जाउलाखेलस्थित सदर चिडियाखानामा तपाईं एक वर्षपछि जाँदै हुनुहुन्छ भने तपाईंले त्यहाँ केही न केही परिवर्तन पाउनु हुनेछ। एक वर्षअघि र एक वर्षपछि तपाईंले अनुभूत गर्ने सबैभन्दा ठूलो परिवर्तन हो, यसको सरसफाई।
सात महिनायता चिडियाखानाले सरसफाइका दृष्टिले पहिलेभन्दा फरक स्वरुप प्राप्त गरेको हो। वसन्त ऋतुको आगमनका कारण यहाँभित्रको दृष्य हरियाली हुने नै भयो, त्यसबाहेक सफा र व्यवस्थित पनि भएको छ।

तीन सिफ्टमा नै काम गर्ने कामदार राखिएपछि चिडियाखाना सुन्दर र व्यवस्थित पनि भएको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको चिडियाखानामा कार्यालय इन्चार्ज सत्यनारायण साहका भनाईमा, उनले जिम्मेवारी सम्हालेपछि सरसफाई र बगैँचाको सुन्दरतालाई प्राथमिकता दिए, जसका कारण चिडियाखानाले मुहार फेर्न सफल भयो।
‘हामी दावीका साथ भन्न सक्छौँ, चिडियाखाना विमानस्थल भन्दापनि सफा भएको छ’ इञ्चार्ज साह भन्छन्, ‘सरसफाइका कारण यहाँको फुटपाट समेत बस्नयोग्य बनेको छ।’
चिडियाखानाभित्र कुहिने र नकुहिने फोहोरका लागि भिन्दाभिन्दै डष्टविनको व्यवस्था गरिएको छ। प्लास्टिकमुक्त क्षेत्र बनाउने योजना अनुसार सचेतनामूलक सन्देशहरु पनि चिडियाखानाका भित्ताहरुमा टाँसिएका छन्।
यसले गर्दा चिडियाखानाभित्र प्लास्टिकको प्रयोग निकै कम भएको एक कर्मचारीले बताए।
जनावरहरुको वासस्थान भएकाले चिडियाखानाले सबै उमेरका दर्शकहरुलाई आकर्षित गर्छ। चिडियाखाना अवलोकनका लागि पुग्ने असक्त जेष्ठ नागरिक र बालबालिकाको लागि ललितपुर महानगरपालिकाको सहयोगमा चिडियाखाना भित्र नै चल्ने निःशुल्क सवारीको पनि व्यवस्था गरिदिएको छ। 
अक्सर चिडियाखाना घुम्न परिवारका सदस्यहरु बालबच्चासहित जाने गर्छन्। त्यसैले, बच्चालाई स्तनपान गराउने ठाउँका अलावा विश्रामसहित कुराकानीका लागि फाल्चाको निर्माण गरिएको छ।
चिडियाखाना करिव ६ हेप्टर जमिनमा फैलिएको छ। साहका अनुसार क्षेत्रफल सानो भएपनि चिडिखाना घुम्न जाने अवलोकनकर्ताहरुको जनावर–चराचुरुङ्गीप्रतिको आकर्षणलाई ध्यानमा राख्दै १ सय १६ थरिका जनावरहरु अवलोकनका लागि राखिएका छन्।
यसआधारमा साह यो चिडियाखानालाई ‘ग्रीन एण्ड क्लिन जु, ब्युटिफुल एण्ड स्मल जु’ भन्न रुचाउँछन्।
पुरानो भएकाले जनावर राख्न प्रयोग गरिएका कतिपय भवनहरु पुराना र जीर्ण भएका छन्। अहिले तिनको मर्मतकार्य पनि चलिरहेको छ।
राणाकालमा श्री ३ जुद्ध शमशेरले निर्माण गरेको चिडियाखाना भएको क्षेत्रलाई सहरले अहिले ढाकिसकेको छ। त्यसबाहेक चिडियाखाना अपेक्षाकृत सानो क्षेत्रफलमा छ। त्यहीकारण बेला–बेला चिडियाखाना भक्तपुरको स्थानान्तरण हुने चर्चापनि चल्ने गरेको छ। 
इञ्चार्ज साह भने चिडियाखाना जाउलाखेलबाट भक्तपुरमा स्थानान्तरण हुनेकुरामा सत्यता नरहेको बताउँछन्। ‘निश्चय नै, क्षेत्रफल सानो भएकाले केही समस्या छन्, तर यहाँ राखिएका जनावर र चराचुरुङ्गीहरुको खानपिन र स्वास्थ्यमा हामीले ध्यान दिएका छौँ ‘ साह भन्छन्, ‘यसले गर्दा सानो ठाउँ भएपनि उनीहरु सहज रुपमा बस्न सक्ने अवस्थामा छन्।‘
शाहका भनाईमा, अवलोकनकर्ताहरुको चाहनालाई ध्यान राख्दै चिडियाखानामा थप गैँडा, रेडपाण्डा ल्याउने योजना बनाइएको छ।
‘जुद्ध शमशेरको पालामा स्थापना भएको यो चिडियाखानाको छुट्टै इतिहास छ, त्यसैले यो चिडियाखाना यहीँ रहन्छ’ उनी थप्छन्, ‘राष्ट्रिय प्रकृति संरक्षण कोषले ३० वर्ष यसको सञ्चालन गरिसक्यो, बाँकी ३० वर्ष सञ्चालनको जिम्मेवारीपनि कोषले नै पाएको छ।‘
यहाँ देखिएको अर्को परिवर्तन यसको खुल्ने समय हो। पहिले यो चिडियाखाना कार्यालय समयमा मात्र खुल्ने गरेको थियो। अहिले सन्ध्याकालीन समयमा पनि अवलोकनको सुविधा थपिएको छ। अवलोकनकर्ताहरु विहान १० वजेदेखि साँझ ७ बजेसम्म चिडियाखानामा घुम्न आउन सक्छन्।
झिलिमिलि बत्तीका कारण साँझमा चिडियाखाना अझ सुन्दर र रमणीय देखिन्छ। यहीकारण अवलोकनकर्ताहरु साँझमा जान झुम्मिने गरेका छन्।
चिडियाखानामा हाल अनलाइन टिकेटिङको पनि व्यवस्था रहेको छ, जसले गर्दा लाइन बसेर टिकट काट्ने झन्झट पनि नभएको साह बताउँछन्। 
चिडियाखानाले फेरेको यो स्वरुले पर्यटकहरुको ध्यानमात्र आकर्षित गरेको छैन, स्थानीयको व्यापार–व्यवसाय बृद्धिमा सघाउ पनि पुर्याएकाे छ।
‘चिडियाखानाको नयाँ स्वरुपले अवलोकनकर्ताहरु खुसी देखिन्छन्’ साह थप्छन्, ‘मलाई त यहाँभित्रको वातावरणका कारण वन्यजन्तुहरु समेत हसिलो अनुहार लगाएर बसेजस्तो लाग्छ।’












तस्बिरः सौगात दाहाल
Shares

प्रतिक्रिया