कला


‘मलाई वेश्याजस्तो व्यवहार गरियो’ भनेपछि विवादमा मिस वर्ल्ड प्रतियोगिता

‘मलाई वेश्याजस्तो व्यवहार गरियो’ भनेपछि विवादमा मिस वर्ल्ड प्रतियोगिता

फाइल तस्बिर: मिस इङ्ग्ल्यान्ड २०२५ की विजेता मिला म्यागी


नेपालखबर
जेठ १२, २०८२ सोमबार २१:४२, काठमाडौँ

यस वर्ष मिस वर्ल्ड प्रतियोगिता तेलंगानाको राजधानी हैदराबादमा आयोजना हुँदै छ।

त्यसअघि नै प्रतियोगिता विवादले घेरिएको छ।

प्रतियोगिताबीचमै बाहिरिएकी मिस इङ्ग्ल्यान्ड २०२५ की विजेता मिला म्यागीले कार्यक्रमविरुद्ध गम्भीर आरोप लगाएकी छन्।

उनले एक बेलायती पत्रिकासँग भनेकी छन्, ‘तिनीहरू (आयोजकहरू) ले मलाई वेश्याजस्तो महसुस गराए।’

मिला म्या

यस विषयमा तेलंगाना सरकारले अनुसन्धानको आदेश दिएको छ।

सरकारका तर्फबाट वरिष्ठ आईपीएस अधिकारी शिखा गोयल, आईपीएस रमा राजेश्वरी र साइबराबाद डीसीपी साईश्रीको नेतृत्वमा अनुसन्धान सुरु गरिएको हो।

टोलीले मिस वर्ल्ड प्रतियोगितामा ​​कुनै अनुचित व्यवहार वा असुविधा भएको थियो कि थिएन र मिला म्यागीको आरोपमा कति सत्यता छ भनेर पत्ता लगाउने प्रयास गरिरहेको छ। यसका लागि प्रतियोगितामा अन्य सहभागीसँग पनि बयान लिने क्रम जारी छ। 

बेलायती ट्याब्लोइड पत्रिका 'द सन' लाई दिइएको अन्तर्वार्तामा म्यागीले आयोजकविरुद्ध गम्भीर प्रश्न उठाएकी छन्।

उनले भनेकी छन्, ‘म त्यहाँ परिवर्तनको उदाहरण बन्न गएको थिएँ, तर त्यहाँ गएपछि मलाई खेलौनाजस्तो व्यवहार गरिएको महसुस भयो। त्यहाँ बस्नु मेरो नैतिकताविरुद्ध थियो। आयोजकहरूको नजरमा हामी केवल मनोरञ्जनको माध्यम थियौँ। उनीहरूले मलाई वेश्याजस्तो महसुस गराए। हामीलाई धनी पुरुष प्रायोजकहरूका अगाडि घुमाइयो। यसपछि मैले सोचेँ- अब मैले निर्णय गर्नैपर्छ।’

म्यागीको यो भनाइपछि आयोजकहरूको भूमिका र प्रतियोगिताको व्यवस्थामा प्रश्न उठ्न थालेको छ।

अब मिस वर्ल्डजस्ता प्रतियोगिताको काम छैन
मिला म्यागीले अगाडि भनेकी छन्, ‘मिस वर्ल्डजस्ता प्रतियोगिताहरूको युग सकिएको छ। संसार परिवर्तन गर्न आवाज उठाउनुअघि यी मुकुट र स्यासहरूको कुनै काम छैन। बिहानको खाजाबाट सुरु गरेर दिनभरि मेकअप र बल गाउन लगाएर बस्नु पर्ने अपेक्षा गरिन्छ।’

'द सन' को रिपोर्टअनुसार, जब मिला म्यागीलाई 'धन्यवाद'को नाममा केही पुरुषलाई मनोरञ्जन दिन भनियो, उनले अत्यन्तै असहज महसुस गरिन् र रिसाइन्।

उनले भनेकी छन्, ‘हरेक टेबलमा ६ जना पाहुनासँग दुई जना केटी बसेका थिए। हामीलाई भनिएको थियो- उनीहरूसँगै बसेर साँझभरि मनोरञ्जन गर्नुपर्छ। मलाई यो धेरै गलत लाग्यो। म त्यहाँ मानिसहरूलाई मनोरञ्जन दिन गएको थिइनँ। मिस वर्ल्डजस्तो प्रतियोगिताको केही मूल्य हुनुपर्छ, तर यो कार्यक्रम पुरानो सोचमा अड्किएको छ, यो आउटडेटेड भइसकेको छ। तिनीहरूले मलाई वेश्याजस्तो महसुस गराए।’

