस्पर्धामा जाने निर्णय गरे। त्यो निर्णयको पछाडि एमाले महासचिव शंकर पोखरेलसहित पोखराका रैथाने स्थायी समिति सदस्य खगराज अधिकारीको हात थियो।

खगराज र महेश  बस्नेत दुवै सुरुदेखि नै एमालेमा केपी ओली निकट नेताको रुपमा रहँदै आएका छन्। तर, उनीहरुबीचको सम्बन्ध राम्रो छैन। युवा संघको महाधिवेशन हुन नसक्दा सिर्जना भएको विवादकै बीचमा २०७८ फागुनमा महेश बस्नेतले सामाजिक सञ्जाज फेसबुकमार्फत् खगराज अधिकारीविरुद्धमा ‘चर्को असन्तुष्टि’ जाहेर गर्दै संगठन विभाग प्रमुखबाट राजीनामा मागेका थिए। 

युवा फाँट इन्चार्ज रहेका बस्नेतले बनाएको ४०१ जनाको महाधिवेशन आयोजक समिति भंग गरिदिएपछि उनी संगठन विभाग प्रमुख खगराजविरुद्ध उत्रिएका थिए। खगराजलाई संवोधन गरी लेखिएको सात बुँदे स्टाटसमा उनले भनेका थिए,‘छोटो समयको अनुभवबाट भन्न सकिन्छ,तपाईं संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन। तसर्थ क खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु।’

खगराज र महेश  दुवै इख साँध्न माहिर छन्। युवा संघको यो महाधिवेशनलाई खगराजले महेशको ‘तेजोबध’ गर्ने अवसरको रुपमा लिए। उनी देखिएनन् तर उनले युवा संघको लगाम महेशको हातबाट फुत्काउन जोडबल लगाए। 

अध्यक्ष ओली नै क्षितिजलाई दोहोर्‍याउने पक्षमा हुँदा पनि सहमतिको वातावरण बनेन। महेश पनि कम्ता कहाँ थिए र? उनले देशभरबाट आएका १७ सय ६४ जना प्रतिनिधिलाई व्यक्तिगत रुपमै भेटे। अन्ततः चुनाव हुने माहौल बन्यो। चुनावमा महेशले रुचाएका थेवे १ सय ८८ मतान्तरले विजयी बन्दा उनको पक्षबाट चुनाव लगेका सवैजसो उम्मेदवार विजयी बने।

थेवे बोलक्कड र लोकप्रिय छन्। चुनावमार्फत् उनले आफूलाई प्रमाणित पनि गरेका छन्। उनी एमालेको नीति र केपी ओलीको निर्देशनभन्दा बाहिर हुने छैनन्। आफूलाई चुनावमा सघाउने महेश बस्नेतको सल्लाह र सुझाव अनुसार अगाडि बढ्नु त छँदैछ! युवाहरुलाई स्वरोजगार बनाउने र थप रोजगारी सिर्जना गर्ने उनको नारा छ।

जीतपछि उनले ३ वर्षमा ३ लाख उद्यमी जन्माएर २० लाख रोजगार प्रदान गर्ने उद्घोष गरेका छन्।  युवाहरू अपडेट भएर दक्ष नभएर अघि बढ्न नसकेको अवस्था रहेको र साक्षरता प्रदान गर्दै जनताको बीचमा जाने उनको भनाइ छ।  

राजावादीको विरुद्धमा सांस्कृतिक कार्यक्रम
एमाले अध्यक्ष केपी ओलीले राजावादीहरूले जेठ १५ गते काठमाडौँमा आयोजना गर्ने विरोध सभाको प्रतिकार गर्न कार्यकर्तालाई निर्देशन दिइसकेका छन्। युवा संघ एमालेको लडाकु मोर्चा हो। क्षितिजका सामु अब पहिलो काम नै अध्यक्षको निर्देशन पालना गर्नु रहेको छ। युुवा संघले १५ गते के गर्छ त? साँस्कृतिक कार्यक्रम गर्ने उद्घोष गरेको छ।

जीतपछि उनले सञ्चारकर्मीसँग भने,‘राजावादीको प्रदर्शनको हामीले विरोध गर्नै पर्दैन। युवा संघको युथ फोर्सले पनि विरोध गर्‍यो भने कसैले थेग्न सक्दैन। यो हाम्रो राजनीतिक संस्कार हैन। हामी गणतन्त्र दिवसको उपलक्ष्यमा नेपालको जातजातिको संस्कृतिलाई एक्सपोज गर्छौँ।’ 

उनले थपे,‘यसलाई अझ स्पष्ट रुपले भन्ने हो भने नेपाल समुदाय हुनुहुन्छ, काठमाडौँमा। नेवारको धिमे बाजा छ। एक हजार धिमे बाजा एकैसाथ निस्केला। तामाङ समुदायको उपस्थिति छ, बागमतीमा। एक हजार डब्फुसहित निस्क्यो भने त्यसले अर्को सन्देश होला। देशमा रहेका विभिन्न जनजातिका बाजाहरुसहित विभन्नि ठाउँबाट ५/१० हजार युवाहरू नाच्दै गाउँदै निस्के भने त्योभन्दा राम्रो संस्कार के हुन्छ? अन्तर्राष्ट्रियस्तरमै चर्चा पाउन सकिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad