बंगलादेशी नागरिकहरूलाई नेपाल हुँदै वैदेशिक रोजगारीको लागि विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको ५ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ९ कालिमाटीडोल बस्ने बंगलादेश चट्टोग्राम मोबारक गोना घर भएका ५० वर्षीय मोहमद मोस्ताफिजुर रहमान, बंगलादेश चाँदपुर तोरागर हाजिगंज घर भएका ४१ वर्षीय मोहमद फरहाद हुसेन चोधुरी र बंगलादेश चाँदपुर हाजीगाउँ बाराकोल घर भएका ४६ वर्षीय अबु युसुफ एमडी हानिफ रहेका छन्।
यस्तै काठमााडौँको गौशाला बस्ने बंगलादेश मागुरा मागुरासदर थाना बेरोइल ग्राम घर भएका ४७ वर्षीय मिल्तान भन्ने काजी शहताब हुसेन र बंगलादेश सदर थाना कान्दापरा घर भएका ४० वर्षीय अजिम मोलिक पनि पक्राउ परेका छन्।
उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स,सर्भिया, अल्बानिया लगायतका मुलुकहरूमा पठाउन सहज हुने भनि एजेन्ट मार्फत पर्यटक भिसामा बंगलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रति ब्यक्ति ३५ सय अमेरिकन डलरको दरले १३ जनाबाट ४५ हजार ५ सय अमेरिकन डलर ठगी गरेर सम्पर्कबिहीन भएको उजुरी परेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई सिनामंगलस्थित शिव सताक्षी गेष्ट हाउसबाट पक्राउ गरेको हो।
उनीहरूको साथबाट राहदानी १९ थान, मोबाइल ४ थान, अमेरिकन डलर ९ हजार ८ सय ५०, बंगाली टाका ३९ हजार ९ सय ५ र नेपाली रूपैयाँ २५ हजार समेत प्रहरीले बरामद गरेको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले बताए।
Shares

प्रतिक्रिया