मिला म्यागीले थप भनेकी छन्, ‘म जुन मुद्दाका लागि समाजसेवा गरिरहेकी छु, त्यसबारे कुरा गर्न चाहन्थेँ। तर त्यहाँ उपस्थित पुरुषहरू अनावश्यक र असम्बन्धित विषयमा कुरा गरिरहेका थिए। यो मेरा लागि असहज अनुभव थियो। मैले यस्तो होला भन्ने सोचेकै थिइनँ। उनीहरूले हामीलाई समान रूपमा होइन, बच्चालाई जस्तो व्यवहार गरे।’

द सनको रिपोर्टअनुसार मिला म्यागीले आफ्नी आमालाई फोनमा "त्यहाँ शोषण भइरहेको" बताएकी थिइन् र उनले आफ्नो पीडा बाँडेकी थिइन्।

यस प्रकरणमा बीआरएस (भारत राष्ट्र समिति) ले तीखो प्रतिक्रिया दिएको छ। पार्टीले 'द सन'को समाचार राख्दै एक्समा लेखेको छ। 

बीआरएसले लेखेको छ, "तेलंगानाका जनताको २५० करोड रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रिय स्तरमा तेलंगना राज्य र हैदराबादको छवि बिगारेकामा कंग्रेस सरकार र रेवन्तले के जवाफ दिनुपर्छ?’

मिस वर्ल्ड आयोजकहरूले के भने?
मिस वर्ल्डका आयोजकहरूले मिला म्यागीको गम्भीर आरोपको खण्डन गरेका छन्।

आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘यस महिनाको सुरुमा मिस इङ्ग्ल्यान्ड २०२५ की विजेता मिला म्यागीले आफ्नी आमाको अस्वस्थताका कारण आपत्‌कालीन आधारमा प्रतियोगिता छाडेर इङ्ग्ल्यान्ड फर्कन अनुरोध गरेकी थिइन्। उनको अवस्था बुझ्दै मिस वर्ल्ड अर्गनाइजेसनकी अध्यक्ष तथा सीईओ जुलिया मोर्लीले उनलाई इङ्ग्ल्यान्ड फर्कने व्यवस्था गरिन्। यसपछि चार्लोट ग्रान्टले बुधबार हैदराबाद पुगेर उनको ठाउँमा प्रतियोगितामा भाग लिइन्।"

विज्ञप्तिमा अगाडि  भनिएको छ, "दुर्भाग्यवश, हामीले बेलायतका केही मिडिया संस्थाले भारतमा उनको अनुभवबारे समाचार प्रकाशन गरेको जानकारी प्राप्त गरेका छौँ। तर उनको वास्तविक अवस्था र ती रिपोर्टबीच कुनै मेल खाँदैन। ती टिप्पणीको यहाँ दिइएको उनको अनुभवसँग कुनै सम्बन्ध छैन। हामी हैदराबादमा रेकर्ड गरिएको उनको सम्पादन नगरिएको भिडिओ जारी गर्दै छौँ, जसमा उनले स्पष्ट रूपमा सबै कुरा राम्रो भएको बताइरहेकी छन् र आयोजकहरूलाई धन्यवाद दिएकी छन्। भारतमा दिइएको उनको अभिव्यक्ति र त्यहाँ प्रकाशित समाचारबीच कुनै समानता छैन।’

विज्ञप्तिमा निष्कर्ष निकालिएको छ, ‘वास्तवमा, मिस वर्ल्ड संगठन 'ब्युटी विथ अ पर्पज'को मूल्यमान्यताप्रति प्रतिबद्ध छ। हामी मिडिया संस्थाहरूलाई यस्ता भ्रामक समाचार प्रकाशन गर्नुअघि पत्रकारिताका आधारभूत सिद्धान्त पालना गर्न आग्रह गर्दछौँ।"

यो विज्ञप्ति मिस वर्ल्ड संगठनकी अध्यक्ष र सीईओ जुलिया मोर्लीको नाममा जारी गरिएको हो।

उक्त कथनसँगै एउटा भिडियो पनि सेयर गरिएको छ, जसमा मिला म्यागीले ‘यहाँ सबै ठिकठाक छ" भन्दै गरेको देखिन्छ।

आयोजकहरूले भनेका छन् कि मिला म्यागीले केवल एउटा कार्यक्रममा भाग लिइन्, जुन हैदराबादको चौमहल्ला प्यालेसमा आयोजित राज्य रात्रिभोज थियो। सोही कार्यक्रमको भिडियो क्लिप अब सार्वजनिक भएको छ।

त्यो भिडिओमा मिला म्यागी बसेको टेबलका दुवै छेउमा महिलाहरू बसेको देख्न सकिन्छ र त्यो टेबलमा केवल एक जना पुरुष मात्र देखिन्छन्।

विवादपछि अब मिला म्यागीको सट्टा प्रतियोगितामा मिस इङ्ग्ल्यान्डकी उपविजेता चार्लोट ग्रान्टले इङ्ग्ल्यान्डको प्रतिनिधित्व गर्दै छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad