हामी नेपालीमध्ये एकथरीको भनाइ छ- देश त खत्तमै भो। सबैतिर बिग्रियो, भत्कियो। जतातथै बेथिति, निराशा र वितृष्णा मात्र बाँकी छ। अर्थात्, यहाँ कोही बस्न नै चाहँदैन। त्यसैले अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक पलायन हुनेहरूको भिड बढेको छ। अझ भनौँ, पढे–लेखेको युवा जमात त देश छाड्न मात्र चाहिरहेको छ।
के त्यस्तै हो त?
हामीले युवा सोच र मनोविज्ञान बुझ्न चाह्यौँ। स्नातक पढिसकेको र कामका लागि बजारमा जान तम्तयार रहेको युवा समूह खोज्यौँ।
यस क्रममा हालै देशभरका कानुन विषय पढाउने कलेजहरूबाट स्नातक पढिसकेर नेपाल कानुन व्यवसायी परिषद्ले लिने अधिवक्ताको परीक्षामा सर्वोत्कृष्ट १० जनामा परेका छात्राहरूसम्म पुग्यौँ। देशभरका करिब २ हजार ७ सय परीक्षार्थीमध्ये उत्कृष्ट अंक ल्याउने १० जनामा ७ महिला थिए।
हामीले ती प्रतिनिधि युवालाई सोध्यौँ- के देश साँच्चै बिग्रिएको छ? यहीँ बसेर केही गर्न सकिन्छ भन्नेमा तपाईँ कति विश्वस्त हुनुहुन्छ? यसका लागि कति अंक दिनुहुन्छ? अनि बेथिति सुधार्न तपाईँको भूमिका के हुन्छ?
७ जनामध्ये १ जनाले देशमै काम गर्ने वातावरण छ वा बनाउन सकिन्छ भन्नेमा शत प्रतिशत विश्वास व्यक्त गरेको पाइयो, जसले १० मा १० अंक नै दिइन्। २ जनाले १० मा ७ अंक दिए, जसले यहाँ समस्याहरू जटिल छन् तर विदेश जानु त्यसको समाधान होइन भन्ने मान्यता राखेको पाइयो।
बाँकी ४ जनाले समान ८ अंक दिए। उनीहरू देशमै भविष्य बनाउन सकिन्छ भन्नेमा धेरै हदसम्म विश्वस्त भएको पाइयो। र, ८ नै औसत मान रह्यो। अर्थात्, उनीहरू सबै जना बेथिति देखाएर विदेशिन होइन, सुधारका लागि आफैँ कस्सिन खोज्दैछन्।
ती युवाहरूको पृष्ठभूमि, रूचि, भावी योजना, देशको अवस्थाप्रतिको बुझाइ उनीहरूसँगकै कुराकानीका आधारमा तयार गरिएको यो रिपोर्ट—
(कोष्ठकभित्रको अंकले उनीहरूमा रहेको आशावादिताको तहलाई जनाउँछ। यस छनोटले सबै भूगोल र समुदायको प्रतिनिधित्व भने गर्दैन।)

विज्ञानमा प्लस टुपछि कानुन रोजेकी रोजिना आचार्य क्षत्री (८∕१०)
नेपाल कानुन व्यवसायी परिषद्ले हालै लिएको अधिवक्ताको परीक्षामा पहिलो नम्बरमा नाम निकाल्न सफल भएकी छन्, रोजिना आचार्य क्षत्री।
२४ वर्षीया क्षत्री नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग, काठमाडौँबाट पाँच वर्षे बीएएलएलबी अध्ययनलगत्तै अधिवक्ताको परिचय पत्र (लाइसेन्स) हातमा लिएर कार्यक्षेत्रमा खटिन तम्तयार छिन्। यस समयमा स्वाभाविक रूपले आउने प्रश्न हो, काममा त जाने तर कहाँ?
