समाज


भावी नेतृत्वमा पुग्ने सशस्त्रको एआईजी बढुवा अन्योलमा, १ महिनादेखि सीमा विभाग खाली

भावी नेतृत्वमा पुग्ने सशस्त्रको एआईजी बढुवा अन्योलमा, १ महिनादेखि सीमा विभाग खाली

डीआईजीद्वय कमल गिरी र गणेश ठाडा मगर


नेपालखबर
बैशाख २९, २०८२ सोमबार १२:५५, काठमाडौँ

सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने हिसाब देखिएपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा चलखेल बढेको छ।

सरकारले नै एक महिनादेखि एआईजी बढुवा थाती राखेर चलखेल गर्न डीआईजीहरूलाई मौका दिएको हो। 

वरीयताअनुसार एआईजी बढुवा भए बढुवा हुने अधिकारी नै अबको तीन वर्षपछि नेतृत्वमा पुग्नेछन्। यसअघि वरीयताअनुसार नै बढुवा गरिँदै आएको सशस्त्र प्रहरीमा चलखेल नभए पहिलो नम्बरका डीआईजी कमल गिरी नै एआईजी बन्नेछन्। 

गिरी एआईजी भएमा अहिलेकै कानुनी व्यवस्थामा तीन वर्षपछि सशस्त्र प्रहरीको आईजीपी बन्नेछन्। 

सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ। अरु दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। 

उनको अवकाशपछि एआईजी बढुवाका आवेदन माग गर्दै सूचना समेत जारी भइसकेको छ। सूचनाअनुसार एआईजीमा बढुवाका आकांक्षी डीआईजीहरूले आवेदन पनि दिइसकेका छन्। 

तर सरकारले सशस्त्रको प्रमुख मानिने सीमा सुरक्षा विभाग नै खाली हुँदा पनि बढुवामा चासो दिएको छैन। 

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। अर्यालको अवकाशपछि हालका एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जना आईजीपी बन्नेछन्। 

यी दुईमध्ये जो आईजीपी बने पनि २२ महिना सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन्। त्यसपछिको आईजीपीमा अहिले बन्ने एआईजी नै करिब निश्चित हुने भएकाले अहिलेको एआईजी बढुवा पेचिलो बनेको हो। 

अहिले एआईजी नभए आगामी पुस २३ गते अनिवार्य अवकाश हुनुपर्ने भएकाले पनि अरु डीआईजीहरू पनि शक्तिकेन्द्र धाइरहेका छन्।

गिरीसँगै डीआईजी भएका गणेश ठाडा मगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी छन्। उनीहरू २०५६ सालमा प्रहरी निरीक्षनकमा भर्ना भएर पछि सशस्त्र प्रहरीमा सरेका थिए। 

यीमध्ये एआईजी नबन्ने अब पुसमा डीआईजीको एक वर्ष थप गरिएको पदावधि पनि पूरा गरेर अवकाश हुनेछन्। 

यसपछि डीआईजी कालीदास धौवजी र कुमार न्यौपाने छन्। उनीहरूको पनि अहिले एआईजी बन्ने सम्भावना कम छ। डीआईजीहरू लक्ष्मणबहादुर सिंह र प्रदीपकुमार पाल पनि एआईजीको दौडमा पछि छन्। 

तर सबैभन्दा सिनियर डीआईजीलाई एआईजी बढुवामा रोक्न सशस्त्र प्रहरीमै भर्ना भएको र दुई वर्षपछि मात्रै डीआईजीमा बढुवा भएको टोलीले अनावश्यक चलखेल बढाएको स्रोतको दाबी छ। 

यही टोलीको दबाबमा सरकारले एआईजी बढुवामा ढिलाइ गरिरहेको छ। यसअघि नेपाल प्रहरीमा पनि लामो समय रिक्त राखेर एआईजी बढुवा गरेको सरकारले पछि बरियता अनुसार नै एआईजी बढुवा गरेको थियो। 

तत्काल एआईजी बढुवा नगर्दा त्यहाँ पनि अनावश्यक चलखेल देखिएको थियो। अहिले नेपाल प्रहरीमा डीआईजी बढुवामा त्यस्तै ढिलासुस्ती गरिरहेको सरकारले सशस्त्र प्रहरीको एक जना एआईजी पनि बढुवा गर्न नसकेको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad