कक्षा १२ को वार्षिक परीक्षा आज (आइतबार) देखि सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु भएको परीक्षा ११ जबेसम्म जारी रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी, संस्कृत रचना, बुद्ध शिक्षा र उर्दू व्याकरणको परीक्षा भइरहेको छ।
परीक्षामा कम श्रवणशक्ति, दृष्टिविहीन, सुस्त मनस्थिति वा अरू प्रकृतिको अपाङ्गता भएका परीक्षार्थीका निम्ति विशेष व्यवस्था गरिएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
त्यसैगरी, कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको छ।
जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमतिबिना जोकोहीलाई परीक्षा केन्द्रमा प्रवेश गर्न नदिइने शर्माले बताए।
परीक्षा सञ्चालन अवधिभर केन्द्राध्यक्षबाहेक अरू कसैले पनि परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण निषेध गरिएको छ।
देशका विभिन्न स्थानमा भइरहेको वर्षाको कारण परीक्षार्थी समस्यामा परेका छन्। काठमाडौँ उपत्यकामा पनि गएराति देखि नै वर्षा भइरहेको छ। काठमाडौँमा पनि पानीमा रुझ्दै र छाता ओडेर विद्यार्थीहरु परीक्षा केन्द्रमा पुगेका छन्।
आगामी जेठ २ सम्म सञ्चालन हुने परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ। परीक्षा सञ्चालनका लागि देशभरि ४८ हजार दुई सय नौ जना जनशक्ति खटिनेछन्।
बोर्डका अनुसार यस वर्ष नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।
देशभरिका पाँच हजार दुईसय दुई विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुने र त्यसका लागि एक हजार पाँच सय ९१ परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ।
यस वर्ष जापानबाट ३८ जनाले कक्षा १२ को परीक्षा दिँदैछन्। जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने बोर्डले जनाएको छ।
तस्बिरमा हेर्नुहाेस् पानीमा रुझ्दै परीक्षा केन्द्रमा पुगेका विद्यार्थी








Shares

प्रतिक्रिया