आज (आइतबार) पनि देशभरका विभिन्न स्थानमा वर्षा, हुरी र हिमपातको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार विशेष गरी पहाडी क्षेत्रमा वर्षाको सम्भावना छ।
हेर्नुहोस् महाशाखाको बुलेटिन:
आज दिउँसो: कोसी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानहमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको समेत सम्भावन छ।
आज राति: देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोसी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, गणडकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ। साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया