समाज


सगरमाथा फेदीमा ठमेल बिर्साउने गन्जागोल, आधारशिविर नै सार्नेबारे छलफल (भिडिओ)

सगरमाथा फेदीमा ठमेल बिर्साउने गन्जागोल, आधारशिविर नै सार्नेबारे छलफल (भिडिओ)

सगरमाथा आधार शिविर। तस्बिर: कामिरिता शेर्पा/फेसबुक


आयुषा ढकाल
जेठ १३, २०८२ मंगलबार १६:५, काठमाडौँ

हिउँमाथि खचाखच टाँगिएका पालहरू। यो टेन्टको सहरमा यतिबेला काठमाडौँको ठमेल बिर्साउने खालको भिडभाड र चहलपहल छ। तर, यो ठाउँ कुनै हाटबजार होइन, विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर हो। जुन समुद्र सतहबाट ५ हजार ३६४ मिटर उचाइमा छ।

नेपालभरिका हिमालमध्ये सबैभन्दा बढी मानवीय गतिविधि हुने ठाउँ हो सगरमाथा आधारशिविर। सगरमाथा चढ्नुअघि आरोहीहरूले वातावरणमा घुलमिल हुन, हिमाल चढ्नको निम्ति शरीरलाई तयार पार्न र आरोहणका निम्ति उचित मौसमको प्रतीक्षा गर्न महिनौँसम्म यहीँ बस्नुपर्छ। आरोहण सकेकाहरू पनि फर्केर सुस्ताउने ठाउँ यही हो।

यहाँ आरोही मात्र हुँदैनन्। तिनका पथप्रदर्शक, भरिया तथा अन्य सहयोगी पनि हुन्छन्। पदयात्रा र घुमघामका लागि पुगेका अन्य यात्रीहरू हुन्छन्। तिनको सेवा तथा रेखदेखमा खटिने सरकारी अधिकारी र विभिन्न व्यवसायका प्रतिनिधिहरू हुन्छन्।

अहिले वसन्त ऋतुको आरोहण चलिरहेको छ।

भिडिओ

यस वर्षको वसन्त ऋतुमा ५७ मुलुकका ४७ वटा टोलीमा ४६८ आरोहीले सगरमाथा चढ्न सरकारबाट अनुमति लिएका छन्। उनीहरू सबै आधार शिविर पुगिसकेर केहीले आरोहण नै सम्पन्न गरिसकेका छन् भने केही अझै चढ्ने क्रममा छन्।

पर्वतारोहणसम्बद्ध व्यवसायीहरूका अनुसार, सामान्यतः एकजना आरोहीसँग एकजना गाइड आधार शिविरभन्दा माथि जान्छ। तर कसैले भने आफ्नो स्वास्थ्‍य अवस्थालाई हेरेर दुई वा त्यसभन्दा पनि बढी गाइड लैजाने गर्छन्। आधार शिविरसम्म भने सामान्यतः ५ जनाको समूहबराबर १५ जना कामदार पुग्छन्।

यस हिसाबले हेर्दा पनि ४६८ आरोही र तिनका सहयोगी गरी २ हजार हाराहारीले यसपालि आधार शिविर कुल्चेका छन्।

लामो समयसम्म बस्नुपर्ने उनीहरूले त्यहाँ हिटर बाल्छन्। ग्यास चलाउँछन्। ओभनमा खानेकुरा तताउँछन्। त्यहाँबाट निस्कने फोहोर फाल्छन्। बिरामी वा अरू कुनै जरूरी पर्दा हेलिकप्टर उडाउँछन्।

‘पर्वतारोहण साहसिक पर्यटनको एउटा महत्त्वपूर्ण हिस्सा हो,’ हालै आधार शिविरको अनुगमनबाट फर्किएका एक सरकारी अधिकारी भन्छन्, ‘यही कारण कीर्तिमानहरू बन्छन्, तोडिन्छन्। तर, यहाँ कीर्तिमान र साहसिक कार्यभन्दा सुविधा र विलासिताको प्रतिस्पर्धा छ। पाँचतारे होटलको सुविधा दिने र लिने होडबाजी छ।’

ती अधिकारीका अनुसार हिमालको वातावरण बिगार्ने र हिउँमा क्षति पुर्‍याउने खालका मानव गतिविधि नियन्त्रणभन्दा बाहिर पुगिसकेका छन्।

केही दिनअघि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेको नेतृत्वमा अनुगमन गर्न उच्चस्तरीय सरकारी टोली पुगेको थियो, जसमा पर्यटन विभागका महानिर्देशक डा नारायणप्रसाद रेग्मी, निर्देशक हिमाल गौतमलगायत सामेल थिए। उक्त क्षेत्रको अवलोकन र अध्ययन भ्रमणपछि टोलीले निष्कर्ष निकालेको छ- यसरी चल्दैन अब।

आधार शिविरमा भइरहेका गतिविधि र मानव चाप नियन्त्रण गर्न नसके त्यसबाट सगरमाथामै क्षति पुग्न सक्ने सरकारी टोलीको बुझाइ छ। बरू यस्तो चाप घटाउन र सगरमाथा जोगाउनकै लागि भए पनि आधार शिविर नै सार्नुपर्ने हो कि भन्नेसम्मको छलफल विभागले सुरू गरेको छ।

पर्यटनमन्त्री बद्री पाण्डे नेतृत्वको टोली समगरमाथा बेसक्याम्पमा

आधारशिविरको बदलिँदो स्वरूप
आफ्नो साहसलाई प्रमाणित गर्न जाने स्थान हो सगरमाथा। त्यसको आधारशिविरमा आजकाल धेरै अव्यवस्थित क्रियाकलापहरू भएका छन्। कतिपय ट्राभल एजेन्सीले आधारशिविरमा आवश्यक नै नपर्ने गतिविधि गरिरहेका छन्।

हिटर, ओभन चलाउनेजस्ता क्रियाकलापले हिमालको हावापानीमा असर गर्ने पर्वतारोहण संघका महासचिव मोहन लम्सालले बताए।

‘धेरै मानिसहरू सगरमाथा आरोहण गर्न जाँदा हिमालको वातावरण बिग्रँदै गएको छ। त्यसैले पाँच वर्षमा एक वर्ष सगरमाथालाई आराम गर्न दिऔँ भनेर हामीले प्रस्ताव राखेका छौँ,’ लम्सालले भने।

पर्वतारोहीको संख्या कम गर्नकै निम्ति नेपाल सरकारले रोयल्टी ११ हजारबाट बढाएर १५ हजार अमेरिकी डलर पुर्‍याएको छ।

एसियाली पर्वतारोहण महासंघका अध्‍यक्ष तथा विश्व पर्वतारोहण महासंघका विज्ञ आङ छिरिङ शेर्पा भने आधारशिविरमा सुविधा नपाए आरोही घट्ने तर्क गर्छन्।

‘सगरमाथा बेसक्याम्पमा धेरै सुविधा दिइएन भने पर्यटकहरू उत्तरतर्फबाट सगरमाथा आरोहण गर्छन्। जसले गर्दा नेपालमा सगरमाथा आरोहीको संख्‍या घट्न सक्छ,’ उनले भने।

विसं २०८१ भन्दा अगाडिसम्म सगरमाथाको आधार शिविरभन्दा माथिल्लो क्षेत्रमा पनि हेलिकप्टरको प्रयोग गरिन्थ्‍यो। आधार शिविरमा पनि कुनै नियन्त्रण थिएन। जसले गर्दा सो स्थानमा हिउँहरू धसिने र हिउँमा हलचल हुने गरेको थियो। त्यसैले हाल सरकारले पर्वतारोहीहरूको उद्धारको लागि मात्र हेलिकप्टरको प्रयोग गर्न भनेको छ। तर पनि यसको पालना भएको छैन।

सगरमाथाजस्तो स्वच्‍छ हावापानी भएको स्थानमा कतिपय आरोहीले दिसापिसाबलाई समेत राम्रोसँग व्यवस्थापन नगर्ने गरेको पाइन्छ।

यी सबै क्रियाकलापको असर आधारशिविरको वातावरणमै परेको देखिन्छ। शेर्पाका अनुसार पहिले आधारशिविर पुग्नुअगाडि आइस पिनेकल (बरफको पहाड) घुमेर जानुपर्थ्यो। तर अहिले त्यो सबै पग्लिएको छ। पहिले माथि हिमालबाट बगेर आउने हिमनदी लोप्चेभन्दा तलसम्म थियो। तर अहिले हिमनदी आधार शिविरभन्दा माथि मात्रै देख्न सकिन्छ।

लम्सालले पहिले जाँदा र २०२१ मा जाँदा आफूले आधारशिविरमा धेरै परिवर्तन पाएको बताए।

‘पहिले गोरकसेपमा पनि टेन्ट टाँगेर क्याम्पेन गर्ने गरिएको थियो। तर हाल त्यो डाँडा नै छैन। अहिले जलवायु परिवर्तनका कारण भएको तापक्रम वृद्धिले धसिँदै गएर त्यो डाँडा नै नरहेको स्थिति छ। कतिपय लज पनि हाल संकटमा छन्। बुद्ध लज भएको भन्दा अलिक परतिर ठूलो चौर थियो। हाल हिउँ पग्लिएर बुद्ध लज भएको नजिकै त्यो आइरहेको छ,’ उनले भने।

पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार पर्वतारोहीहरूको संख्या बढ्दा अहिलेको स्थानमा आधारशिविरमा दिगो रूपमा क्याम्पेन गर्न असहज हुने गरेको छ।

पहिले एउटा भर्‍याङबाटै पार हुने खुम्बु आइसफलको दरारमा अहिले ५ भर्‍याङ लगाइएका छन्। तस्बिर सौजन्य: मोहन लम्साल

आधार शिविर सार्ने छलफल
पर्वतारोहीको संख्या वृद्धिका कारण भएको अव्यवस्थित आधार शिविर सार्ने विषयमा छलफल पनि सुरु भएको छ। स्थानान्तरण गर्नुपर्ने हो कि भन्‍ने कुरा आइरहेको गौतमले बताए।

तर, हाल यो कुरा अध्ययनकै चरणमा रहेको उनको भनाइ छ।

‘यस कुरामा पुनर्विचार गर्नुपर्छ कि, त्योभन्दा अझ राम्रो स्थान खोज्नुपर्छ कि भन्‍ने विषयमा विभिन्‍न तहमा छलफलहरू भएका छन्। त्यो कोणबाट छलफल भएको छ तर सार्नैपर्छ या कता सर्छ भन्‍ने कुराको भने निर्णय भइसकेको छैन,’ उनले भने।

आधार शिविर सार्दाखेरी अहिले भएको स्थानबाट माथि सार्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन्। किनकि खुम्बु आइसफलको दरार अहिले बढ्दै गएको छ। पहिले एउटा भर्‍याङबाटै पार हुने सो दरारमा अहिले पाँचवटा भर्‍याङ लगाइने गरिएको छ।

सुरुमा सगरमाथा आरोहणको मार्ग नै फरक थियो। तेन्जिङ नोर्गे शेर्पाले सो समयमा नुप्चेको फेदी हुँदै सगरमाथा आरोहण गरेका थिए। त्यो बाटोबाट आइसफल पार गर्नु पर्दैन। पछि त्यो बाटो लामो भएकोले सिधै आइसफलको मार्गबाट आरोहण गर्न थालिएको हो

हाल नुप्चेको फेदीको सो बाटोलाई वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न पुनर्निर्माण गरिँदैछ। यो बाटोमा रक ओसन पर्ने भएकोले त्यहाँ स्थायी रुपमा डोरी राखिँदैछ।

सो मार्ग सहज भयो भने भविष्यमा सगरमाथा आरोहण सोही बाटोबाट हुने शेर्पा बताउँछन्।

'यदि तापक्रम यसरी नै वृद्धि हुँदै गएर आइसफलमा परेको चिरा बढ्दै गयो र वैकल्पिक मार्ग पनि सुरक्षित रह्यो भने चाहिँ नुप्चेको फेदीमा पनि बेसक्याम्प सर्न सक्ने सम्भावना छ,' शेर्पा भन्छन्, 'अहिले पनि सगरमाथा बेसक्याम्प धेरै भिडभाडपूर्ण भएको समयमा नुप्चेको फेदीमा पनि बेसक्याम्प हालेर बस्ने गरिएको छ।'

सगरमाथा आधार शिविर। तस्बिर सौजन्य: हिमाल गौतम

सफाइका लागि भएका पहल
सगरमाथा आधार शिविरमा गर्न नहुने गतिविधि नियन्त्रणका लागि हालसालै पर्यटन विभागले पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिको गठन गरेको छ। हाल सो स्थानमा दुईवटा अस्थायी फिल्ड अफिसको पनि स्थापना गरेर चारजनाले सहजकर्ताको रूपमा काम गरिरहेका छन्।

फोहोर व्यवस्थापनका लागि पनि नियमहरू बनेका छन्। त्यसैले आजकाल फोहोर जथाभावी फाल्न कम भएको अधिकारीहरूको भनाइ छ।

दुर्घटनाका कारण टेन्टहरू च्यातिएर, पुरिएर भएका फोहोरहरू र पहिलेका फोहोरहरू सफा गर्न विभिन्न संस्थाहरूले पहल गरिरहेका छन्। हाल सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) र नेपाली सेनाले फोहोर संकलनको काम गरिररहेको छ। सोही स्थानमा नष्‍ट गर्न सकिने फोहोरलाई पालिकामै नष्ट गरिन्छ। बाँकीलाई काठमाडौँमा ल्याएर पुनः प्रयोगका लागि तयार गराइन्छ। ब्याट्री तथा ग्यासका सिलिन्डरहरू भने विदेशै पठाउने गरेको विभागका निर्देशक गौतम बताउँछन्।

उनका अनुसार सगरमाथा आरोहण गर्नुपूर्व नै केही रकम धरौटी राखेर आफूले यति सामान लिएर गएको र फर्केर आउँदा सबै फोहोर ल्याएर सम्बन्धित ठाउँमा बुझाउने र डिस्पोज गर्ने भनेर कार्य सम्झौता गरिएको हुन्छ। फर्केर आउँदा फोहोर बुझाएपछि मात्र उक्त रकम फिर्ता पाउने नियम रहेको गौतमले बताए।

सगरमाथाको फोहोरबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा रिपोर्ट प्रकाशित हुन थालेपछि १९९६ मा पहिलोचोटि नेपाल पर्वतारोहण संघको अगुवाइमा सगरमाथा सफाइ गरिएको थियो। त्यसपछि पनि यस्ता प्रयास अनेकपटक भए।

विभिन्‍न समयमा सरसफाइ गर्दा हिमाल अबचाहिँ सफा भयो भन्‍ने धारणा सो समयमा बनेको शेर्पा बताउँछन्। तर, तापक्रम बढ्दै जादाँ हिउँ पग्लियो र पुरिएको फोहोर देखिन थाल्‍यो।

यसरी फोहोर देखिन थालेपछि दावा स्टिभन शेर्पाको नेतृत्वमा इको एभरेस्ट एक्स्पिडिसन नामक अभियान सुरु गरिएको छ। जसमा भारी बोकेर जानेहरूले फर्केर आउँदा फोहोर टिपेर ल्याएमा आधा रशिविरमा पैसा दिने गरिएको छ। यो सबै काम आफ्नै व्यक्तिगत खर्चमा भएको कुरा पनि शेर्पाले बताए।

यसरी फोहोर संकलन गर्दा हालसम्म ४५ हजार किलोग्राम पुरानो फोहोर हिमालबाट ल्याएको शेर्पाको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad