देशका विभिन्न प्रदेशमा पानी पर्ने क्रम जारी छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।
हेर्नुहोस् महाशाखाले सोमबार बेलुका जारी गरेको प्रक्षेपण:
आज राति: देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मंगलबार दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।
आज सोमबार रातिको मौसमबारे सात प्रदेशको विस्तृत विवरण (स्रोत: मौसम पूर्वानुमान महाशाखा)

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा भयो भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।
Shares

प्रतिक्रिया