योसँगै हामीले थप प्रश्नको जवाफ पनि उनीसँग खोजेका छौँ।
करिअर सुरू गर्न चौबाटोमा आइपुगेकी उनी के सोचिरहेकी छिन् त? उही उमेरका धेरै साथीहरू विदेशको उडान भरिरहँदा उनको अबको योजना के छ त? ८०.७६ प्रतिशत प्राप्तांकसहित सहपाठीहरूमध्ये सर्वोत्कृष्ट भएकी उनी के देशमै केही गर्न सकिन्छ भन्नेमा आशावादी छिन् त?
अवश्य, उनले आफ्नो भविष्य स्वदेशमै देखेकी छन्। यहीँ केही गर्न सकिन्छ भन्ने सोचचाहिँ उनमा कसरी विकसित भयो त?
त्यसका लागि उनको पृष्ठभूमिमा जानुपर्ने हुन्छ।
१२ कक्षासम्म पोखरामै पढेकी उनी कानुनमा स्नातक गर्न काठमाडौँ आएकी थिइन्।
२४ वर्षीया रोजिनाको रूचि पढाइका अलावा वक्तृत्वकला, वादविवाद आदिमा पनि थियो। अतिरिक्त क्रियाकलापहरूमा निकै चासो दिएर सहभागी हुने उनले रेडियो प्रस्तोताको रूपमा पनि काम गरिन्।
परिवारले यातायात व्यवसाय गरेर आफूलाई शिक्षादीक्षा र पालनपोषण गरेको उनी बताउँछिन्। हालचाहिँ उनको परिवार व्यवसाय गर्न छाडेर सामान्य खेतीपातीमा छ।
उनको अभिव्यक्तिकला देखेर रोजिनालाई धेरै शुभचिन्तकले कानुन विषय पढ्न सल्लाह दिन्थे। तर, उनलाई भने एमबीबीएस पढेर डाक्टर बन्ने कि कानुन पढेर वकिल बन्ने भन्ने कुराले दोधार भइरह्यो।
विज्ञानमा प्लस टु गरिसकेपछि उनले आफ्ना प्रध्यानाध्यापकसँग सल्लाह लिइन्।
प्रधानाध्यापकले भने, ‘रोजिना, तिमी चित्त नदुखाऊ। चिकित्सा क्षेत्रमा धेरैको भिडमा तिमी एउटा मध्यम विद्यार्थी मात्र बन्न सक्छौ तर तिमीले कानुन पढ्यौ भनेचाहिँ उत्कृष्ट हुन सक्छौ।’
त्यसपछि उनको दोधार हट्यो।
पोखराबाटै प्रवेश परीक्षा दिइन्। नेपाल ल क्याम्पसमा नाम निस्कियो। काठमाडौँ आएर पढाइ सुरु गरिन्।
निकै मन लगाएर उनले कानुन पढिन्। काठमाडौँ आएपछि पनि विभिन्न कार्यक्रममा उद्घोषण गरिन्। ‘सक्छिन् छोरी’ शीर्षकमा पडकास्ट चलाइन्। यसले उनको व्यक्तित्व फक्रिँदै गयो। आत्मविश्वास बढ्दै गयो।
अधिवक्ताको परिचय पत्र (लाइसेन्स) प्राप्त गरिसकेपछि अब उनी ल फर्ममा काम गर्ने सोच राखेकी छिन्। दुई वर्ष स्नातकोत्तर पनि नगरी वकालतमै अभ्यास गरेर अनुभव बटुल्ने उनको योजना छ।
आफूले कलेजमा पढ्दाको अनुभवअनुसार, फौजदारी (अपराधसम्बन्धी) मुद्दाहरूमा विशेष चाख छ, उनको।
‘यो सोच जुनै पनि बेला परिवर्तन हुन सक्छ,’ उनी भन्छिन्, ‘तर, फौजदारी मुद्दा अरूभन्दा रोचक हुन्छन्।’
फौजदारी कानुनबाहेक संवैधानिक कानुनमा पनि आफ्नो रुचि रहेको कुरा आचार्यले नेपालखबरसँग सुनाइन्। उनी आफूले काम गर्दै जाँदा आफ्नो भूमिका के हो, एउटा जिम्मेवार कानुन व्यवसायीले समाजमा कस्तो भूमिका खेल्न सक्छ भन्ने मनन गरेर त्यसमा खरो उत्रनु नै मुख्य ध्येय रहेको बताउँछिन्।
कार्यक्षेत्रमा खटिँदा अनुशासित र निष्ठा कायम राखेर काम गर्नु सबैभन्दा महत्त्वपूर्ण हुने उनको बुझाइ छ। आचार्यलाई भविष्यमा पनि निजी क्षेत्रकै कानुनी फर्ममा काम गर्ने चाहना छ। तत्काल लोक सेवा आयोगको परीक्षा दिएर सरकारी क्षेत्रमा जाने सोच नभएको उनी बताउँछिन्।
भन्छिन्, ‘कानुन र न्यायलाई सर्वसाधारणको लागि जतिसक्दो सर्वसुलभ र पहुँचयोग्य बनाउने कुरामा भूमिका खेल्न सकेँ भने त्यो नै मेरो अन्तिम लक्ष्य हो।’
महिला वा पुरुष केही नभनी आफू एउटा सफल, योग्य र मर्यादित अधिवक्ताको रूपमा चिनिन चाहन्छिन् उनी।
हालसम्म विदेश गएर काम गर्ने सोच नआएको र भविष्यको योजना पनि नरहेको उनको भनाइ छ।
‘कुनै अवसर मिले मास्टर्स (स्नातकोत्तर) गर्नसम्म विदेश जान सकिएला,’ रोजिना भन्छिन्, ‘तर, बाहिर नै गएर काम गर्छु भन्ने सोचचाहिँ कहिल्यै आएन।’
बाहिरबाट पढेर आउँदा बजारमा बिक्न भने केही सहज हुन सक्ने रोजिनाको ठम्याइ छ।
देशको अस्थिर राजनीतिबाट उनी दिक्क नभएकी होइनन्। कहिले सरकार परिवर्तन त कहिले व्यवस्था परिवर्तनको कुरा सुन्दै वाक्क लाग्छ उनलाई।
‘जहिले पनि व्यवस्था परिवर्तन गर्ने कुरामा नै बहस चलिरह्यो,’ रोजिनाको भनाइ छ, ‘पहिले लोकतन्त्रको बहस चल्यो। पछि गणतन्त्र ल्याउनुपर्छ भने। त्यसपछि संघीयता ल्याउने कुरामा बहस भयो। यी सबै कुरा आए। अब हामीलाई फेरि राजतन्त्र चाहिएको छ। यो सबै कुरा हेर्दा यहाँ एउटा स्थिर राजनीतिक परिदृश्य कहिल्यै नहुने भयो।’
राजनीतिक स्थायित्व नभएकै कारण यहाँ सामाजिक, आर्थिक र मानवीय विकास हुन नसकेको उनको निष्कर्ष छ।
रोजिना थप्छिन्, ‘यदि व्यवस्था नै स्थिर छैन भने देश विकास कसरी हुन सक्छ र? त्यसैले मुख्यतः जनता नै सचेत हुनुपर्छ। सधैँभरि व्यवस्था परिवर्तन गर्नुपर्छ भन्ने होडबाजीमा मात्र लागेर हुँदैन।’
अस्थिरतामा निजी लाभको खेती गर्न बानी परेकाहरूले नै मुलुकमा स्थायित्व नरूचाउने उनको बुझाइ छ।
‘हालसम्म आइसक्दा देशको व्यवस्था यति धेरै भ्रष्ट भइसकेको छ कि अब कोही नयाँ आएर केही गर्छु भन्नेलाई काम गर्न नदिने वातावरण बनेको छ,’ राजनीतिप्रति उनको धारणा छ, ‘मुख्य पदमा बस्नेहरूले युवा तथा बालबालिकालाई असल राजनीतिक संस्कार देखाउन सकेनन्। यही कारण राजनीतिप्रति गलत धारणा पर्न गएको छ। उहाँहरू सानो वा ठूलो दल जहाँ भए पनि, सबैले आ-आफ्नो स्थानबाट जति सकिन्छ भ्रष्टाचार गर्न अभ्यस्त हुनुभयो। माउ नेताहरूले धेरै मात्रामा र साना नेताले थोरै गरे होलान्, भ्रष्टाचार गरेकै हुन्छन्।’
माथिल्लो तहको नेतृत्व विस्थापित नभएसम्म सुधार नहुने उनको निष्कर्ष छ।
‘तलको उदाउँदो नेतृत्वलाई अवसर दियो भने परिदृश्य बदलिन सक्छ,’ उनको विश्वास छ, ‘पानीको मूल सफा भए पो पानी सफा हुन्छ त।’
सबैले आ-आफ्नो क्षेत्रमा जिम्मेवार काम भएर काम गर्ने र आफूले आफ्नो क्षेत्रमा भएको समस्या सुल्झाउने हो भने देश त्यसै बन्छ भन्ने रोजिनाको विचार छ।
भविष्यमा एउटा बोल्ड, सफल, बुलन्द आवाज भएको अधिवक्ता बन्नुको साथै समस्या परेर लड्न नसक्नेहरूको लागि पनि सहयोग गर्ने रोजिनाको विचार छ।
भन्छिन्, ‘आफ्नो रुचि अनि आफूले गर्ने काम एकै तिरको भएपछि पूर्ण क्षमताका साथ काम गर्न सकिन्छ।‘
उनी एउटा वकिल राखेर मुद्दा लड्न नसकेको कारण न्याय नपाएकाको लागि सहयोग गर्न चाहन्छिन्। यस्तै सामाजिक समस्याका विषयमा वकालत गरेर, सचेतनाका लागि काम गरेर पनि सामाजिक वातावरण सुधार्न सकिने ठानेकी छन्।
‘यस्तै साना-साना कुराबाट नै समाजमा ठूलाठूला परिवर्तन ल्याउन सकिन्छ,’ उनी भन्छिन्।
उनी स्वदेशमै काम गरी खान र परिवर्तन ल्याउन सकिन्छ भन्नेमा कति विश्वस्त छिन् त? हामीले शून्यदेखि १० को बीचमा अंक दिन भनेका थियौँ। उनले धेरै सोचविचार गरेर ८ अंक दिइन्। अर्थात्, देशमा बिग्रेका र बनाउनुपर्ने धेरै कुरा भए पनि यहीँ केही गर्न सकिन्छ भन्नेमा रोजिनाको विश्वासको तह उच्च नै देखियो।

सरकारी वकिल बन्ने निशा दाहालको चाहना (१०∕१०)
धनकुटा घर भएकी २५ वर्षीया निशाले पनि काठमाडौँको नेपाल ल क्याम्पसबाट स्नातक तह सम्पन्न गरेकी हुन्।
धनकुटाबाटै १० कक्षासम्म पढेकी निशाले काठमाडौँको बागबजारस्थित केएमसी कलेजमा विज्ञान विषय लिएर प्लस टु गरिन्। पढाइमा पहिलादेखि नै अब्बल रहेकी उनी मध्यम आयस्तरको परिवारबाट आएकी हुन्।
अधिवक्ताको परीक्षामा ७८.९४ प्रतिशत अंक ल्याएर निशा चौथो भएकी छन्।
भविष्यमा न्यायको लागि लड्ने उनको चाहना छ। रोजगारी वा उच्च शिक्षाको लागि पनि विदेश जाने सोच कहिल्यै नआएको निशा बताउँछिन्। आर्थिक स्थितिअनुसार, धनकुटादेखि राजधानीमा आएर पढ्नु नै ठूलो कुरा रहेको उनी सुनाउँछिन्।
अब लोक सेवा आयोगको परीक्षाका लागि तयारी गर्ने र भविष्यको सुनिश्चितताका लागि सरकारी जागिर खाने उनको सोच छ।
निशाका अनुसार, सरकारी वकिल बनेको हेर्ने परिवारको पनि सपना छ।
राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचारजस्ता समस्या भए पनि देशमै राम्रो काम गरेर बस्ने ठाउँ पर्याप्त रहेको उनको बुझाइ छ। त्यसैले देशमै बस्ने र आफ्नो ठाउँबाट सकेको राम्रो काम गर्ने अठोट उनले लिएकी छन्। त्यसैले उनी देशमै बसेर केही गर्न सकिन्छ भन्नेमा शत प्रतिशत विश्वस्त छिन्। उनले यस विषयमा १० मा १० अंक नै दिइन्।
राजानीतिप्रति खासै चासो नभए पनि समाजमा तल्लो वर्गको न्यायका लागि खट्ने उनको सोच छ। सरकारी वकिल बनेर नै पीडितको पक्षबाट लड्न सकिन्छ भन्ने उनले बुझेकी छिन्।
निशा थप्छिन्, ‘भविष्यमा म सरकारी वकिल बन्ने मौका पाएँ भने आफ्नो शत प्रतिशत नै त्यो कामलाई दिनेछु।’

बुवाकै बाटोमा हिँडेकी आस्था ढुंगेल (७/१०)
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं ८, गोठाटारकी आस्था ढुंगेलले स्कुले शिक्षा नजिकैको एउटा निजी विद्यालयमा लिइन्। काठमाडौँमै विज्ञानमा प्लस टु गरिन्।
बुवा अधिवक्ता भएकाले उनले स्नातकमा कानुन विषय रोजिन्। काठमाडौँ स्कुल अफ ल, भक्तपुरमा बीएएलएलबी पढेकी उनी बुवाबाटै पेसी, झझि (झगडिया झिकाउने), वारेसनामाजस्ता अदालती शब्दसँग परिचित भइसकेकी थिइन्। बीएएलएलबी तेस्रो वर्ष पढ्दा नै बुवाको काममा मद्दत गर्न थालिन्। मसौदा गर्नेदेखि विभिन्न लिखतसम्बन्धी काम सिकिन्। अब उनी काममा अभ्यस्त भइसकेकी छिन्।
अब उनमा बुवाको पेसालाई नै निरन्तरता दिन सकिन्छ भन्ने विश्वास पलाइसकेको छ।
हाल कानुनमै स्नातकोत्तर गरिरहेकी २४ वर्षीया आस्थाले भविष्यमा न्यायाधीश बन्नेसम्मको सपना देखेकी छन्। हालै अधिवक्ताको परीक्षामा ७७.८० प्रतिशत अंक ल्याएर उनले सर्वोत्कृष्टको सूचीमा पाँचौँ स्थान सुरक्षित गरेकी छन्।
देशमा बेथिति बढ्नुमा राजनीतिक नेतृत्वसँगै प्रशासन पनि उत्तिकै जिम्मेवार रहेको ठान्छिन् आस्था।
उनी अहिले समाजमा नाबालिग बलात्कारसँग सम्बन्धित विषयमा मानिसहरू कति सचेत छन् भनेर तथ्यांक संकलन गर्दै छिन्। कागेश्वरी मनोहरा नगरपालिकासँग समन्वय गरेर उनी समाजको यस जल्दोबल्दो समस्यामाथि अनुसन्धान गर्न लागेकी हुन्। अनुसन्धान सकिएपछि उनी कसरी जनचेतना फैलाउन सकिन्छ भन्ने विषयमा काम गर्ने सोचमा छिन्।
आस्था देशमा बेथिति भए पनि पलायन नै हुनुपर्ने ठान्दिनन्। यहीँ केही गर्न सकिन्छ भन्नेमा उनी विश्वस्त छिन्। यसका लागि आस्था १० मा ७ अंक दिन्छिन्।
‘सरकार सेवाका लागि हो तर जब व्यक्ति सत्तामा पुग्छ, उसले सेवाग्राहीसामु आफूलाई महान् सम्झन्छ, घमण्ड पलाउँछ र जे कामको लागि गएको हो, त्यो गर्दैन,’ बेथितिको स्रोतबारे आस्था भन्छिन्, ‘सत्ता र शक्तिमा पुगेपछि मैले जे पनि गर्दा हुन्छ भन्ने मनोवृत्ति हावी भएको पाइन्छ।’

सेलिना अधिकारी भन्छिन् : गाह्रो भए पनि देशमै केही गर्न सकिन्छ (८∕१०)
सेलिना अधिकारीले ७७.६५ प्रतिशत अंक ल्याएर छैटौँ स्थान हासिल गरेकी छिन्।
दमक, झापा घर भएकी उनी १० कक्षासम्म उतै पढिन्। प्लस टु ललितपुरको युनाइटेड एकेडेमीबाट गरिन्। त्यसपछि उनले नेपाल ल क्याम्पसबाटै बीएएलएलबी गरिन्।
अहिले उनी एउटा निजी ल फर्ममा काम सिक्दै छिन्।
दुई वर्ष जति नेपालमै बसेर अभ्यास गर्ने र त्यसपछि स्नातकोत्तर गर्न विदेश जाने उनको सोच छ।
कानुनी क्षेत्रमा पनि उनी सूचना प्रविधिमा केन्द्रित हुन चाहन्छिन्। त्यसैले पनि आगामी अध्ययन विदेशमै गर्ने र त्यसपछि नेपाल फर्किने-नफर्किने टुंगो नभएको उनको भनाइ छ।
सेलिना भन्छिन्, ‘यदि पछि विदेशमा सजिलो भयो भने विदेशमा नै काम गर्छु।’
मुलुकको अस्थितर राजनीतिका कारण युवामा निराशापन रहेको उनको बुझाइ छ। यसैकारण पनि विदेश पढ्न चाहेको उनको प्रस्टोक्ति छ।
सक्षम व्यक्तिलाई माथि आएर काम गर्न नदिएको हुँदा युवाहरू विदेश गएको र नेपालको राजनीति ज्येष्ठ व्यक्तिहरूले मात्र धानेको हुनाले देशको यो गति भएको उनको विश्लेषण छ। यद्यपि उनी देशमै केही गर्न सकिन्छ भन्नेमा आशावादी देखिन्छिन्।
भन्छिन्, ‘नेपालमा नै केही गर्छु भनेर सोच बनाउनेका लागि गाह्रो त छ। तर, देशमा काम गर्न सकिन्छ। जुन आफ्नो सक्षमतामा पनि भर पर्छ।’
देश बन्छ भन्ने कुरामा सेलिना कति आशावादी छिन् त? उनले दिइन् १० मा ७ अंक।

अनुसन्धानमा रुचि राख्ने समीक्षा अधिकारी (८/१०)
समीक्षा अधिकारी ७७.५० प्रतिशत अंक ल्याएर सातौँ स्थान हासिल गर्न सफल भएकी छन्। २४ वर्षीया उनले गुल्मीमै निजी स्कुलमा १० कक्षासम्म पढिन्। आमा सरकारी विद्यालयकी शिक्षिका र बुवा भारतीय सेनामा काम गरेकाले आर्थिक अभाव खासै झेल्नुपरेको छैन, उनले।
उनको पहिलेदेखिको चाहना कृषि पढ्ने थियो। तर, काठमाडौँमा प्लस टु गर्दा उनले कम्प्युटर साइन्स पढिन्। प्लस टुपछि नै कानुन पढ्ने चाहाना भएको र नेपाल ल क्याम्पसमा नाम निस्किएपछि बाटो मोडिएको उनको भनाइ छ।
उनलाई अनुसन्धान गर्ने किसिमको काममा बढी रूचि छ। त्यसैले भविष्यमा मस्यौदा तयार पार्ने, परामर्श दिने प्रकृतिका काममा लाग्ने उनको सोच छ।
‘यो क्षेत्रमा एकदमै नयाँ भएकोले बुझ्दै छु। काम गर्दै जाँदा जता बढी रुचि हुन्छ, त्यही काम गर्छु,’ समीक्षा भन्छिन्।
तत्कालै वा भविष्यमा पनि विदेश जाने सोच नरहेको उनको भनाइ छ। आफूलाई विदेश जान मन नभएको र परिवारबाट पनि नजाने सल्लाह पाएकोले नेपालमा नै काम गर्ने पक्षमा उनी छिन्। पढाइकै सिलसिलामा विदेश पुगे पनि फर्केर यहीँ काम गर्ने उनको भनाइ छ।
‘भविष्यमा यही गर्छु, यही बन्छु भन्ने अहिलेसम्मको मनःस्थितिमा छैन,’ उनले भनिन्, ‘जहाँ पुगिन्छ, त्यहाँ राम्रै गरिन्छ भन्ने छ।’
राजनीतिमा लामो समयदेखि एउटै व्यक्तिको हालीमुहाली भएको र नयाँले अवसर नपाएको कारणले देशमा भ्रष्टाचार बढेको उनको बुझाइ छ। साथै, देशमा केही सुधारहरू पनि भइरहेको तर गलत कुराको मात्र बढी चर्चा हुँदा केही हुँदै नभएकोजस्तो धारणा बन्न गएको उनी ठान्छिन्।
‘सकारात्मक परिवर्तन पनि देशमा आएको छ र नकारात्मक कुराहरूलाई हामीले सुधार गर्दै जानुपर्छ,’ समीक्षा भन्छिन्।
देश बन्छ भन्ने कुरामा उनी कति आशावादी छिन् त? समीक्षाले दिइन् १० मा ७ अंक।

सामाजिक मुद्दामा काम गर्ने लक्ष्य राखेकी अनिशा आचार्य (७∕१०)
अनिशा आचार्यले ७७.२७ प्रतिशत अंक ल्याएर आठौँ स्थान हासिल गरेकी हुन्।
पनौती, काभ्रे घर भए पनि उनले विद्यालय तहदेखि नै काठमाडौँमा पढिन्। २४ वर्षीया अनिशा अब कानुन क्षेत्रमा काम गर्ने र समाजमा केही सकारात्मक प्रयास थाल्ने सोचमा छिन्।
उनले केही समय कानुनी सहजकर्ताको रूपमा काठमाडौँ महानगरको वडामा भने काम गरेकी छन्। उनलाई कर्पोरेट कानुनमा विशेष चाख छ। दुई वर्ष काम गरिसकेपछि स्नातकोत्तर पढ्ने योजना छ।
भविष्यमा यही नै काम गर्छु भन्ने निश्चय नगरिसके पनि बिस्तारै बुझ्दै जाँदा आफूलाई जुन क्षेत्रमा रुचि हुन्छ, त्यही क्षेत्रमा लाग्ने अनिशा बताउँछिन्।
उनी पनि भविष्यमा विदेश जाने सोचमा छैनन्। ‘हाम्रै देशमा स्कोप छ, म पनि यहीँ नै केही गर्न सक्छु भन्ने कुरामा आशावादी छु,’ अनिशाले भनिन्।
कति आशावादी छिन् त? हामीले अंक दिन भन्यौँ। अनिशाले १० मा ७ अंक दिइन्।
‘तर, यो रेटिङ (अंक) काम गर्दै जाँदा बदलिन सक्छ,’ अनिशा प्रस्ट्याउँछिन्, ‘ल फर्म खोलेर बसौँ वा कुनै व्यवसाय, समाज सेवा तथा सचेतनामूलक कार्यक्रम नै किन नहोस्। जे गरे पनि देशमै गर्ने हो। वकिललाई सामाजिक इन्जिनियर नै भनिन्छ। त्यसैले म सामाजिक मुद्दामै काम गर्छु।’

डिफेन्स लयर बन्न चाहने मोनिका कार्की (८/१०)
अधिवक्ता लाइसेन्सको परीक्षामा मोनिका कार्कीले ७७.१२ प्रतिशत अंक ल्याएर दसौँ स्थान हासिल गर्न सफल भएकी हुन्।
कटारी, उदयपुरकी २४ वर्षीया कार्कीले स्कुले शिक्षा गाउँकै सरकारी विद्यालयबाट लिइन्। प्लस टु पढ्न काठमाडौँ आइन्।
उनी हरेक कुरा फरक कोणबाट हेर्न चाहन्छिन्। छलफलहरूमा पनि फरक खालका तर्क गर्छिन्। महिला भइसकेपछि अलिक बोल्ड हुनुपर्छ भन्ने सोच राख्छिन्। यिनै गुणले कानुन क्षेत्रमा उन्मुख गरायो, उनलाई।
राम्रो अंक ल्याएर परीक्षामा उत्तीर्ण गरेपछि धेरैजसो महिलाको आकर्षण सरकारी जागिरतर्फ रहेको तर आफू भने स्वतन्त्र रूपमै काम गर्न चाहेको उनले नेपालखबरसँग सुनाइन्।
पहिलेदेखि नै बहस गर्ने, मुद्दाहरू हेर्ने, अझै मुख्य गरी फौजदारी मुद्दाहरू हेर्ने आदि सोच रहेकोले त्यसैअनुसार अभ्यास गरिरहेको उनले बताइन्।
आफ्नो भविष्य नेपालमा नै बनाउन कार्कीले चाहेकी छिन्।
मोनिकाले काठमाडौँ महानगरपालिका वडा नं १९ मा कानुनी सहजकर्ताको रूपमा ६ महिना प्रशिक्षार्थी भएर पनि काम गरिन्।
मोनिकालाई फौजदारी मुद्दा हेर्ने कानुन व्यवसायी बन्न मन छ। र, उनी कुनै मुद्दामा आरोप लाग्नेबित्तिकै सबै अपराधी नहुने कुरालाई समाजमा प्रमाणित गर्न चाहन्छिन्।
भन्छिन्, ‘कसैलाई अदालतले कसुरदार नठहराएसम्म त्यो मान्छे दोषी होइन भन्ने कुरा हामीलाई थाहा छ तर समाजमा भने आरोप लगाउनेबित्तिकै अपराधी मान्ने गरिन्छ। यो सोचमा परिवर्तन ल्याउनु छ। अर्को कुरा, डिफेन्स लयर भन्नेबित्तिकै पुरुष मात्र हुन्छन् भन्ने धारणा छ, यसलाई म आफैँ डिफेन्स लयर बनेर परिवर्तन गर्छु।’
अभियुक्तका पक्षमा पैरवी गर्न उनी किन इच्छुक भइन् त?
उनको तर्क छ, ‘न्याय दिने काम न्यायाधीशको हो। हाम्रो काम आफ्नो पक्षको तर्फबाट लड्ने मात्र हो। वकिलले नै न्याय दिने भए न्यायाधीश किन चाहिन्थ्यो र!’
मोनिकाको परिवारका धेरै सदस्य कोही लोक सेवाबाट प्रशासनमा र कोही नेपालकै चिकित्सा क्षेत्रमा छन्। त्यसैले उनी विदेश जाऊन् भन्ने चाहना न परिवारले राखेको छ, न उनी आफैँ इच्छुक छिन्। परिवारका सबै जनाले नेपालमा नै काम गर्न सकेको देखेर आफू पनि पहिलेदेखि यहीँ नै केही गर्न सकिन्छ भन्नेमा आशावादी रहेको उनी बताउँछिन्। पढ्न विदेश गए पनि नेपालमै फर्केर भविष्य बनाउन सकिन्छ भन्ने कुरामा उनी विश्वस्त छिन्, जसका लागि १० मा ८ नम्बर दिन चाहन्छिन्।
‘राजनीतिक अवस्था अलिक निराशाजनक नै छ,’ मोनिका भन्छिन्, ‘तर, यही कारण निराश भएर देश नै छोड्नुपर्छ भन्ने पक्षमा म कत्ति पनि छैन। हामीले आ-आफ्नो स्थानबाट केही सकारात्मक पहल गरे देश उँभो लाग्न बेर लाग्दैन।’
Shares

प्रतिक्रिया