संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १ सय ६६ जना सशस्त्र प्रहरी कर्मचारीहरू कारबाहीमा परेका छन्।
सशस्त्र प्रहरी बल नेपालले २ वर्षको अवधिमा संगठनको नीति निर्देशन विपरित सामाजिक सञ्जालमा संगठनको पोशाक लगाई विभिन्न कृयाकलाप गरेको तस्बिर तथा भिडिओ अपलोड गरेको भन्दै कारबाही गरेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
कारबाहीमा पर्नेमा प्रहरी नायव निरीक्षकदेखि सशस्त्र प्रहरी परिचरसम्म रहेका छन्।
उनीहरूले व्यक्तिगत प्रोफाइल मार्फत सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाका भिडिओ र तस्बिर फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, यूट्युव, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको सहप्रवक्ता थापाले बताए।
कारबाहीमा पर्नेमा सशस्त्र प्रहरी नायव निरीक्षक १२ जना, सहायक निरीक्षक ६ जना, वरिष्ठ हवल्दार ९ जना, हवल्दार ५ जना, सहायक हवल्दार १० जना, जवान १ सय २१ र परिचर ३ जना रहेका छन्।
उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई गराइएको थापाले बताए। त्यसमध्ये १ सय १८ जनालाई नसिहत दिइएको छ।
संगठनको नियम विपरित कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरूलाई नियमन गर्नको लागी प्रधान कार्यालयमा सामाजिक सञ्जाल अनुगमन सम्बन्धी शाखा स्थापना गरेको छ।
Shares

प्रतिक्रिया