सरकारले पहिलोपटक आयोजना गरेको ‘सगरमाथा संवाद’ काठमाडौँमा सुरु भएको छ।
जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ आयोजित ‘सगरमाथा संवाद’मा १२ देशका उच्च तहको प्रतिनिधिमण्डल सहभागी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको कार्यक्रममा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा.आरजु राणा देउवाले स्वागत मन्तव्य दिएकी छन्।

कार्यक्रममा चीन, भारतलगायत १ सय ७५ विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन्।
संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ राखिएको छ। कार्यक्रम जेठ ४ गतेसम्म सञ्चालन हुने छ।
अहिले उद्घाटन समारोहमा जारी छ।
भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ।
सम्बोधन गर्ने क्रम जारी छ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ।
उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ। यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संगठनबाट प्रस्तुति हुनेछ।
आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ। सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न गर्ने कार्यसूची छ।
राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ।
जारी सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिमस्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिएका छन्।
संवाद आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको थियो।
संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्ट पनि हुने तालिका छ।
तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई नेपालका हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौँ घोषणापत्र जारी गरिने छ।
नेपालले संरक्षण गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्न संवाद उपयोगीसिद्ध हुने अपेक्षा सरकारले गरेको छ।
संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्त्वका साथ हिमालका विषय उठ्नेछन्।
सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्त्वका प्रमुख मुद्दाहरूमाथि विचार-विमर्श गर्न समर्पित छ। यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको छ।
यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो। प्रत्येक दुई वर्षमा सगरमाथा संवादको आयोजना गर्ने निर्णय सरकारले गरिसकेको छ।
Shares

प्रतिक्रिया