ट्राफिक प्रहरीले कारबाही गर्दा पनि लकडाउन उल्लंघन गर्ने सवारीसाधन घटेका छैनन् । अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन भने पनि सर्वसाधारणले उल्लंघन गरेका हुन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३ हजार बढी सवारीलाई कारबाही गरिसकेको छ। जसमा सबैभन्दा बढी दुईपांग्रे सवारी रहेका छन्।
अत्यावश्यक सवारीको लागि जिल्ला प्रशासन कार्यालयले पास वितरण गर्दै आएको थियो। पास पनि नलिने र भेटघाटको कामका लागि बाहिर निस्किनेलाई कारबाही गरेको ट्राफिक प्रहरीको दाबी छ।
चैत ११ गतेदेखि लकडाउन भए पनि उक्त दिन ट्राफिक प्रहरीले बाहिर निस्केका सर्वसाधारणलाई सम्झाइबुझाइ गरी छाडेको थियो।
चैत १२ गतेबाट कारबाही गर्दा कुल २१ गते बिहान १० बजेसम्म काठमाडौं उपत्यकामा मात्रै ३ हजार ३ सय १४ सवारीलाई कारबाही गरिएको छ। जसमा २९ सय ८२ दुईपाग्रे सवारी रहेका छन् भने ३३२ चारपांग्रे सवारी रहेको ट्राफिक प्रहरी कार्यलयले जानकारी दिएको छ।
चैत १२ गते सबैभन्दा बढी १ हजार ६३ सवारीलाई कारबाही गरेको थियो । ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका सवारीलाई दिनभर होल्डगरी राखि बेलुका छोडिएको बताएको छ ।
सवारी पास बन्द, अत्यावश्यक सवारीसाधन पासविनै चल्ने
जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट सवारीपास वितरण बन्द गरेको छ। सवारी पासको लागि कार्यालयमा अत्यधिक भीडभाड हुँदा बन्द गर्नुपरेको बताएको छ। त्यस्तै, भीडभाडबाट कोरोना संक्रमणको जोखिम बढ्नुका साथै पासको दुरुपयोग समेत गरिएकोले पास बन्द गरिएको कार्यालयले जनाएको छ।
अत्यावश्यक सेवा तथा सामग्रीहरुको सहज आवागमनको लागि भने पासविना पनि आवतजावत गर्न पाउने बताएको छ। एम्बुलेन्सहरु, औषधि तथा औषधिजन्य वस्तु बोकेका सावरी तथा डाक्टर, नर्स तथा कर्मचारीहरुलाई बोकेका सवारीले पास लिनु नपर्ने व्यवस्था गरेको छ। तर सबैले आफ्नो परिचयपत्र बोक्नुपर्नेछ।
खाद्यान्न, तरकारी, फलफूल, माछामासु, दूध, पानी, तेल, पशुपक्षीजन्य आहार, इन्धन, सरसफाइका वस्तुहरुको ओसारपसार गर्ने भ्यान, पिकअप, ट्याङ्करका साथै फोहोर बोक्ने सावरीहरुले पनि निर्वाधरुपमा चल्न पाउने भएका छन्। तर यस्ता सवारीहरुमा यात्रु ओसार्न भने पाइने छैन ।
तत्काल पर्ने आकस्मिक मानवीय अवस्था, सिरियस बिरामी अस्पताल जानुपर्ने अवस्था जस्ता परिस्थितिमा नजिकको सुरक्षा इकाइसँग आवश्यक समन्वय गर्न आग्रह गरेको छ ।
Shares

प्रतिक्रिया