कञ्चनपुर, वेदकोटकी ४१ वर्षीया एक नागरिकलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानि अपनाएको छ।
भारतको उत्तराखण्डबाट ती संक्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए।
‘भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो’ ब्रह्मदेवस्थित शसस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने, ‘गाडीको पछाडी पट्टी राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्याएको थियो।’
उनले सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए।
‘उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ’ उनले भने, ‘हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन।’
सशस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको शसस्त्र प्रहरीले जनाएको छ। चैतको दोस्रो साता लकडाउनको शुरुवात बेला सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार तथा स्वास्थ्य परीक्षणमा महत्वपूर्ण भूमिका समेत निभाएको थियो। शसस्त्र प्रहरी बलले भारतीय सुरक्षा निकायसित पनि आवश्यक समन्वय तथा सहकार्य गर्दै आएको जनाएको छ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले पनि सङ्क्रमित भेटिएका व्यक्तिको उद्धार तथा स्वास्थ्य परीक्षणमा खटिएको टोली सेल्फ क्वारेन्टाइनमा रहेको जानकारी दिए।
‘अरुमा त्यस्तो कुनै समस्या छैन’ उनले भने, ‘संक्रमितले आश्रय लिएको बेदकोटको सुन्दरपुरमा रहेको क्वारेन्टाइन अहिले अनुगमन गरेका छौँ ।’
उनले संक्रमितसँगै क्वारेन्टिनमा आश्रय लिएकाको अवस्था सामान्य रहेको बताए।
‘अहिले सुन्दरपुरको क्वारेिन्टनमा २५ जना बस्दै आएका छन्’ उनले भने, ‘यहाँ क्वारेिन्टनमा बस्न आउने बढिरहेका पनि छन्।’
कञ्चनपुरका नौ वटै स्थानीय तहले पनि भारतलगायत तेस्रो मुलुकबाट घर फर्किएकाको तथ्यांक संकलन गरेर सावधानि अपनाउन क्वारेिन्टन बस्न आग्रह गरेका छन्। सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा कोरोना भाइरस परीक्षणका लागि -यापिट टेस्टिङ किट प्रयोग गर्ने निर्णय गरेको छ।
‘संक्रमण अरुमा नफैलियोस भनेर सरकारले किट प्रयोग गर्ने निर्णय गरेको हो।’ सहायक प्रजिअ उपाध्यायले भने, ‘किट कञ्चनपुर आइसकेपछि त्यसको तत्काल व्यवस्थापन गछौँ।’ रासस

प्रतिक्रिया