समाज


तीनकुनेमा बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ घाइते

तीनकुनेमा बसले मोटरसाइकल र भ्यानलाई ठक्कर दिँदा एक युवतीको मृत्यु, ३ घाइते

भ्यान र मोटरसाइकललाई ठक्कर दिएको बस घटनास्थलमा


नेपालखबर
बैशाख २५, २०८२ बिहिबार ८:२२, काठमाडौँ

काठमाडौँको तीनकुनेमा आज बिहान बसले दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।

बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका- ३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका- ३ घरभइ काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ। 

बसको ठक्करबाट भ्यानका चालक काभ्रेकाे मण्डनदेवपुर नगरपालिका- १ घर भइ हाल काठमाडौँ महानगरपालिका- ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्नबहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन्। 

थापा, सार्की र बुढाथाेकी सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। 

कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र ०१-०२६ च २९२७ को इको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको पल्सर मोसालाई ठक्कर दिदाँ दुर्घटना भएको हो। 

दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका- ५ घर भइ काठमाडौँको काँडाघारी बस्ने ५९ वर्षीय राम कुमार खड्का र भ्यान चालक काभ्रेको मण्डन देवपुर नगरपालिका- १ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी वृत्त बानेश्वरले जनाएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad