नेपालमा बर्सेनी ३ हजार जनाले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेको पाइएको छ। नेपाल चिकित्सक संघ र रोटरी नेपाल स्नेकबाइट प्रिभेन्सनले गरेको कार्यक्रममा विज्ञहरूले सर्पको टोकाइबाट बार्षिक ४० हजार व्यक्ति प्रभावित हुने गरेको बताएका हुन्।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानका उपकुलपति डा. सञ्जिव शर्माले ५ देखि १४ बर्ष उमेर समूहका बालबालिका सर्पदंशमा पर्ने गरेको जानकारी दिएका छन्।
‘बालबालिका र महिलाहरूमा सर्पदंशबाट प्रभावित हुने र मृत्यु हुने गरेको पाइएको छ। तराइको अति विपन्न परिवारमा सर्पको टोकाइ बढी देखिएको छ,’ उनले भने। ९७ प्रतिशत व्यक्तिले अस्पताल नपुग्दै ज्यान गुमाउने गरेको उपकुलपति शर्मा बताउँछन् ।
करेत र कोब्रा सर्पको टोकाइबाट धेरैको ज्यान गएको उनले बताए। ‘करेत र कोब्रा सर्पको टोकाइ बढी पाइएको छ। सर्पले टोक्दा नदुख्ने हुदा व्यक्तिले थाहाँ नै पाउँदैन्,' उनले भने, 'धेरै व्यक्तिको सुतिरहेको समयमा नै मृत्यु हुने गरेको छ। सर्पले टोकेको १ घण्टाभित्र अस्पताल पुर्याउन सकियो र उपचार सुरु भयो भने पूर्ण रुपमा निको बनाउन सकिन्छ।’
उनका अनुसार सर्पको विष निकालेर बनाउने सर्पदंशको औषधि एन्टिभेनम बनाउने कानुनी व्यवस्था नहुँदा औषधि विदेशबाट खरिद गर्नु परेको छ।
औषधि खरिद गरेर ल्याउनु पर्ने र उपचार केन्द्र धेरै नहुँदा सर्पदंशको उपचार र औषधि सबै ठाउँमा उपलब्ध नभएको उपकुलपति शर्मा बताउँछन्।
Shares

प्रतिक्रिया