संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले कपिलवस्तुको तिलौराकोट र काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी भइरहेको बताएका छन्।
अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका अवसरमा पुरातत्व विभागले आज हनुमानढोका दरबार क्षेत्रमा आयोजना गरेको कार्यक्रममा उनले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने काम भइरहेको र अन्य स्थललाई थप व्यवस्थित गरेर तयारी गर्दै लैजाने बताए। नेपालका सङ्ग्रहालयमा वार्षिक लाखौँ पर्यटक आमन्त्रण गर्न सकिने भएकाले त्यसै अनुसार व्यवस्थापन र प्रचारप्रसार गर्नुपर्नेमा मन्त्री पाण्डेको जोड थियो।
‘फ्रान्सको लुभ्र सङ्ग्रहालय अवलोकन गर्न जानेले मोनालिसाको चित्र हेरेजस्तै नेपालका सङ्ग्रहालय अवलोकन गर्न आउनेले नृत्यदेवीको काष्ठकलायुक्त मूर्ति हेर्न सक्छन्, नृत्यदेवीको यो मूर्ति एशियाकै मोनालिसाको चित्र हो, हाम्रा सङ्ग्रहालयमा हात्तीको देखाउने दाँतमा बनेका सम्पदा पनि राखिएको छ, यस्तै सम्पदाका आधारमा नेपालका सङ्ग्रहालयलाई विश्वमा चिनाउन सकिन्छ’, उनले भने।
जर्मनीको सात सय वर्ष पुरानो हाइडलवर्ग विश्वविद्यालयमा अहिले पनि नेपालका पुराना सम्पदा सुरक्षित रहेको उल्लेख गरे। विसं २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरबार क्षेत्रको नौतले दरबार पुनःनिर्माणपछि आजैदेखि अवलोकनकर्ताका लागि शुभारम्भ गरिएको छ। दरबारको नवौँ तलामा पुगेर मन्त्री पाण्डेले पुनःनिर्मित दरबारको उद्घाटन गरे।
भूकम्पले भत्किएका संरचना उही रुपमा पुनःनिर्माण सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले लिच्छविकालकै स्वरुपमा काष्ठमण्डप पुनःनिर्माण गर्नसक्ने सिद्धहस्त अहिले पनि देशमा भएकामा गौरव गर्नुपर्ने बताए।
सांसद सपना राजभण्डारीले काष्ठमण्डप पुनःनिर्माण सम्पन्न भएको वर्षौँ बिते पनि सर्वसाधारणका लागि खुला नगरिँदा यहाँको संस्कृति लोप हुन लागेकोतर्फ संस्कृति मन्त्रालयको ध्यानाकर्षण गराइन्।
सांसद मैना कार्कीले सम्पदाको संरक्षणबाट नेपाल समृद्ध बन्ने भएकाले देशभरका सम्पदा संरक्षणमा जुट्न मन्त्रालयको ध्यानाकर्षण गराइन्। विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये वसन्तपुरको नौतले दरबार र नुवाकोटको सात तले दरबार चीन सरकारलाई पुनःनिर्माणका लागि दिएकामा नौतले दरबारको काम सम्पन्न भई आजैदेखि सर्वसाधारण अवलोकनकर्ताका लागि खुला गरिएको जानकारी दिए।
भक्तपुरस्थित कला सङ्ग्रहालय प्रमुख जयन्ती प्रधानले सन् १९७७ देखि अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाउँदै आइरहेको उल्लेख गर्दै यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने बताए। हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले यस वर्षको सङ्ग्रहालय दिवसको कार्यक्रम आजैदेखि अन्त्य गरिएको जानकारी गराए।
प्रत्येक वर्ष मे १८ लाई अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवसका रुपमा मनाउने गरिन्छ। यस वर्ष यो दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको थियो। कार्यक्रममा हनुमानढोका दरबार क्षेत्रमा मङ्गल धुन परम्परालाई निरन्तरता दिन र पुस्तान्तरणमा सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई मन्त्री पाण्डेले सम्मान गरेका थिए।
Shares

प्रतिक्रिया