सशस्त्र प्रहरीमा गोताखोरको संख्या १२८ पुगेको छ। बुधबार २० जनाले तालिम सम्पन्न गरेसँगै सशस्त्रमा गोताखोरको संख्या थपिएको हो।
गृहमन्त्री रमेश लेखकको उपस्थितीमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालित सि सं ६ गोताखोर तालिम बुधबार समापन भएको हो।
तालिममा २० जना प्रशिक्षार्थी सहभागी थिए। उनीहरु गृमन्त्री लेखकले प्रमाण पत्र र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले गोताखोर ट्याग प्रदान गरे।

छ हप्ता अवधिको उक्त तालिममा प्रशिक्षार्थीहरुलाई चितवनको कुरिन्टारस्थित त्रिशूली नदी, कास्कीको पोखरास्थित फेवाताल र सुनसरीस्थित कोशी नदीमा अभ्यास गराइएको थियो। कार्यक्रममा प्रशिक्षार्थीहरुले पानीजन्य घटना दुर्घटनामा उद्धार सम्बन्धी डेमो समेत प्रदर्शन गरेका थिए।
सशस्त्र प्रहरी बल नेपालमा पहिलो पटक २०६९ सालमा बंगलादेशबाट २५ जनाले गोताखोर तालिम प्राप्त गरेका थिए। यसैगरी नेपालमा समेत पहिलो पटक २०७६ सालदेखि गोताखोर तालिम दिन सुरु गरिएको हो।

गोताखोर तालिम प्राप्त टोली सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ६ महेश्वरी बाहिनी मुख्याल सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा परिचालित छन्।
त्यसैगरी नं ३ कंकालिनीमाई गण मोरङ, नं १७ गण चितवन, नं २४ कालिका गण कास्की, नं २० विपद् उद्धार गण सिनामंगल, नं ४२ रिजर्भ गण बाँके र विपद् व्यवस्थापन वेश खुर्कोट सिन्धुलीमा समेत तैनाथ रहेका छन्।

सोही अवसरमा गृहमन्त्री लेखकले विपद् व्यवस्थापन सम्बन्धि सामाग्री रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एक्जिवेशन सेन्टरको समेत अवलोकन गरे।
हिमालको हिउँदेखि पहाडको पहिरो र तराईको डुवानमा परेका नागरिकहरुको उद्धारम सशस्त्र प्रहरीले खेलेको भूमिकाको उच्च प्रशंसा गरे।
सशस्त्र प्रहरीले सफलतापूर्वक उद्धार गर्नको लागि सीप हासिल गरेको आगामी दिनमा पनि यसरी नै समर्पित भएर नागरिकका लागि दत्तचित्त भई काम गर्न निर्देशन दिए।
संघ, प्रदेश र स्थानीय सरकारसँग समन्वय, सहकार्य गर्दै विपद् जोखिम न्यूनिकरणमा लाग्न जरुरी रहेको बताउँदै सशस्त्र प्रहरी बलका कर्मचारीहरुलाई मनसुनजन्य प्रतिकार्यको लागि तयार रहन पनि निर्देशन दिए।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपालले आपद् विपद्मा परेका नागरिकको उद्धार, राहत तथा सेवा सुरक्षालाई सधैँ प्राथमिकतामा राख्दै अघि बढेको बताए।

सम्पूर्ण इकाईहरुमा आधारभूत उद्धार सामाग्री र प्रदेशस्तरमा विशिष्टिकृत आधुनिक उपकरणसहित दक्ष र व्यावसायिक जनशक्ति तैनाथ गर्ने योजना रहेको पनि आईजीपी अर्यालले बताए।
‘तपाईहरुले बगाएको पसिनाले तब सार्थकता पाउने छ, जब तपाईहरुले असम्भवलाई पनि सम्भव बनाएर जनताको मुहारमा मुस्कान ल्याउनु हुनेछ। हिरोहरु खतरामा हाम फाल्छन् कीर्तिको लागि होईन मानवताको लागि हो जहाँ व्यक्तिगत लाभभन्दा मानव जीवनको रक्षालाई महत्वपूर्ण मान्नुपर्छ’, अर्यालले भने।
यसै महिनाभित्र नेपालभरिका हरेक वडामा २५ जनाका दरले १ लाख ७० हजार समुदायस्तरमा विपद् सूचक तयार गर्ने लक्ष्य सशस्त्र प्रहरीको रहेको सहप्रवक्ता शैलेन्द्र थापाले बताए।
Shares

प्रतिक्रिया