मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ भने बंगालको खाडी र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव जारी छ।
जसका कारण अहिले (सोमबार साँझ) पनि देशभर मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ। साथै कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुूपश्चिम प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
मौसम महाशाखाका अनुसार आज राति पनि कोसी प्रदेश, मधेसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना पनि छ।
आज अर्थात् सोमबार राति कुन प्रदेशमा, कस्तो हिमपात तथा वर्षा होला त? हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको विस्तृत विवरण:

मौसम महाशाखाले आगामी २४ घण्टा मंगलबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ: देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया