समाज


युवतीको पछि लागेर कलंकीको होटल पुगेका २ युवक लुटिए, आरोपित ८ जना पक्राउ

युवतीको पछि लागेर कलंकीको होटल पुगेका २ युवक लुटिए, आरोपित ८ जना पक्राउ

नेपालखबर
बैशाख २८, २०८२ आइतबार २०:३, काठमाडौँ

काठमाडौँको कलंकीस्थित एक होटलमा दुई युवकमाथि लुटपाट तथा डकैती भएको छ।

कंलकीस्थित होटल मेन्सको कोठा नं ४०२ मा लगेर एक युवकलाई धाकधम्की दिई ३ लाख ६३ हजार रुपैयाँ लुटेको प्रहरीको दाबी छ। लुटपाटमा संलग्न रहेको आरोपमा दुई युवतीसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा चितजान भएकी युवतीसँग साथीसहित होटलमा बस्न पुगेका ती युवकलाई कोठामा पुग्नासाथ ६ जना पुरुषले आफूहरु प्रहरी भएको दाबी गर्दै डर त्रासमा पारेर रकम माग गरेको पीडितको दाबी छ।

ती व्यक्तिहरुले विभिन्न मुद्दामा फसाइदिने, बोले कराएमा मारिदिने धम्की दिँदै  रकम माग गरेका थिए। ती पीडितले आफूसँग भएको नगद र बैंकखाताबाट समेत गरी ३ लाख ६३ हजार रुपैयाँ बुझाएर उम्किएको प्रहरीको दाबी छ।

तर पछि आफूलाई धम्की दिँदै पैसा माग्ने व्यक्ति प्रहरी नभएको थाहा पाएपछि पीडित काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेका थिए। अनुसन्धान कार्यालयबाट डीएसपी रोशन खड्का नेतृत्वको टोलीलाई घटनामा संलग्नहरुलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नवलपरासीको गैँडाकोटका २४ वर्षका अनिष केसी, चितवनको भरतपुरका २५ वर्षका अतित क्षेत्री, सोही ठाउँका २४ वर्षका सन्दिप बिक, नवलपुरको देवचुलीका २३ वर्षीय सन्दिप परियार, नवलपुरको गैँडाकोटका २५ वर्षका दिप्सन भन्ने विवेक मल्ल ठकुरी र चितवनको भरतपुरका २२ वर्षका बादल तामाङ रहेका छन्। उनीहरुले होटलमा लगेर धाकधम्की दिई दुई जनासँग रकम लगेको खुलेको छ।

यस्तै ती दुई जना पीडितलाई सँगै बस्ने भन्दै कलंकीको होटलमा पुर्‍याउने लमजुङको उदिपुरकी १९ वर्षकी सक्रिया खनिया र सुनसरीको धरानकी २४ वर्षकी कबिता राईलाई पनि प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ परेका व्यक्तिको साथबाट ५२ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ। विभिन्न कम्पनीका ९ थान मोवाइल र एउटा मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा छ।

पक्राउ परेका ८ जनालाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ बुझाएको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad