समाज


रवीन्द्र मिश्रको गुनासो : धवलशमशेरलाई जस्तै छाडेको भए के बिगार्थें श्रीमान्?

दुर्गा प्रसाईंले भने : बरु म २० वर्ष जेल बस्न पनि तयार छु तर निर्दोष छाडियोस्
रवीन्द्र मिश्रको गुनासो : धवलशमशेरलाई जस्तै छाडेको भए के बिगार्थें श्रीमान्?

उजिर कार्की
बैशाख ३०, २०८२ मंगलबार २०:८, काठमाडौँ

अदालतको साँघुरो कोठा तीनकुने घटनाका राज्यविरुद्धको कसुरका आरोपितहरूले भरिएको थियो। काठमाडौँ जिल्ला न्यायाधीश खेमराज भट्टको इजलासमा यो मुद्दाका आरोपितहरूको म्याद थप गर्ने पालो अन्तिममा आयो। 

इजलासमा बहसभन्दा पनि हल्लाखल्ला बढी थियो। वकिलले बहस गर्दै गर्दा पनि आरोपितहरू सँगसँगै बोलिरहेका थिए। वकिलले आफ्नो पक्षमा बहस गरिरहँदा थुनुवाहरू समर्थनमा मुन्टो हल्लाउँथे। 

झुस्स दाह्री र निन्याउरो अनुहारमा रवीन्द्र मिश्र पनि त्यही भीडको अगाडि थिए। हिरासतमा बसेको ४७ औँ दिन उनलाई पुनः म्याद थपका लागि उभ्याइएको थियो।

अदालतले पटकपटक थुनामा राख्दै गएपछि मिश्र आश्चर्यमा परेका छन्। वैशाख १० गते तीन दिनभित्रमा अनुसन्धान सक्नू भनेर त्यति मात्रै म्याद दिएपछि उनलाई छुट्ने आश पलाएको रहेछ।

तर, उनले सोचे जस्तो भएन। त्यसपछि पनि पटकपटक म्याद थप भइरहेको छ। ५ दिनअघि त्यही कोठामा म्याद थप गर्न लैजाँदा उनीमाथि अर्को कसुर थपियो। त्यसपछि भने उनले अब ६० दिनअघि छुट्ने आशा मारिसकेका छन्।

थुनुवामध्ये शिव सेनाका अध्यक्ष अनिल बस्नेत सुरुमा बोले। तर, उनले आफूलाई छाड्न निवेदन गरेनन्।

‘मलाई जतिदिन थुनामा राखे पनि फरक पर्दैन। मेरो हकमा केही अनुसन्धान पनि बाँकी होला। तर रवीन्द्र मिश्र र दुर्गा प्रसाईं लगायतलाई तत्कालै रिहा गरियोस्। बिनाकारण यसरी थुनामा राख्दा उहाँहरूलाई कति अन्याय परेको छ श्रीमान्, हजुरले आज न्याय दिनु पर्‍यो,’ उनले भने।

त्यसपछि उनकै तर्फबाट वकिलले बहस गरे। आरोपित र उनीहरूका वकिलहरूले इजलासमा तीनकुने घटनामा कांग्रेस र एमालेका कार्यकर्ताको पनि संलग्नता रहेको तर उनीहरूलाई भने मुद्दा नचलाई रिहा गरिएको आरोप लगाए। 

बहसको अन्तिमतिर बोले रवीन्द्र मिश्र। मिश्र बोल्नुपहिले नै न्यायाधीश भट्टले केही दिन म्याद थप गर्ने संकेत गरिसकेका थिए। 

उनले भनेका थिए, ‘ठिक छ हामी कानुन व्यावसायीहरूसँग सल्लाह गरेर एउटा निचोडमा पुग्छौँ। अब धेरै दिन पनि छैन।’

त्यसपछि मिश्रले इजलासमा समय लिए। उनले राज्यको प्रतिशोधका लागि आफू केही घण्टा पनि थुनामा बस्न नचाहेको बताए। 

‘४१ दिन थुनिसकेपछि मलाई फेरि आपराधिक उपद्रवको कसुर लगाइएको छ। मैले कसरी आपराधिक उपद्रव गरेँ। मेरो त्यसमा कहाँनेर संलग्नता छ। यस्तै हुन्छ न्याय?’ मिश्रले भने, ‘ठिक छ उहाँहरूले केही दिन मात्रै त हो अब भन्नु भयो। उहाँहरूलाई किन केही दिनको म्याद दिने र त्यसका लागि हामी किन थुनामा बसिदिनु पर्ने श्रीमान्? म केही दिन त होइन, केही घण्टा पनि अन्यायपूर्ण रूपमा थुनामा बस्न चाहन्नँ।’

उनले आफूसँगै पक्राउ परेका राप्रपाका महामन्त्री एवम् प्रतिनिधि सभाका सांसद धवल शमशेर जबरालाई रिहा गरिएको विषयमा पनि कुरा उठाए। 

‘धवल शमशेरलाई केही दिनपहिले नै छाडिएको छ। उहाँलाई जस्तै मलाई पनि छाड्दा मैले के बिगार्छु श्रीमान्? अब के प्रमाण नष्ट हुन्छ र? मोबाइल सबै उहाँहरूले नै लगिसक्नु भएको छ। त्यसबाहेक के प्रमाण छ र उहाँहरूसँग? फरक विचारकै आधारमा यस्तो अत्याचार नागरिकले भोगिदिनु पर्ने?’

तर सरकारी वकिलले भने त्यसअघि नै यो मुद्दाका सबै प्रमाण डिजिटल भएकाले उनीहरूलाई थुनामुक्त गरे असर पर्ने बताएका थिए। उनले अहिले थप गरिएको म्यादभित्र पनि अनुसन्धान नसकिए फेरि म्याद लिने बताइसकेका छन्। अझै अनुसन्धान गरेर प्रमाण जुटाउन पर्ने थुप्रै विषय रहेको सरकारी वकिलको भनाइ छ। 

यस्तै तीनकुने घटनाको नेतृत्व गरेका दुर्गा प्रसाईंले पनि यो मुद्दामा विभेदपूर्ण ढंगबाट अनुसन्धान भइरहेको बताए। उनले पनि एमाले र कांग्रेसका कार्यकर्तालाई भने छाडिएको बताए। उनले पक्राउ परेर पनि छुटेका एमाले कांग्रेसका कार्यकर्ता भएको दाबी गरे। 

तर सरकारी वकिलले भने ती छुटेका व्यक्तिहरू थुनाबाहिर राखेर पनि अनुसन्धान गर्दा फरक नपर्ने व्यक्ति भएको र जसलाई थुनामै राख्नु पर्ने हो उनीहरूलाई मात्रै थुनामा राखिएको बताएका छन्। 

प्रसाईंले भने आफू २० वर्ष जेल बस्न पनि तयार रहेको तर आफ्ना सहयोगी, सवारी चालकलाई पनि पक्राउ गरेर अन्याय गरेको बताए। 

‘मेरो अस्पतालको ड्राइभरलाई पनि पक्राउ गरेर मुद्दा लगाइएको छ। यो भाइले के राज्यविरुद्धको कसुर गर्‍यो श्रीमान्? यस्तो पनि हुन्छ त अनुसन्धान? बरु म २० वर्ष जेल बस्न पनि तयार छु तर निर्दोषलाई थुन्न त भएन नि। यसरी त आसामतिरका मान्छेलाई पनि उठाउँदै राज्यविरुद्धको कसुरमा हाले भइगयो नि,’ प्रसाईंले भने। 

प्रसाईं बोलेपछि साँघुरो इजलासबाट २६ जना थुनुवालाई लाइन लगाएर बाहिर निकाल्दै प्रहरीले हतकडी लगाउन थाल्यो। त्यसको करिब आधा घण्टापछि इजलासले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको आदेश सुनायो। 

तीनकुने घटनामै संलग्न रहेको आरोपमा अरु ३४ जना पनि हिरासतमा छन्। उनीहरूलाई यसअघि ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता मिश्रलाई चैत १५ गते बेलुका नै पक्राउ गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad