मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशमा अहिले पानी पर्ने बादल विकास भएको छ।
जसका कारण यतिबेला (शुक्रबार राति) ती प्रदेशका विभिन्न जिल्लामा भइरहेको छ।
महाशाखाले चेतावनी जारी गर्दै भनेको छ, ‘हाल बागमती प्रदेश र गण्डकी प्रदेशमा पानी पर्ने बादल रहेको र मेघगर्जन, चट्याङ, हावाहुरीसहितको पानी परिरहेको छ र उक्त प्रणाली पूर्वतिर सरिरहेको हुनाले आवश्यक सतर्कता अपनाउनुहोला।’
बागमती प्रदेशअन्तर्गत काठमाडौँमा पनि शुक्रबार राति हुरीसहितको वर्षा भएको छ।
आज रातभरिमा सात प्रदेशमा कहाँ कस्तो होला वर्षा र हिमपात? हेर्नुहोस् मौसम महाशाखाले जारी गरेको तलको प्रक्षेपण:

महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ, ‘केही स्थानमा गर्मीका कारण तथा थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्न हुन तथा आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया